अमेरिकन मूलधारमा समाहित हुने आधारहरु आफैंले खोज्दै जाने हो :हरि शर्मा ,लाउडन काउन्टी डेमोक्रेटिक पार्टी ,डलस डिस्ट्रिक सभापति

इनेप्लिज २०७४ जेठ २५ गते ०:०८ मा प्रकाशित

आप्रवासीहरुको मुलुक अमेरिकाको मूलधारमा एसिया तथा प्यासिफिक आइल्याण्डर ओरिजिन भएका अमेरिकनहरुसमेत आउने क्रम बढेको छ । युएस कंग्रेसमा हाल ३ जना सिनेटर र १३ जना हाउस अफ रिप्रिजेन्टिभ एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर ओरिजिन भएका रहेका छन् । यस्तै हाउस अफ डेलिगेट्समा समेत ३ जना रहेका छन् भने गभर्नर, राज्य सरकार तथा स्टेट हाउसमा समेत एसियन अमेरिकन तथा प्यासिफिक आइल्याण्डरको उपस्थिति रहेको छ । अमेरिकी सरकारका विभिन्न तहमा यो समुदायको प्रतिनिधित्व बढ्दै गएको छ ।

यो समुदायको अमेरिकामा उपस्थितिसमेत बढिरहेको छ, जनसंख्याको हिसाबले अमेरिकी मूलधारमा उपस्थिति भने सन्तोषजनक हुन सकिरहेको छैन । यस पक्षलाई केलाएर एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर ओरिजिन भएकाहरुले संस्थागत रुपमा विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छन् । त्यसैक्रममा यो समुदायको मूलधारको राजनीतिमा सक्रिय उपस्थिति गराउने उद्देश्यसहित एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर भिक्ट्री फण्डमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।

समुदायमा विभिन्न क्षेत्रमा सक्रियहरुलाई एकताबद्ध गराउँदै यो समुदायलाई बलियो बनाउने हेतु स्थापित यो संस्थाले मूलतः क्षमतावान एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर ओरिजिन भएकाहरुको पहिचान गर्दै उनीहरुका लागि आवश्यक प्रबन्ध मिलाउने काम गर्दै आएको छ । उसो त अमेरिकामा नेपालीहरुको समेत उपस्थिति बढिरहेको छ ।

नेपाली ग्रोइङ कम्युनिटीभित्र पर्दछ, नेपालीहरुको केही वर्षयता यहाँको राजनीतिमा चासो पनि बढिरहेको छ । सरकारी लेभलका विभिन्न तहमा नेपालीहरु पुगिरहेका छन् । यहाँको राजनीतिमा सक्रिय रहँदै आएका हरिकुमार शर्मा यो भिक्ट्री फण्डसँग पनि जोडिएका छन् । उनी र निवर्तमान राष्ट्रपति बाराक ओबामाको पछिल्लो कार्यकालमा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर सल्लाहकार रहेकी सञ्जिता प्रधानले नेपाली कम्युनिटीतर्फ को–चेयरका रुपमा यस संस्थामा रहेर काम गरिरहेका छन् । यो संस्थाको कार्यक्षेत्र, आवश्यकता, उद्देश्य र नेपाली समुदायका लागि यसले के गर्न सक्दछ, यही सेरोफेरोमा हरि शर्मासँग सुरज भण्डारीले गरेको कुराकानी—

यो संस्थाले के गर्ने गर्दछ ?

मुख्यतः यसको मुख्य उद्देश्य भनेको एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर कम्युनिटीलाई स्ट्रोङ बनाउने हो । अमेरिकामा एक कुनादेखि अर्को कुनामा रहेकाहरुलाई एकताबद्ध गर्दै लग्ने हो । कम्युनिकेशनको पाटोलाई बढी महत्व दिएर हामीले काम गर्दै आएका छौं । यो समुदाय एकताबद्ध हुन सक्दा यहाँको मूलधारमा यो समुदायको सहभागिता उत्साहजनक हुन सक्ने निश्चित छ । हामी चुनावकै कुरा गरौं कतिपय अवस्थामा थोरै मतले पनि नतिजा फरक आउन सक्दछ, यसले के देखाउँछ भने लिडर बन्न र बनाउन यो समुदाय यहाँको लागि एउटा प्रधान पक्ष हुन सक्दछ, यसले हाम्रो समुदायको महत्व यहाँ बढ्न जान्छ ।

उसो भए यो मुख्यतः राजनीतिक संस्था हो ?

