नारायणगढ मुग्लिन सडक सञ्चालनमा

इनेप्लिज २०७४ असार ४ गते ११:४९ मा प्रकाशित

चितवन, ४ असार । पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि आज बिहान ११ः ५० बजेदेखि सडक पुनःसञ्चालनमा आएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो ।

पहिरो पन्छाउनका लागि एक एक्साभेटर, दुई लोडर र तीन टिपर परिचालन गरिएको थियो । पहिरो पन्छाइएसँगै रातिदेखि सवारी जाममा बसेका गाडी आआफ्नो गन्तव्यतर्फ लागेका छन् । अहिले सडकखण्ड विस्तारको काम भइरहेको छ ।

भित्तो काटेर सडक फराकिलो बनाइएकाले समय समयमा पहिरो खसेर दुःख दिने गरेको छ । हाल ठूलो पानी नपरे पनि दुई चार दिनयता परेको पानीका कारण पहिरो खसेको हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया