हो अर्को एउटा पागल -राम अधिकारी

इनेप्लिज २०७४ जेठ ९ गते १७:०६ मा प्रकाशित

हो म अर्को एउटा पागल

तरुण हुँदासम्म ताते ताते गर्दै हुर्काएकी आमाले

जब  मलाई अर्को पागल छोरो  सम्झिन

तव  म भन्न  चाहन्थें

आमा, म त्यस्तो छोरा हुँदै होइन

जो तिम्रा सुखहरु टपक्क टिपेर

घरको  दैलोमा पुर्याइदिन  सकुँ

म त यस्तो  भएछुँ आमा

तिमीले जन्माएको दिनको मुल्य तिर्न

खोला किनारमा भौतारिईरहेछुँ

एकान्तमा टोलाईरहेछुँ र

हिँड्छु असुन्दर र कुरुप अनुहारमा

बाटो- गल्ली र चोक चोकहरुमा

कुनैदिन टप्लक्क झुक्किन्छ कि त्यो दियो

जसले तिमीलाई भाग्यमानी आमा हुनुमा गर्व लागोस

हो म अर्को एउटा पागल

बर्षौ आफ्नै काँधमा अग्लो बनाई हुर्काएका बाहरुले

जब मलाई अर्को पागल छोरा सँम्झे

तव म भन्न चाहान्थें

बाहरु, म त्यस्तो छोरा हुँदै होईन

तिम्रा सुखको कालो धन बोकेर

तिम्रो पैसाको धन्सार भर्न सकुँ

न कि अलिसान महल खडा गरेर

एक्लै तिमीलाई घरको छतमा छोड्न सकुँ

म त भुलभुलैयाको पंक्षीजस्तो

तिम्रा  खस्रा हातहरुले गरेका

न्यानो र गहिरो मायाको मुल्य तिर्न

मरुभुमिको बालुवामा हिरा मोति खोज्दै छुँ

भौतारिईरहेछुँ झुस्स दारी पालेर

फोहोरी  र अभाबको यो नरकुन्डमा

कुदिरहेंछुँ चन्द्रमाको उज्यालो खोज्न

जसले तिमीलाई एक साहसी बाबु हुनुमा चरम आनन्द लागोस

हो म अर्को एउटा पागल

बर्षौसम्म जुठो भात र एउटै ओछ्यान

साटेर सुतेका भाईबहिनीहरुले

जब मलाई अर्को एउटा पागल दाजुभाई सँम्झे

त्यो क्षण नै म भन्न चाहन्थे

भाईबहिनी  म त्यस्तो मान्छे हुदै होईन

तिमीहरुका फाटेका र चातिएका लुगा देखेर

विरक्त मानु र गरिबी सराप भनेर कुरीरहुँ

म त म्याराथुन धावकजस्तै

भोक प्यास सँहदै साँझ विहान कुदीरहेछुँ

संसारका कुना कुनामा त्यो दिव्य ज्ञान खोज्न

जसले पैसा र सुख-सुविधाले भन्दा

बढी खुसी दिन सकोस र तिमीलाई गर्व लागोस

हो म अर्को एउटा पागल

बर्षौं सम्म ताते ताते गर्दै हुर्काएका

हजुरबुवा हजुरआमाले

जव मलाई अर्को एउटा पागल नाति संम्झे

भन्न खोज्दै छुँ डाँडामाथिका जुनलाई

म त्यस्तो बालक हुँदै होईन

सिटामोलका गोली र भिटामीनका तागत

बोकेर तिम्रो छेंउमा बसुँ र

लामा र रमाईला तिम्रा कथाहरु सुनुँ

म त त्यसरी कुद्दै छुँ महासागरमा

चिसो पानीमा आगो बालेर

एउटा चमत्कार दिन सकुँ पृथ्वीलाई

र स्वर्गलोकमा सम्म खुसी राख्न सकुँ आत्माहरुलाई

जव कुनैबेला हजुरबाले नातिको कथा सुनाएर

हजुरआमाले कथा बुनेर सन्तुस्ट हुन सकुन

त्यसैले त

म यो लोकका लागि हरक्षण, हरदिन र समय समय

पागल पागल बाँचिरहेछुँ र

हो म एउटा अर्को पागल हुँ

आमा,बा,भाई  बहिनी, हजुरबा, हजुरआमा

२३ मे २०१७

प्रतिक्रिया