आज बुबाहरुको दिन -सुरेन उप्रेती अटवा क्यानडा

इनेप्लिज २०७४ असार ४ गते १२:५७ मा प्रकाशित

सन्सारका हरेक ठाउँमा व्यस्त रहनुहुने आदरणिय बुवाहरु सन २०१७को Happy Father’s day. । हो यो सन्सार नै स्वार्थी र ढोंगी बन्दै गएको छ । बर्षदिनका ३६५ दिनमा ३६४ दिन सम्म तपाईहरुको महत्व बुझ्न नसक्ने । तपाईले आफ्नो सन्तानको उज्वलभविष्यका लागि भन्दै रातो दिन गरेका कष्टपूर्णकामहरु। सन्तानको सुखद र सहज जीवन वनोस भन्ने सपनाबोकेर मोलेका जोखिमहरु । आज एक दिन सम्झँदा र फेसबुक नामक भित्तामा रंगाउँदा मात्रै त तपाईको सम्मान हुँदै हुँदैन ।

आफ्ना छोरा छोरीहरु अरुका भन्दा कुनै कुरामा पनि पछाडी नहुन् । केही कुराको पनि अभाव नहोस् । अरुका केटाकेटी भन्दा जान्ने र सक्षम भएर अगाडी बढुन। आफ्नो सन्तान डाक्टर इन्जिनियर बनुन् । ठूला मान्छे भएको देख्न पाइयोस भन्ने अनेक सपना बोकेर हर प्रकारका दुख गर्नु भयो । सन्तानलाई हुर्काउने क्रममा अनेक अपमान र पिडाहरु पनि सहनु भयो । आफुलाई खान दिएको खानेकुरा पनि नखाइ ल्याएर खुवाउनु भयो । कुनै राम्रो खेलौना होस् या लुगाहरु हुन ल्याइ दिनु भयो । आफुले कमशल र पुरान लुगा लगाएर पनि राम्रा र महँगा लुगा किनिदिनु भयो । पेट भरी खाने कुरा नहुँदा आफु कम्मरमा पटुकाले कसेर पनि अघाएको अभिनय गरेर हामीलाई खुवानु भयो ।

बुवा तपाईले हामी सन्तानका लागि कतिमात्रै गर्नु भएन र । जीवनका उर्वर क्षणहरुलाई फोक्ल्याण्ड कारगिर अफगानिस्तानका जंगलहरुमा लगेर मृत्यु सँग साँट्नु भयो । आफ्नो फक्रिएको बैंसका रहरहरुलाई बुटले दवाएर आफ्नी प्रियशीको र ससाना मुटुका टुक्राहरु सँगको वियोगमा आँशु पिँउदै आँशुले सिरानी भिजाउनु भयो । कहिले खाडीको मरुभूमिको तातो हावामा मर्दै र जींउँदै काम गर्नु भयो । जान्दै नजानेको भाषा वोल्ने देशमा गएर काम गर्नु पर्दा कति गाह्रो भयो होला । कति दिन सम्म इसाराका भरमा तपाईका दिनहरु बितेहोला । मालिकले अह्राएको कुरा नबुझेर काम बिग्रँदा कति यातना र अपमानका गालीहरु खप्नु भयो होला । म्यानपावर नामक पशलचलाउनेहरुको कसाई प्रवृतिको शिकार बन्नु परेर कतिन्जेल मलेसियाका जंगलमा छटपटाएर बिताउनु भयो । त्यहाँका आदिवासीहरुले लुट्ने र कुट्ने जस्ता पाशविक यातना दिंदा पनि हामी सन्तानकै लागि त सहनु भएको हो नी ।

