शनिबार, असार १० २०७४ | Sat, June 24, 2017
नेपालको समय: ०९:२७ | Washington DC: 23:42

यमबुद्धको ‘पागलपन’ सार्वजनिक

काठमाडौं,
ज्येष्ठ १७ ।

युवा पुस्ताका चर्चित र्यापर गायक भनेर चिनिएका यमबुद्धको भौतिक शरीर यो संसारमा नरहे पनि उनले गाएका गीतहरु हामी माझ लोकप्रिय नै छन् । उनले पछिल्लो समय गाएका ‘पागलपन’ बोलको गीत ज्येष्ठ १६, मङ्गलबार सार्वजनिक भएको छ ।
हुन त उनी जन्मेको दिन पनि जेठ १६ नै हो । तर, उनी यो संसारमा नरहे पनि उनी जन्मेको दिनको अवसर पारेर उनको अन्तिम गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । २०४४ सालमा जन्मेका अनिल अधिकारी अर्थात् यमबुद्धको निधन २०७३ माघ १ गते लण्डनमा भएको थियो ।


पागलपन बोलको गीतलाई नायक तथा निर्माता रेश मरहठ्ठाले निर्माण गरेका हुन् । त्यसो त अभिनेता रेश यमबुद्धका बहिनी ज्वाईं पर्छन् । यमबुद्धकी बहिनी अश्मी अधिकारी र रेशबीच २०७१ सालमा इन्गेजमेन्ट भएको थियो ।
रेशले यो गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । रेशसँगै यो गीतमा चर्चित नायिका प्रियंका कार्की र अशिमा अर्यालले समेत अभिनय गरेका छन् । यो भिडियोको पोष्ट प्रोडक्सन तथा निर्देशन दिनेशजंग रानाले गरेका हुन् । गीतमा म्युजिक भने शैलेश श्रेष्ठले दिएका छन् भने भिडियोको छायाँकन राजेन्द्र समनले गरेका छन् । यो गीतको भिडियो अमेरिकामा छायाँकन गरिएको हो । पागलपन बोलको गीतको भिडियोलाई सङ्गस नेपालले यु–ट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।
नेपाली गीत सङ्गीतको क्षेत्रमा बिल्कुलै फरक विधालाई स्थापित गराई यमबुद्धले युवा पुस्ता माझ हिपहप र र्याप गीतसङ्गीतलाई चिनाएका थिए । नेपालमा र्याप ब्याटललाई स्थापित गराउने प्रमुख श्रेय उनलाई नै जाने गर्दछ । सन् २००९ मा उनले गाएको साथी बोलको गीतले नै उनलाई युवाहरु माझ पहिलो पटक चिनाएको हो ।

२०७४ असार ५ गते २:५७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी