युएनएको कल्चरल फेसन सो उत्साहपूर्ण रुपमा सम्पन्न

इनेप्लिज २०७४ जेठ १७ गते १६:२५ मा प्रकाशित

डालस, मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको एउटा अर्को आकर्षण फेसन सो पनि हो । आज फोर पोइन्ट्स बाइ शेराटनमा एक भब्य कार्यक्रम बीच संस्कृतिक फेसन सो सम्पन्न भयो । चर्चित फेसन डिजाइनर सुबेच्छा भडेलले तयार गरेका पोसाकहरु लगाएर १० जना सुन्दर मोडेलहरु स्टेजमा प्रस्तुत भए । उक्त कल्चरल र्याम्प सो को सम्पूर्ण कोरियोग्राफी मिस नेपाल २०१२ नगमा श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम समेत सुन्दर तरिकाले नगमा श्रेष्ठले नै संचालन गर्नु भएको थियो ।

यो कार्यक्रममा बिशेष अतिथिको रुपमा मिस टेक्सास स्टीफ़ेनि रुइज उपस्थित थिइन । उनी जीवित देवी कुमारीको रुपमा प्रस्तुत भएकी थिइन । कार्यकममा नायिका नन्दिता केसीले बसन्त नै बस्न खोज्छ रमाएर, यो हो मेरो माइतिघर नामको गीतमा उत्कृस्ट नृत्य प्रस्तुत गर्नु भएको थियो । नन्दिता केसी ३० भन्दा बढी नेपाली फिल्म अभिनय गरिसक्नु भएको छ भने १०० भन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसक्नु भएको छ । अमेरिकमा रहेर पनि नेपाली फिल्म मात्र होइन नेपाली भाषा र संस्कृतिको दुतको रुपमा काम गर्दै आउनु भएकी नन्दिताको देशभक्ति युक्त प्रस्तुतिले सबै मन्त्रमुग्ध भएका थिए ।
कार्यक्रममा सो स्टपरको रुपमा नन्दिता केसी र सोनी राजभण्डारी प्रस्तुत हुनु भएको थियो । अत्यन्त मृदुभाषी, सरल र सकारात्मक सोंच कि धनि सोनी राजभण्डारी उत्प्रेरक मन्तव्यका लागि पनि चर्चित हुनुहुन्छ । आज अपरान्ह सम्पन्न युएनए को उद्घाटन कार्यक्रममा सोनीको प्रस्तुतिले सबैलाई चकित पारेको थियो । आफ्नो बिगत प्रति गर्व गर्दै अगाढी बढ्नु पर्छ भन्ने मान्यता राख्नु हुने सोनी सामान्य परिवारबाट आएर एक सफल व्यक्तिको रुपमा नेपाल र बिस्वभर चर्चित हुनुहुन्छ ।

त्यस्तै फेसन डिजाइनर सुबेच्छा भडेल नेपाली फेसन डिजाइनको दुनियाँमा एक गौरब गर्न लायक नाम हो । अमेरिकामा आएर पनि उहाँले नेपाली माटोको सेवा गरिरहनु भएको छ । आज यो र्याम्पमा प्रस्तुत भएका मोडेलहरुले नेपालका बिबिध जातजातिका पोशाक लगाएका थिए । नेवारी, गुरुङ, मगर, थारु, लिम्बु, शेर्पा जस्ता नेपाली जातजातिका पोशाक तयार गर्नुको साथै कुमारीको पोशाक पनि तयार गरेर सुबेच्छा भडेलले नेपालको सेवा गर्नु भएको छ ।
अत्यन्त राम्रो, सुन्दर र शालीन प्रस्तुतिका साथ् नगमा श्रेष्ठले कार्यक्रमलाई अन्त्य गर्नु भएको थियो । यो कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन नेपसिने र प्लानेट फिल्म्सले गरेको थियो भने संयोजन रायन कार्की र अर्जुन सुबेदीले गर्नु भएको थियो ।

प्रतिक्रिया