मतदान अधिकृतदेखि सहयोगीसम्म महिला कर्मचारी

इनेप्लिज २०७४ असार ८ गते ११:४१ मा प्रकाशित

सल्लेरी (सोलुखुम्बु), ८ असार । दोस्रो चरणको स्थानीय तह चुनावका लागि सोलुखुम्बुको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–५ सल्लेरीमा रहेको जनजागृति मावि सल्लेरी (क) केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म सबै महिला कर्मचारी खटाइएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनस्थल महिलामैत्री र नमुना केन्द्रका रूपमा पहिचान बनाउन महिलाकै नेतृत्वमा निर्वाचन केन्द्र सञ्चालन गर्न लागिएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।

त्यहाँ महिला तथा बालबालिका कार्यालय सोलखुम्बुका महिला विकास अधिकृत रश्मी श्रेष्ठ मतदान अधिकृत हुनुहुन्छ । झरना राई सहायक मतदान अधिकृत, सिर्जना कार्की र सिर्जना आचार्य सहायक तथा निर्मला माझी कार्यालय सहयोगी रहनुभएको छ ।

मतदान अधिकृत श्रेष्ठले यसअघि बारा र बैतडीमा निर्वाचन गराएको अनुभव आफूसँग रहेको बताउँदै यहाँ कुनै समस्या नहुने विश्वास व्यक्त गर्नुभयो । अन्य तीन जना महिलालाई पनि स्वमम्सेवकमा पनि नियुक्त गर्ने उहाँको योजना छ ।

मतदान केन्द्रमा ५८८ जना मतदाता रहेका छन् । चुनावका लागि जिल्लामा ६६६ जना कर्मचारी परिचालन गरिएको छ । एक नगरपालिकासहित सात गाउँपालिका रहेको यस जिल्लामा ११८ मतदानस्थल र १२० मतदान केन्द्र रहेका छन् । कुल ६१ हजार ७४६ मतदात रहेको सोलुखुम्बुमा नगरपालिका तथा गाउँपालिकाबाट गरी २५१ जना जनप्रतिनिधि चुनिने छन् ।

प्रतिक्रिया