मंगलबार, भदौ ६ २०७४ | Tue, August 22, 2017
नेपालको समय: १३:०८ | Washington DC: 03:23

हे भगवान मेरो लास माथी यसरी झिगा भन्किन नपाओस !

महेश भट्टराई

 

उनको लास फुक्क फुलिसकेर नराम्रो गन्ध आउन थालिसकेको थियो । वरिपरी झिगा र भुसुनाहरू भन्किन थालिसकेका थिए । ४८ घन्टा बिती सक्दा पनि लास लिन नआएकोमा अस्पतालका कर्मचारीहरू पनि निकै दुखित देखिन्थे । अस्पताल कर्मचारी र गाउलेहरू बिच भित्र भित्रै ब्यापक गाइँ गुइँ चलिसकेको थियो ।  छौराछोरी नभएका पनि होइनन उनी ४ छोरा र २ छोरी कि आमा हुन । ५६ बर्ष मात्र पुगेकी थिइन उनि । श्रीमानको दुर्घटनामा परेर उमेर छदै मृत्यु भै सकेको थियो । आफुले खाई नखाइ दुख सुख गरेर सबै छोराछोरीहरू लाई बढ़ाई लेखाई गराइन उनले । सबैले जस्तै हाइस्कूल सकिए पछि गाऊँ छाडी शहरमा कलेज पठाइन उनले । त्यस दिन देखि आज सम्म आमा भनेर दुई बस्ने फ़ुर्सत भएन उनिहरू लाई ।

पढ़े लेखे जागिर खाए, बिबाह गरे, छोराछोरी भए, शहर तिरै रमाए । तर आमाको मन सधै भरि छोराछोरी आउने आसमा बाटो भरि आखा बिछ्याई रहिन ।  जेठो छोराले ब्यापार गर्छ, ठुलै शहरमा । राम्रो कमाएको छ भन्ने सुन्छु गाऊलेबाट । शहर मैं घरजम गरि बसेको छ उसले । नाती नातीना देख्ने ठुलो धोको थियो उनको, फुर्सद भएन उसलाई कहिल्यै । धेरै पटक फ़ोन गरेर पनि भनिन तर भेट्न कहिल्यै आएनन । “आमा भन्दा पैसा प्यारों भयो उसलाई ।”
माइलो छोरों सरकारी जागिर खान्छ । गाड़ी पाउने ठुलै अफिसर भएको छ । प्रेम बिबाह गरेको श्रीमतीको कुरा अलि बढ़ी सुन्छ भन्छन् गाऊलेहरू । आक्कल झुक्कल फ़ोन गरि हाल्यो भने पनि बिच मैं राखि दिन्छ । कुरो बुझ्नै गारो छ उसको । “आमा भन्दा श्रीमती प्यारों छ उसलाई पनि ।”

साइलो छोरों अमेरिका पढ्न गएको उतै हरायो । धेरै नै पढेको छ रे । नेपाल आउने मनै गर्दैन । भिसा पनि छैन रे । काग़ज़ात बनाउने धुन उतै अडकिएर बसेको छ भन्ने सुन्छु । “आमा भन्दा बिदेश प्यारों भयो उसलाई।”

कान्छो राम्ररी पढ्न लेख्न सकेन । आमा संग नै बसेको थियो । नपढी जागीर पाउने कुरै थिएन । खेती किसानी गरि खान धौ धौ नै थियो । आमा तिमीलाई कसैले हेरेनन । तिमीलाई दुई चार पैसा कमाएर हामी पनि शहरमा गएर शुख संग बसौला भन्ने सपना देखाएर अरब तिर लाग्यो । “मन भएको कर्म नभएको ।”
जेठी छोरी निक्कै राम्री थिइ । ठुलै घरानिया ख़ानदान बाट माग्न आए । केहि दिन पर्दैन, छोरी दिए पुग्छ भने । हामी पनि ठुलैको ओत लाग्ने आसमा मख्ख पर्दै छोरी दिइयो । कहिले काही फ़ोन सम्म गर्छे । आउन छोरी नातीना लिएर कस्तो देख्न मन लागेको छ भन्छु, कहिल्यै आइन । हामी गरिब संग भेट्न आउदा श्रीमानको इज़्ज़त जान्छ रे । “आमा भन्दा इज़्ज़त ठुलो ।”

कान्छी पढ्नमा टाठी बाठी, लै बिदेश जान्छु भन्दै अष्ट्रेलिया गई । उतै केटा साथी बनाएर बसेकी छ रे । कहिले काहि फ़ोन सम्म गर्छे । भेट्न आउन, एक महिना बस्ने गरि भन्दा , पढ्न र जागिर खान पर्छ, सधै फुर्सदै छैन भन्छे। “आमा भन्दा पढ़ाई प्यारों ।”

उनलाई खोकी लाग्न थालेको पनि घेरै नै भै सकेको थियो । शुरू शुरूमा रूघाखोकी होला भनेर हेल्थपोष्ट बाट उपचार शुरू गरिन उनले । सन्चो नभए पछि प्राइवेट क्लिनिकमा पुगीन ऊनि । २-४ दिन यसो सन्चो भए जस्तो हुन्थ्यो फेरि बल्झेर उस्तै । त्यस पछि सरकारी अस्पतालमा पुगेर औषधी औषधी गरिन । निमोनिया भएको भन्दै एक झोला औषधी लेखिदियो डाक्टरले । सबै खाइन । एक दुई महिना सन्चो होला जस्तो भयो , फेरि उस्तै । बिहान उठी भर्याड, मजेरी, पेटी, आँगन , गोठ बडार्यो घुलो । गहूँ, मकाई, तोरी, फापर, धान ठटायो धुलो । धाँतो, ढिकी, छिन्कियो, फड्कियो धुलो । बारी, खेत डल्ला फुटायो धुलो । धान, पराल संग खेल्यो धुलो । ढोठा र भिजेका दाउराहरूमा फू फू गर्दा धुवा ! खरानी खादै कुंडों पकायो धुवाँ ! टडालमा राखेका आधा भिजेका चिसा दाऊरा हरू ठोस्दै बासको ढड्ग्रोले फुक्दै भाँत पकायो धुलो, धुवाँ ! साच्चै धुलेरी र धुवाको जिवन बिताएकी थिइन उनले ।

कहिल्यै सन्चो नहुदा भेन्टिलेसन बिनाको राड्गसिएको आफ्नो घर जस्तै शायद मेरो फोक्सो र मुटु पनि उस्तै होला भनि सोच्दथिन ऊनि । टि बी नै भए झै सधै खोकि रहन्थिन ।आमाको हातबाट दशैको टिका थाप्न भन्दै कान्छो छोरा अरब बाट आयो । आमाको हालत देखेर शहरमा लगि ठुलो प्राइवेट अस्ततालमा जचायो । रगत ,एक्सरे र जाच गर्न भनेका जाँच सबै गरायो। ४०-५० हज़ार खर्च गर्यो । अन्त्यमा फोक्सोको टि बी भएको भन्दै एक झोला औषधी थमाई दियो ।
“लौ आमा अब खुरू खुरू नछोडीकन औषधी खानु, तिमीलाई सन्चो हुन्छ । ” भन्दै आफ्नो काममा अरब तिर फर्कियो ।

औषधी खादै गइन, सन्चो होला होला भन्दा ऊनि झन् भन्दा झन् गल्दै गइन । खाना पीना बिना दिसा पिसाब बिछ्यौना परेको पनि धेरै दिन भै सकेको थियो । घेरै दिन सम्म बिस्तरामा परे पछि गाउलेहरूले आएर सरकारी अस्पतालमा लगे । डाक्टरले सबै रिपोर्टहरू हेरिसके पछि क्यान्सर भएको शंका गरि क्यान्सर अस्पतालमा लाने सल्लाह दियो । गाउलेहरूले पैसा उठाएर क्यान्सर अस्पताल सम्म पुर्याए । बिभिन्न जाँच र परीक्षण पछि क्यान्सर शरिर भरि फैलिसकेको र अब मृत्यु कुर्नु सिबाय अन्य बिकल्प नरहेको कुरा डाक्टरले बतायो । उनि मृत्युलाई क़ुर्न अस्पतालमा भर्ना भइन ।

सबै छोराछोरीहरू लाई आमाको अबस्था बारे फोनबाट जानकारी गराइयो । कोहि पनि झुल्किएनन । सातौ दिनमा उनको मृत्युको घोषणा गरियो ।  अस्पतालको एक कर्मचारीले भन्यो “निकै दुख पाएकी रहिछन आमाले, ठिकै भयो दुखै लुकाइन। ” अर्को कर्मचारीले थप्यो “हैन आमालाई यस्तो अवस्थामा पनि भेंट गर्न नआउवे कस्ता छोराछोरी पाइछन हँ , धिक्कार छ तिनीहरू लाई ।” गाऊलेहरू माँझ पनि खस्याक खुसुक चलिसकेको थियो ।
एकले भन्यो ” सबै छोराछोरी लाई खवर त भयो हैन ?”

अर्कोले भन्यो ” भयो, सबैले अस्पताल आए देखि नै खवर पाएका छन । मृत्यु भएको खवर पनि सबैले पाई सके ।” चार चार भाई छोराहरू मध्ये एक भाईको पनि उपस्थित बिना कसरी लास उठाउने गाऊलेहरू सबै द्दिबिधामा थिए । कहिले र कति बेला सम्म बाटो हेरेर बस्ने भनि मुखामुख गर्दै थिए । यस्तो बेला हिम्मत लिएर यसै गरौ भन्ने आट कसैको थिएन ।
एकले भन्यो ” जेठोले नौ दिनमा मिसीन आउछु भन्यो रे !” अर्को गाउले ले रिसाउदै भन्यो” थुक्क साला आमा अस्पतालमा हुदा त आइनस आइनस मर्दा समेत पनि ब्यापार गरेर बस ! तेरो जुनी !”

अर्को गाउलेले थप्यो “माइलो संग मेरो कुरा भएको थियो, बिदेश भ्रमण गएको छ रे , अफिसबाट काजमा, आमालाई अस्पतालमा सिकिस्त छाडेर !” “के आस गर्नु यस्ता कपूतको”अर्कोले रिस पोख्यो । “थुक्क तेरो जागीर आमा बिरामी हुदा बिदेश घुम्न जानु पर्ने” अर्को पनि झर्किदै भन्यो ।
“साईलो को के हाल छ त ?” भावुक हुदै एउटाले प्रस्न राख्यो ।

“त्यों पनि अमेरिका काग़ज़ मिलाउने क्रममा छ रे, आउन मिल्दैन रे ! उतै क्रिया गर्छ रे !” एकले भन्यो । तेरो पढ़ाई लेखाई र आमा प्रतिको कर्तव्य पनि देखियो !” ” क्या छोरा पाइछन” अर्कोले थप्यो ।

“कान्छो को के हाल छ त ? एकले प्रस्न राख्यो । सुन्ने बित्तिकै हिडीसकेछ । दुई दिनमा त पक्कै लाग्छ होला ।” अर्कोले जवाफ दियो । “छोराको नाममा तेहि रहेछ, नपढेर के भो र ? आमाको नाता, महत्व र धर्म उसैले बुझेको रहेछ ।” अर्कोले थप्यो ।

अब हामीहरूले कसैको बाटो कुर्नु हुदैन । जाऊँ लास बुझौ र क्रियाकरम तिर लागौ । एकले भावुक हुदै भन्यो । हो हो जाऊँ ” दाग बत्ती म दिउला, म पनि गाउले आमाको छोरै नै हूँ क्यारे ” एक युवाले भावुक हुदै भन्यो ।

सबै रातों निलो मुख लगाएर उठे ।

“छोरीहरू लाई त ख़बर भयो नि ? ” एकले सझदै भन्यो ।

“ठुली ब्यापारमा ब्यस्त र इज़्ज़त जाने होला भनेर आइन । कान्छी बिदेश, केटा वा पढ़ाइ मैं ब्यस्त होली” अर्कोले रिस पोख्यो ।  ४८ घन्टाको पट्याटलाग्दो लामों कुराई पछि गाऊलेहरू लास बुझ्न शव गृह तिर लागे । चौकिदारले अस्पतालको बिल बुझाए पछि मात्र लास दिने कुरा जनायो । करिब पाँच लाख तिर्नु पर्ने अस्पतालको वील रहेछ । सबैले अवाक्, मुखामुख गरे ।

एकले मुख फोर्यो “हामी गाऊले र छिमेकी भनेको यस्तै मर्दा पर्दा त काम लाग्ने त हो नि!” सबैले हो मा हो मिलाए , सबैले यथासक्य पैसा उठाए, बिल तिरे । लास बुझेर धाटमा लगि परम्परा अनुसार क्रियाकरम गरिदिए । लास नराम्रो संग गनाई सकेको थियो । सबैको आखाहरू रसाई रहेका थिए । तेरौ दिन सम्ममा बिदेशी बाहेकको तिनै भाईहरू जम्मा भै सकेका थिए । आमाको गाऊँको संम्पतीमा सबैलाई आ आफ्नो पनि भाग चाहियो भनि कुना मैं चर्का चर्की पर्दै परेको कुरा गाउलेले थाहा पाई सकेका थिए । यत्ती कै मा एक छोराले मनको कुरा ओकल्यो “यस्तै किचपिच र अस्पतालको खर्च तिर्नु पर्छ भनेरै म पहिला नआएको, सारै किचकिच गर्थिन भेट्न आइनस भनेर, बुढी मरिन ठिकै भयो ।

गाऊलेहरू यीनका छोराछोरीहरू संग रिसले चुर भै सकेका थिए । कतिले आफ्नो छोराहरू बारे कल्पना गर्दै थिए । कत्तिले पैसाको खेल बुझे । कत्तीले पढाइ र गराईको महत्व बुझे । कत्तीले छोराछोरी माया प्रेम देखे । कत्तीले मेरो छोराछोरी यस्ता पक्कै छैनन भने ।  कत्ति आमाहरूले छाती पिटी पिटी रोए कराएर भने ” हे भगवान नौ महिना कोखमा राखि दश धारा दुधको हुर्काएको यस्ता छोराछोरी कसैको देख्न र सुन्न नपरोस ।”
सबैले आ आफ्नो भबिष्यको बारेमा कल्पना गर्दै थिए । तर सबैको मनले एउटै कुरा भनिरहेको थियो ” हे भगवान मेरो लास माथी यसरी झिगा भन्किन नपाओस !

२०७४ असार २ गते २१:०८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी