पहिलोपटक चीनबाट इन्टरनेट ल्याउने सम्झौता भयो, अब भारतको भर पर्नुपर्दैन (अन्तर्वार्ता)

इनेप्लिज २०७४ असार २ गते १०:३१ मा प्रकाशित

Managing Director of Nepal Telecom, Kamini Rajbhandari shares how she has planned to enhance NT’s services and other existing legacies in the coming days, at Bhadrakali in Kathmandu, on Sunday, October 2. Photo: Balkrishna Thapa Chhetri/THT

सरकारको स्वामित्व रहेको टेलिकमको उच्चतहमा पुग्ने कामिनी राजभण्डारी पहिलो महिला हुन् । सन् १९८५ मा इन्जिनियरका रूपमा टेलिकममा प्रवेश गरेकी कामिनी राजभण्डारीले अहिले प्रबन्ध निर्देशकको जिम्मेवारी पाएकी छन् । उनको कार्यकाल आठ महिना पुगेको छ ।

टेलिकमभित्र नेटवर्क प्लानिङ, जिएसएम प्लानिङ प्रोजेक्ट म्यानेजमेन्ट, अनुगमन र मूल्यांकन विशेषज्ञका रूपमा काम गरेको अनुभव उनलाई छ । कामिनीले पञ्जाव इन्जिनियरिङ कलेज चण्डीगढबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल कम्युनिकेसनमा स्नातक गरेकी छन् । उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी बैंककबाट म्यानेजमेन्ट अफ टेक्नोलोजीमा स्नातकोत्तर गरेकी छन् ।

२२ सेप्टेम्बर २०१६ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा नियुक्त भएपछि कामिनीले टेलिकममा उल्लेख्य सुधार गरेकी छन् । विभिन्न बाधा व्यवधानका बाबजुद उनले कतिपय नयाँ प्रविधिहरू भित्र्याएकी पनि छन् । टेलिकमको सुधार र नयाँ योजनाहरूका विषयमा भण्डारीसँग दैनिक नेपालका विमल योगीले गरेको कुराकानी:

० तपाईको नयाँ कार्य योजनाहरू के–के हुन् ?

मुलुकभर नै फोरजी सेवा विस्तार गर्ने प्रमुख कार्ययोजना छ । नेपाल टेलिकम र आरटिटिए फन्डबाट मध्य पहाडी लोकमार्ग प्रदेश १, २ र ३ मा समेट्ने गरी अप्टिकल फाइभर बिस्तार गर्ने तयारी रहेको छ । जसबाट नेपाली जनताले डाटा सर्वसुलभ रुपमा पाउने गरी योजना बनाई रहेका छौं । भूकम्प प्रभावित क्षेत्रहरू सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवामा हरेक गाविसहरूमा टेलिकमले प्रदान गर्दै आएको प्रविधिमार्फत इन्टरनेट सेवा सुरु गर्ने योजना रहेको छ ।

० फोरजीको सेवामा गुनासो आयो भन्ने सुनिन्छ नि ?

होइन । फोरजीमा खासै गुनासो छैन । जुन दिन हामीले फोरजी सेवा सञ्चालन गर्‍यौं । हामीलाई ग्राहकको राम्रो रेस्पोन्स आयो । एकै दिनमा २० देखि ३० हजार ग्राहकले फोरजी सेवा लिनुभयो । त्यति राम्रो रेस्पोन्स आएको थियो । तर, कहिलेकाहिं सिष्टममा समस्या आउँछ । नआउने होइन । खासै समस्या आएको थाहा पाएका छैनौं ।

० फोरजी सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने कुनै योजना अगाडि सार्नु भएको छ ?

हामीले फोरजी सेवालाई अझै गुणस्तरीय र ग्राहकले अझै बढी फोरजी सेवा प्रयोग गरुन् भनेर विभिन्न किसिमको डाटा सर्भिसहरू ल्याएका छौं । गतहप्ता मात्रै हामीले नाइट डाटा प्याकेज ल्याएका छौं । डे प्याकेज पनि ल्याएका छौं । यस्ता प्याकेजमा स्पिड हाइ हुने र ग्राहकहरूले सस्तोमा इन्टरनेट सेवा पाउँछन् । त्यो प्याकेज ग्राहकहरूले व्यापक रुपमा प्रयोग गरेको देख्यौं । अब आउने दिनमा हामीले छिटो नै फोरजीमार्फत विभिन्न किसिमको म्युजिकहरू डाउनलोड गर्न सक्ने, सुन्न सक्ने, भिडियो सर्भिसहरू पनि प्रयोग गर्न सक्ने तथा विभिन्न किसिमको डाटाप्याकेजहरू ल्याउने तयारी गरिरहेका छौं ।

० नेपाल टेलिकमले गाउँमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने कुरा कहाँ पुग्यो ?

नेपाल टेलिकमले पहिलोपटक आरटिटिए फण्ड प्रयोग गरेर विभिन्न ग्रामीण भेगहरूमा, सामुदायिक स्कुलहरूमा, सामुदायिक अस्पतालहरूमा र सार्वजनिक स्थानहरूमा वाईफाई दिने तयारी गरेको छ । त्यसमा हामीले केही अनुदान दिने र केही आरटिटिए फन्डबाट खर्च गर्ने योजना बनाएका छौं । कतिपय ठाउँहरूमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम हामीले सुरु गर्न लागेका छौं ।

० टेलिकमले गुणस्तरमा सुधार आएको बताइरहँदा आलोचना पनि भइरहेको छ नि ?

सिष्टममा कहिलेकाहिं समस्या त आउँछ नै । हामीले कुनै क्षेत्रमा यति ग्राहकलाई सेवा दिने भनेर डाइमेन्सन गरेका हुन्छौं । कहिलेकाहिं अपरझट् चाप बढ्दा त्यस बेला गुणस्तरमा समस्या आइपर्छ । तर, अहिले हाम्रो गुणस्तरमा अत्याधिक सुधार भएको छ । हाम्रा उपकरणहरूलाई नियमित रुपमा मोनिटर गरिरहेका छौं । १२ घण्टा, २४ घण्टासम्म टेलिकमका हाम्रा प्राविधिकहरूले पूरा डिउटी गरेर उपकरणहरूलाई अब्जर्भ गरिरहेका छन् ।

‘स्ट्यान्डर्ड मेन्टेन’ गर्ने गरी हाम्रो पूर्ण रुपमा मोनिटरिङ भइरहेको छ । अप्टिमाइजेसन पनि गरिएको छ । कुनै ठाउँमा पुरानो प्रविधिले गर्दा ग्राहकले राम्रो गुणस्तर सेवा नपाएका हुन सक्छ । त्यस्तो ठाउँमा हामीले नयाँ प्रविधिमा माइग्रेसन गरिरहेका छौँ । कैयौं ठाउँहरूमा अण्डर डाइमेन्सन भएको वा क्षमतामा काम गर्न नसकेको अवस्थामा त्यसमा अपडेट भर्सनको सामान राखेर गुणस्तरलाई कुनै पनि रुपमा अप्ठ्यारो नपर्ने गरेर काम गरिरहेका छौं ।

० चीनसँग पनि अप्टिकल फाइबरमार्फत इन्टरनेट ल्याउने कुरा के भएको छ नि ?

नेपाल टेलिकमको निर्भरता भारतसँग मात्रै थियो । म आइसकेपछि चाइना टेलिकमसँग सम्झौता भइसकेको छ । रसुवागढी नाकाबाट हामीले इन्टरनेट ब्रोड ल्याउँदैछौं । सायद जुन महिनासम्म इन्टरनेट ल्याउने छौं । अब नेपाल टेलिकमले भारतसँग मात्रै इन्टरनेटमा भर पर्नुपर्दैन । बैकल्पिक रुपमा चाइनासँग पनि इन्टरनेट ल्याउने सुरुवात हुँदैछ । सम्झौता भइसकेको छ ।

० नेपालमा चाइनाको इन्टरनेट कहिलेबाट प्रयोग गर्न सकिन्छ ?

हामी त तयारी अवस्थामा छौं । रसुवागढी नाकामा विभिन्न किसिमको प्राकृतिक समस्या छ । अप्ठ्यारो ठाउँ छ । विभिन्न कारणले गर्दा समस्या आएको हो । जति सक्यो छिटो हामीले काम गर्दैछौं । इन्टरनेट आउने छ ।

० तपाई आएपछि टेलिकमभित्र के–के सुधार गर्नु भयो ?

म आएको आठ महिना भएको छ । ‘स्ट्य्राटिजी पार्टनर’ अर्थात रणनीतिक साझेदार ल्याउने कार्य धेरै अगाडिको योजना थियो । अहिले टेन्डरमा गइसकेको छ । कन्टयाक्ट हायर गरिसकेका छौं । काम पनि सुरु भइसकेको छ । ०६७/०६८ सालदेखि विभिन्न रिजल्टहरू रोकिएको थियो । करिव डेढ वर्षदेखि कुनै पनि विज्ञापन हुन सकेको थिएन ।

विज्ञापन निकाल्न नसक्दा दरबन्दी पूरा हुन सकेको थिएन । यस्ता खालका थुपै संवेदनशील कामको निर्णय हुन सकेको थिएन । क्रमिक रुपमा ०६७ सालदेखिको रिजल्ट प्रकाशित गरेर पदपूर्ति पनि भइसकेको छ । कर्मचारीको विभिन्न तहको विज्ञापन गरेर हालसम्म दुई सय ५० जनाभन्दा बढी कर्मचारीलाई पदपूर्ति गरिसकेका छौं । कोही बढुवामा त कोही आन्तरिक प्रतिस्पर्धामा हुनुहुन्छ । आउने दिनमा थप बढुवाको लागि काम अगाडि बढाउने छौं ।

रिङब्याक टोन अर्थात मोबाइलमा कुन गीत राख्ने भन्ने काम ल्याइएको छ । बिगतमा पनि यो थियो । तर, कुनै कारणले रोकिएको थियो । यो पुनः सञ्चालन भएको छ । आउने दिनमा हाम्रा पोष्टपेड ग्राहकहरूलाई रियल टाइम सुविधा दिने सिष्टम दिँदै छौं । टेलिकमले विभिन्न प्रविधिमार्फत दिएको सेवाहरू एउटै सिष्टममार्फत दिन सुरुवात भइसकेको छ । एकद्वार सेवा प्रणाली पनि सुरु भइसकेको छ । एकद्वारबाट ग्राहकले सेवा पाउन सक्नु हुनेछ । यो बाहेक पनि टेलिकमभित्र सानातिना धेरै कामहरू भएका छन् ।

० तारसहितको (ल्याण्डलाइन)फोनमा अरु सेवा दिने तयारी भएको छ कि छैन ?

तारसहितको फोनमा पुरानो प्रविधिको उपकरण छन् । क्रमिक रुपमा पुरानोलाई नयाँ प्रविधिले विस्थापित गर्ने क्रम सुरु भइसकेको छ । हाम्रा साढे ६ देखि साढे ७ लाखसम्म ग्राहक छन् । दुई लाख ग्राहकको त नयाँ प्रविधिमा परिमार्जन भइसकेको छ । बाँकी ग्राहकको सेवालाई पनि सुधार गरेर जाने छौं । हाम्रो आयोजना पनि चलिरहेको छ । जतिसक्दो ग्राहकको घरसम्म साना–साना एक्सचेञ्च राख्छौं । पहिला लामो दूरीमा एक्सचेञ्ज हुन्थ्यो । जसका कारण समस्या थियो । मेरो लक्ष्य भनेको डाटा सर्भिस हो । ग्राहकलाई जति सक्यो त्यति राम्रो डाटा सर्भिस दिनुपर्छ ।

क्रमिक रुपमा मल्टिमिडिया सर्भिस दिने हो । तारसहितको टेलिफोनमा नयाँ प्रविधिमा भ्वाइस डाटा र मल्टिमिडिया सर्भिस दिने लक्ष्य लिएका छौं । मोटामोटी ५० प्रतिशतभन्दा बढी तारसहितका ग्राहक नयाँ प्रविधिमा गइसकेका छन् । अर्को कुरा फाइभर टू होम पनि ल्याइँदै छ । त्यसले पनि डाटा सर्भिस दिनेछ । यसलाई पनि हाइ स्पिडमा सेवा दिने छौं । अब आउने दिनमा नेपाल टेलिकमको लक्ष्य नै यही हुन्छ । फोरजीलाई व्यापक रुपमा विस्तार गर्ने । फाइभर टू होम पनि हाम्रो मुख्य योजनामा रहनेछ ।

० ल्याण्डलाइन फोनबाट टेलिभिजन हेर्न पाइने कुरा आएको थियो, कहाँ पुग्यो ?

फाइभर टू होमबाट घरसम्म फाइभर जान्छ । कपर तारले गर्दा डाटामा गुनासो आइरहेको छ । यसलाई क्रमिक रुपमा निरुपण गरिनेछ । फाइभर टू बिलिङ पनि लगिरहेका छौं । अपार्टमेन्ट, अस्पताल आदि ठाउँमा यो सुविधा लगिसकेका छौं । डिस्टेन्स कम हुँदा गुणस्तरमा सुधार आउँछ । र उपभोक्तालाई सजिलो हुन्छ । हाम्रा ग्राहकहरूले छिटोभन्दा छिटो ल्याण्डलाइन टेलिफोनबाट मल्टिमिडिया सेवा पाउनु हुनेछ । टेलिभिजन पनि हेर्न सक्नु हुनेछ ।

० नेपाल टेलिकमभित्र राजनीति छ भन्ने सुनिन्छ, बास्तविकता के हो ?

पहिला पाँच वटा युनियन थिए । अहिले चार वटा भएका छन् । उहाँहरूबाट मैले सहयोग पाएको छु । सहयोग नभएको भए यति ठूला कार्यक्रम र योजनाहरू कसरी गर्न सक्थे ? उहाँहरूसँग छलफल गरि व्यापक कोर्डिनेशन गरेर म अगाडि बढेको छु । कतिपय ठाउँहरूमा युनियनहरूले मार्गदर्शन पनि गरिरहेका छन् । यति धेरै काम सहयोगकै कारण भएको हो । विवाद आएको छैन । राजनीति जहाँ पनि हुन्छ, यहाँ पनि युनियनको चुनाव हुन थालेको छ । सहमति भएको छ ।

प्रतिक्रिया