राजनीतिक संस्था नै भन्दा पनि राजनीतिमा रुची राख्नेहरुका लागि सहयोग पु¥याउने संस्था भन्दा हुन्छ । अझ भनौं यो भिक्ट्री फण्डबाट सञ्चालन गरिने अभियान हो भन्दा सजिलो हुन्छ । यसको अर्थ हामीले केवल राजनीतिक मुद्दा मात्रै उठाउँछौं भन्ने पनि होइन । यो समुदायलाई कसरी यहाँको मूलधारमा लैजान सकिन्छ, बढीभन्दा बढी हाम्रो समुदायको प्रतिनिधित्व यहाँको प्रशासनिक क्षेत्रमा पु¥याउन सकिन्छ, हामीसँग सम्बन्धित मुद्दालाई कसरी सम्बोधन गराउन सकिन्छ, त्यसतर्फ हामीले काम गर्ने गर्दछौं ।

फेरि मूलधारमा लैजाने वा आफ्ना आवश्यकता पूरा गराउनका लागि सम्बन्धित ठाउँमा हाम्रो समुदायको प्रतिनिधित्व नै प्रधान पक्ष हो । त्यसले हामीले हाम्रो उपस्थिति त्यहाँ कसरी गराउन सकिन्छ त्यसका लागि क्याम्पेन गर्नेदेखि लिएर आवश्यकताअनुरुप फन्डिङलगायतका प्रबन्धहरु मिलाउन भूमिका खेल्दछौं । तुलनात्मक रुपमा यो समुदाय यहाँका लागि अल्पसंख्यक समुदायकै रुपमा छ भन्दा हुन्छ । जम्मा जनसंख्याको हिसाबले हाम्रो जनसाङ्ख्यिक उपस्थिति कम नै रहेको छ, तर यो यहाँको ग्रोइङ कम्युनिटीमा पर्दछ, अहिलेदेखि लाग्दा भोलि परिणाम सुन्दर देखिन्छ भन्ने हाम्रो विश्वास हो ।

यसलाई खासगरी डेमोक्रेटिक पार्टी पक्षधर भएको संस्था भन्छन् नि हो ?

मेन हामी संगठित हुने हो, यहाँको राजनीतिमा जान चाहने र सम्भावना भएकाहरुका लागि प्लेटफर्मका रुपमा यसले सहयोगी भूमिका खेल्न सक्दछ । रिपब्लिकनमा भएका साथीहरुलाई पनि हामी स्वागत नै गर्छौं, यो कम्युनिटीलाई कसरी बलियो बनाउने हो, त्यसमा बढी फोकस रहेको छ । तर, हामी अहिले लागेकाहरुमा भने मेजोरिटी डेमोक्रेटिक पक्षधर रहेका छौं । यहाँ सम्भावना हुनेहरुलाई हामी पहिचान गर्दै एकताबद्ध गराएर यो कम्युनिटी उहाँहरुबीचको एउटा पुलको काम गर्न चाहेका छौं, त्यहीअनुरुप कामहरु भइरहेको छ ।

अभियानमा कस्ता व्यक्तिहरु जोडिनुभएको छ ?

हामीले मुख्यतः समुदायमा सक्रिय व्यक्तिहरुलाई यो अभियानमा जोडेका छौं, जोड्दै पनि गइरहेका छौं । विभिन्न समयमा अमेरिकी सरकारको विभिन्न जिम्मेवारी बहन गर्नुभएका, प्राज्ञिक तथा पेशागत क्षेत्रमा सफल व्यक्तिहरु, समुदायलाई परिचालन गर्न सक्ने सम्भावना भएकाहरुलाई हामीले हाम्रो अभियानमा जोडिरहेका छौं । यहाँको स्थानीयदेखि सिनेट राजनीतिसम्म प्रभाव वा त्यसका लागि बलिया देखिएकाहरुलाई समेटेर अघि बढिरहेका छौं । क्षेत्रगत रुपमा विशेषज्ञता हासिल गरेकाहरुलाई समेटेर हाम्रो अभियान अघि बढिरहेको छ ।

समुदायमा नै फोकस कतिको रहेको छ ?

एकदमै सही कुरा हो, यो सबैभन्दा जरुरी पाटो हो । यहाँको राजनीतिमा हाम्रो सहभागिता कुरा गर्दा सबैभन्दा अहम् विषय हाम्रो कम्युनिटीबाट मतदाता बढाउनु पनि हो । यस समुदायको धेरैले यहाँको सिटिजनसिप लिइसकेका छन् । नेपालीको हकमा समेत धेरैले यहाँको नागरिकता लिएको अवस्था छ । तर, त्यसको तुलनामा मतदानमा यो समुदायको उपस्थिति सन्तोषप्रद नभएको देखिन्छ । पासपोर्ट लियो अनि आनन्दले बस्यो । यस्तो परिपाटी रहेको छ । यसलाई चिर्न र मतदान गर्नु हाम्रो कर्तव्य मात्रै होइन हाम्रो यो समुदायको उन्नयनको आधार पनि हो भनेर बुझाउन मतदाता शिक्षालाई पनि हामीले फोकस गरेका छौं । हामीलाई लाग्न सक्छ– हामी कति नै छौं र हामीले मत नदिएर के हुन्छ भन्ने । तर, थोरै मतले पनि नतिजा तल–माथि पर्ने विगतको चुनावी परिणामले देखाएको छ । यसैले हामीले सिटिजनसिप लिनदेखि लिएर भोटर लिष्टमा नाम चढाउन अनि मतदान गर्न अभिप्रेरित गर्ने खालका कार्यक्रमसमेत गर्दै आएका छौं ।

मतदानको कुरा गर्दा नेपालीको सहभागिताको हकमा चाहिं कस्तो रहेको छ ?

हाम्रो समुदाय पनि यसबाट अछुतो रहेको छैन । जस्तो भनौं– न्युयोर्कमा हामी ६० हजार बस्छौं भन्छौं, तर यहाँको सरकारी निकायले मात्र ६ हजारको डाटा देखाउँछ । यसले के भन्छ भन्दा हाम्रो उपस्थिति नै नगन्य देखिन्छ । हुन त यसको पछाडि यहाँ तथ्याङ्क लिने क्रममा पनि त्रुटीहरु भएका छन्, हाम्रो मात्र होइन अन्य समुदाय पनि छुटिरहेका छन्, यसको एउटा कारण भाषाको रहेको छ, यसलाई समेत हामीले अब सुधार गर्नुपर्दछ भनेर सम्बन्धित निकायमा भनेका छौं, ट्रान्सलेटरसमेत सहभागिता हुन सक्दा यसले सजिलो गराउँदछ । हामी पनि सचेतसाथ यसमा लाग्नु पर्दछ, मतदाता सूचीमा समावेश हुने र मत दिने काममा चुक्नु हँुदैन, यसले हाम्रो समुदायलाई नै यहाँ बलियो बनाउनेछ ।

नेपालीको हकमा केही कामहरु भएका छन् त ?

हाम्रो ध्यान समग्र एसियन अमेरिकन तथा प्यासिफिक आइल्याण्डरमा रहेको छ । नेपालीको हकमा समेत केही भएको छ, तर हामीले गर्ने यहाँको मूलधारमा कसरी जाने भन्ने भएकाले अरु संघसंस्थाले जस्तो देखिने खालका कामहरु नहुन सक्दछ, तर यो बीचमा यहाँका अन्य नेपाली संघसंस्थासँग सहकार्यमा टीपीएस नेपालीलाई उपलब्ध गराउन भूमिका खेल्न सक्यौं, यो संस्थासँग जोडिएका यहाँका हाउस अफ रिप्रिजेन्टेटिभहरु, सेक्रेटरी सबैको साथले यो सम्भव भएको हो । यसका साथैं पक्कै पनि हाम्रो नेपाली समुदायका कोही पनि यहाँको स्थानीय सरकारदेखि अन्य चुनावमा सहभागी हुने चाहना हाम्रो सपोर्ट रहन्छ, यहाँको गभर्मेन्ट बडीमा होस् या अन्य कुनै ओहोदामा हाम्रो सहभागिता रहने अवस्था बन्दा हामीले त्यो पुलको काम गर्नेछौं ।

अघि फन्डिङको कुरा गर्नुभयो, कस्तो फन्डिङ कसरी त्यो प्रबन्ध हुन सक्दछ ?

मुख्यतः इलेक्सन होस् वा अन्य कुनै अभियानमा त्यसमा सँगै आर्थिक पाटो पनि जोडिएको हुन्छ, सबैको प्रबन्ध हुन सक्दा मात्र अघि बढ्न सजिलो हुन्छ यो कुरा अझ यहाँको हकमा जरुरी छ । यहाँ उम्मेद्वारलाई पार्टी वा कुनै गभर्मेण्टले आर्थिक सहयोग गर्ने कुरा रहेन, त्यो अवस्थामा हाम्रो समुदायलाई केही गर्न सकिन्छ भन्ने हाम्रो धारणा हो । समुदायबाटै सहयोग लिएर समुदायकै उत्थानमा त्यसलाई उपयोग गर्ने हो । उद्देश्य राम्रो हँुदा आर्थिक जोहो गराउन गाह्रो हुँदैन ।

अन्त्यमा केही ?

हामी यो अभियानलाई यहाँका सबै स्टेटहरुमा पु¥याउन चाहन्छौं । यो कम्युनिटीलाई आधार तहबाट बलियो बनाउन चाहन्छौं । स्थानीयदेखि केन्द्रीय सरकार, केन्द्रीय निकायमा यो समुदायको प्रतिनिधित्व बढाउन चाहन्छौं । हाम्रो नेपाली समुदायका लागि समेत केही गर्न सकिन्छ भन्ने हो, यसका लागि म हाम्रो समुदायका सबैलाई मिलेर काम गर्न आग्रह गर्दछु ।

यहाँको मूलधारमा समाहित हुने आधारहरु आफैंले खोज्दै जाने हो, त्यसका लागि त्यो समुदायप्रतिको कर्तव्य ठानेर अघि आउन अनुरोध गर्दछु । साथै म यो पनि भन्न चाहन्छु कि जो तपार्इंहरु यही नै बस्ने निधो गर्नुभएको छ, यहाँको सिटिजनसिप लिन योग्य हुनुहुन्छ, तपाईंहरु सिटिजनसिप लिनुहोस् लिएर मात्र नबस्नुहोस् यहाँको हरेक खालका मतदानमा सक्रिय सहभागी हुनुहोस्, अरुलाई पनि सहभागिताका लागि उत्साहित गराउनुहोस् ।

प्रथम पटक प्रकाशित बिश्व न्युजडटकम का सुरज भण्डारीले गरेको कुराकानी बाट साभार :

प्रतिक्रिया