बुधबार, भदौ ७ २०७४ | Wed, August 23, 2017
नेपालको समय: ००:२५ | Washington DC: 14:40

बोस्टनमा आनी छोइङको यूनिटी एण्ड होप युस टुर २०१७ हुदै

चर्चित गायिका आनी छोइङ डोल्मा लाइभ कन्सर्ट बोस्टनमा हुने भएको छ । आगामी यजुन २५ मा बोस्टनस्थित ब्रक्ली पर्फमेन्स आर्ट थिएटरमा आनीको एकल सांगीतिक प्रस्तुति हुन लागेको हो ।

अमेरिकामा जुन ३ बाट सुरु भएको उनको सांगीतिक यात्रा लस एन्जलस, सन फ्रान्सिस्को, ओरेगन, सियाटल, वासिंगटन डिसी हुंदै बोस्टन आएर सकिने छ ।आयोजकका अनुसार नेपाली र विदेशी दुवैथरी दर्शकका लागि आनीले आफ्ना आध्यात्मिक गीत, संगीत प्रस्तुत गर्नेछिन् ।

आध्यात्मिक गायिकाका रुपमा परिचित आनी अहिले ’यूनिटी एण्ड होप युस टुर २०१७’ अन्तर्गत अमेरिकाका विभिन्न राज्यमा आफ्नो एक सांगीतिक प्रस्तुतिमा व्यस्त छिन् । यही क्रममा उनी बोस्टन आउन लागेकी हुन् ।

३ई इन्टरेन्टमेन्टले आनीको यो सांगीतिक यात्रा आयोजना गरेको हो भने बोस्टनको स्थानीय आयोजक हिमालयन हेरिटेज कल्चरल एकेडेमी हो। बोस्टनमा हुने कन्सर्टका लागि २५, ३५, ५० र १०० डलरका टिकट तोकिएको छ ।

आनीको कार्यक्रम हुने थाहा पाएपछि एक महिनादेखि नै उत्साहजनक रुपमा टिकट बिक्री भइरहेको आयोजक संस्था हिमालयन हेरिटेज कल्चरल एकेडेमीका सुरेश वाग्लेले जानकारी दिए ।

’आनीको आध्यात्मिक र जादुमय स्वरका पारखी बोस्टन क्षेत्रमा पनि धेरै भएकाले हामीले दर्शकको निकै राम्रो सहभागीताको आशा गरेका छौं, वाग्लेले भने ।

आनीलाई साथ दिन संगीतकार न्यूह बज्राचार्य, रमन महर्जन र गोपाल रसाइली आएका छन् । कार्यक्रममा हिमालय हेरिटेल कल्चरल एकेडेमीका वाद्यवादकले समेत आफ्नो छोटो सांगीतिक प्रस्तुति देखाउने छन् ।

नेपालमा सञ्चालित आनीका विभिन्न परियोजनाहरुको सहयोगका लागि यो सांगीतिक टुर आयोजना गरिएको हो । आनीका ’फूलको आंखामा फूलै संसार…’ गीत सर्वाधिक लोकप्रिय छ । यसबाहेक उनका ’ओम माने पेमें…., भगवान कहां म जाउं…., भेटिएन ईश्वर….., जय होस् तिम्रो’ लगायत गीत लोकप्रिय छन् ।

२०७४ जेठ २९ गते २१:५९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी