यी हुन् अष्ट्रेलियामा दुर्घटनापछि पत्नीको हत्या गर्न खोज्ने नेपाली, यसरी परे फन्दामा

इनेप्लिज २०७४ असार ७ गते १६:०७ मा प्रकाशित

सिडनी, ७ असार । आफैले हाँकेको मोटर ठोक्किने बित्तिकै घाइते श्रीमतीको घाँटी थिचेर मार्न खोजेको भन्दै एक नेपालीलाई अष्ट्रेलियाको अदालतले दुई वर्ष जेल सजायको फैसला सुनाएको छ ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका रौतहट जिल्ला निवासी ४६ वर्षीय व्यापारी दीपक अधिकारीलाई अदालतले सो सजाय तोकेको हो ।

दुई सन्तानका पिता दीपकले गोस्फोर्ड स्थानीय अदालतमा सुनुवाइ चलिरहँदा अन्तिम क्षणमा दलिल परिवर्तन गरेपछि यस किसिमको एउटै अपराधमा हुनसक्ने अधिकतम सजाय गरिएको थियो ।

अदालतका अनुसार दीपकले उद्दारको साटो श्रीमतीको हत्या गर्न खाजेकोले सो सजाय सुनाइएको हो ।

अदालतले उपलब्ध गराएको बिवरणअनुसार गत मार्च महिनाको २७ तारिखमा अष्ट्रेलियामा बस्दै आएका नेपाली ब्यापारी दीपक अधिकारीले हरन्सबी हाइट्सस्थित आफ्नो निवासबाट गाडीमा दक्षिणी भेगतिर जान फ्रि वे को उपयोग गरे ।

समर्सबीस्थित कारियोंग इन्टरचेन्ज भन्दा झण्डै २ सय ५० मिटर दक्षिणतर्फ सडक मर्मतको निम्ति राखिएको एउटा ट्रक भेटियो । उनको निसान एक्स्ट्रेल मोटर त्यो ट्रकलाई काटेर अघि बढ्न खोज्दा अचानक ठोक्कियो र १ सय ६० मिटर पर हुत्तियो ।

मोटर अनियन्त्रित भई तीन वटा लेन नाघ्दै उक्त सडकको बीच भागमा लगाइएको हरियालीनिर पुगेर अडकियो ।

त्यसलगत्तै मोटरमा सुरक्षाका निम्ति राखिएको एयर ब्यागहरु निस्कियो । त्यसपछि दीपक चालकको सिटबाट निस्केर यात्रु चढ्ने अर्को ढोकातर्फ आए, जहाँ उनकी पत्नी पम्फा धिताल बसेकी थिइन् ।

अर्कोतर्फको ढोका नराम्रोसँग क्षतिग्रस्त भएकाले खोल्नै नसकिएपछि दीपक फेरि आफ्नै ढोकातर्फ आए र चालकको सिटतिरबाट श्रीमतीलाई ताने ।

तानेपछि श्रीमतीको शरीरलाई भुइँमा राखे, त्यसपछि उनका दुवै हात श्रीमतीको घाँटीतर्फ बढ्यो । छेउमै सहयोगका लागि रोकिएको ट्रकका चालक आश्चर्यमा परे ।

दीपकले श्रीमतीको घाँटी नराम्रोसँग अठ्याएको उनले देखे, सोही कारण केही क्षणमै दीपकको श्रीमतीले होस गुम भयो । श्रीमतीको ओँठसमेत निलो हुन थालिसकेको देखेपछि ती ट्रक चालकले दीपकलाई समातेर उनको हात घाँटीबाट हटाइदिए ।

देब्रे आँखा बाहिर निस्केको हिसाबले सम्भवत हेमरेजको पनि आशंकाका साथ घाँटीमा चोट बेहोरेकी पम्फालाई लगत्तै अस्पताल पुर्‍याइयो ।

चिकित्सकहरुले पम्फाको शरीरको वायु प्रणालीलाई बाहिरबाट अवरुद्ध पारिएको कारण फाटेका आँखाका रक्तनलीहरु सकुशल नै परिचालन भइरहेको बताए ।

सिड्नीको नर्थ सोर क्षेत्रमा पिज्जा पसलेका रुपमा ब्यवसाय गर्दै आएका दिपकलाई लापरवाहीपूर्वक सवारी हाँक्दै दुर्घटना गराएको र श्रीमतीलाई नियतपूर्वक घाँटी थिचेर मार्न खोजेको अभियोगमा मुद्दा चलाइएको थियो ।

फैसलामा न्यायाधीशले एम वन मोटर वेमा उक्त दुर्घटना हुने बित्तिकै दुवै हात श्रीमतीको गलामा लगेर एउटा आँखा बाहिर निस्कुन्जेल थिच्ने श्रीमानको उक्त गतिविधि अचम्मलाग्दो भएको सुनाएका छन् ।

सुरुमा दीपक आफूले कुनै गल्ती नगरेको अडान राख्दै आएका थिए। जसको सुनुवाइ हुने भएपछि अचानक उनले बयान फेर्दै गल्ती भएको उल्लेख गरेका थिए ।

न्यायाधीश डेभिड डेका अनुसार दीपकले त्यो गल्ती गर्नुमा आफू तनावमा रहेको र केही दिनदेखि तनावकै कारण केही दिन सुत्न पनि नसकेको बताएका छन् । त्यसबाहेक उनले केही भनेका छैनन् ।

दीपकले त्यसपछि प्रहरीलाई दिएको बयानमा भने आफूले त्यतिबेला के गल्ती गरेँ भनेर केही सम्झनै नसकिरहेको बताएका छन् ।

यसरी अचानक बिना कुनै कारण श्रीमतीमाथि गरिएको आक्रमणले दीपकको पारिवारिक जीवन र उनको वृहद् परिवारलाई नै गम्भीर असर पार्ने देखिएको न्यायाधीश डेभिडले उल्लेख गरेका छन् । – एजेन्सीको सहयोगमा

प्रतिक्रिया