देसमा योग्यता र क्षमता अनुसारको काम पाउने त कता हो कता सामान्य काम पनि नपाएर छट्पटाउनु परेको थियो । हामी साना हुँदा ऋणलिएर विदेशिनु पर्दा हामीलाई छातीमा टाँस्दै आँशु बगाउनु भएको थियो । तपाईका पाइलाले घरछोड्न मानिरहेकै थिएनन् । तर हाम्रो खाली पेट र नाङ्गो आङलेतपाईको श्वभिमानलाई सँधै गिज्याइ रह्यो । हामीले देख्दा देख्दै हाम्रा छिमेकीहरु धनाड्यमा रुपान्तरित भए । उनीहरुको पेशा व्यवशाय भनेको केहि पनि थिएन । खाली राजनिति गर्ने भन्दै शहर तिर जाने मात्र गर्थे । राम्रा र सुकिला लुगा लगाउँथे । तर तपाईले पढाइ सकेर काम नपाए पछि के के पो गर्नु भएन र । जागिर नपाए पछि घरमै पशुपालन गर्ने भनेर अभियान नै संचालन गर्नु भएको थियो ।बाख्रा र कुखुरा पालनका लागि साझाबाट र कृषिबिकाश बैंकबाट ऋण लिनु भएको थियो । हामीलाई समयले साथ दिएन । भूकम्प जस्तो प्राकृतिक बिपतिले सबै कुखुरा गुमाउनु पर्यो । फेरी घर पनि बनाउनु पर्ने बाध्यता थपियो । साझा र कृषिबिकाश बैंकको ऋण यथावत नै रह्यो । बैंकको व्याजलाई भूकम्पले केहि लछारपाटो लगाएन । ब्याज झन झन बढ्दै अकासिएर गयो । हाम्रो वासस्थान लडे पछिको जग्गामा पनि बैंकले नाप जाँच गर्यो र रोक्का र लिलामीको सूचना टाँस्यो । त्यसबेला तपाइको ह्रृदयमा कत्रो आघात परेको थियो होला ।

हाम्रो भविष्यमा उज्यालो छर्ने थुप्रै सपनाहरु बोकेर तपाई र काका बडाबाहरुले ऋण लिनु भयो । विदेश जाने सपना रोप्नु भयो । म्यानपावरले पैसा लिएर कयौं महिना सम्म आज उडाउने । भोलि उडाउने भन्दै काठमाण्डुमकै गल्ली नाप्न बिवस बनायो । दलालले मोटो रकम लिएर विदेशलाने भन्दै उडाए पछि पनि भनेको देसमा पुर्याएन । कहिले अर्जेन्टिनाको जंगलमा राख्यो । कहिले गठेमालाकामा राता रात नाउमा चढाएर समुन्द्रमा पुर्यायो । त्यहीबाट पुलिसले पक्डिएर महिनौ सम्म जेल बस्नु पर्यो । प्राण धान्नेका लागि मात्र पुग्ने गरी खान दिएर शाररिक र मानशिक यातनामा छमहिना बिते पछीमात्र अमेरिका पुग्नु भएछ । त्यहाँ पनि त के सजिलो थियो र । न भाषा मिल्छ । न भनेको जस्तो काम नै पाइन्छ । यो सबै जोखिम हामी सन्तानकै सुख र संबृद्धिका लागि त थियो नी । कहिले आफ्ना सन्तानको पेटको आगो निभाउनका लागि खराब बाटोमा हिड्न बिवश बन्नु पर्छ । कहिले आङढाक्ने बस्त्र र शिक्षाको ज्योती दिने क्रममा गलतबाटो अबलम्बन गर्नु पर्छ । तपाईले आफ्ना सबै इच्क्षा आकांक्षा र रहरहरुलाई परिस्तथितिको फलामे जन्जिरमा कैद गर्नु भयो । मात्र आफ्ना सन्तानका लागि भनेर ।बुबा तपाई साँचिकै महान हुनुहुन्छ ।
आज यो दुनिया आडम्बरी बन्दै गएको छ । बर्षभरी तपाईको कदर र सम्मान गर्न कन्जुस्याई गर्छ । तपाईको त्याग तपश्या र योगदानको कुनै महत्व राख्दैन । तपाईले देखेका सपनाहरु र यो अवस्थामा पुग्नका लागि ताते गराएका पलहरुको पहिचान गर्दैन । आफ्नो विगत र उम्रिएको धरातल बिर्सन्छ र कुनै अर्कै नक्षत्रबाट अबतरण भएको प्राणिको अभिनय गर्छ ।यस्तै प्रवृतिको विकाश भएको छ। अरुहरुका नजरमा मात्र साँच्चिनै पितृ भक्त दरिनका लागि नौटंकी रचना गर्दछ । तपाईको महानतालाई आज एकदिनको मिठा परिकार र रंगिन बस्त्रले सजाएर व्ल्याकमेल गर्दछ । बाँकी ३६४ दिन बेवास्ता गरे यो एक दिनको के महत्व हुन्छ र । यसले के अर्थ राख्छ र । आजको दिनले संसार भरका समस्त सन्तानहरुलाई आफ्ना बुबाहरुको सेवा र सम्मान गर्ने प्रेरणा मिलेमात्र Father’s day को सार्थकता हुने थियो । Happy Father’s Day 2017.

प्रतिक्रिया