संचार जगतमा कोशे ढुङ्गा साबित हुन सकोस् -ईनेप्लिज को यो कदम !

इनेप्लिज २०७४ असार ८ गते २३:२७ मा प्रकाशित

यही जुन २१ तारिख मा ईनेप्लिज को मुख्य पृष्‍ठमा प्रकाशित ” समुदायलाई बिशेष धन्यवाद, हाम्रा कमि कमजोरी प्रति हामी क्षमा प्रार्थी छौ – ईनेप्लिज” शीर्षकले निकै ध्यानाकर्षण गर्यो र मन पनि छोयो l

पत्रकारिता क्षेत्रमा आफुले आफ्नै गल्ती र कमि कमजोरी स्वीकार गर्दै सार्वजनिक रूपमा समुदाय सँग क्षमा मागेको कमसेकम यो कलमकारको आँखामा पहिलो पटक परेको हो l आफुले गरेको गल्ती लाई महशुस गरेर त्यसको जिम्मेवारी लिई सार्वजनिक रूप मा क्षमा माग्ने यो निडर र विद्यमान परिपाटी बदल्ने साहसी कदमका कारण ईनेप्लिज प्रति को इज्जत झनै बढ्यो l

आफु स्वयम् पनि केही समय देखी ईनेप्लिज कै सहयोगी हातका रूपमा काम गरिरहेको यो कलमकारलाई गर्व महशुस भएको छ l पत्रकारिता क्षेत्रमा उठाईएको यो कदम पत्रकारिताको मर्म गुमाउने स्थितीमा पुगेको पत्रकारिता क्षेत्रमा आशाको किरणको रूपमा देखिएको छ l

साधारणतया आफु बाट जानी नजानी गल्ती भै सकेपछि त्यसलाई सुधार्ने अनि आत्मसात गरी भविष्यमा त्यो गल्ती पुन: नदोहोर्याउने र निडर भएर आफ्नो गल्ती सच्याउने प्रवृति अनि मानसिकताको बिकास हामीमा भै सकेको छैन l आफ्नो गल्ति स्विकारेमा सानो भईन्छ, हेपिन्छ भन्ने सोच आज पनि हामी बीच विद्यमान छ l

आफुले केही कुरा जानेको छैन भनेर अरुले थाहा पाउलान कि भनि डराउने सोच हामी मा हावी छ l धेरै पत्रकार मित्रहरु बाट जानी नजानी भएका गल्ती का कारण पीडित हुने भुक्तभोगी हरु पनि कम छैनन l

कसैको चरित्र हत्या गर्ने देखी लिएर नाताबाद, कृपाबाद अनि फरियाबाद लाई अङ्गाल्दै पत्रकारिता गर्नेहरु पनि नभएका होइनन् l यसो भन्नु को अर्थ राम्रा निडर स्वतन्त्र पत्रकार छैनन भन्ने पनि होइन l

नेजा (नेपाल अमेरिका पत्रकार संघ)ले गरेको पछिल्लो तथांक अनुसार अमेरिकामा करिव ४१ वटा बिधूतिय संचार माध्यम छन् l अमेरिका को नेपाली जनसंख्याको अनुपातमा हेर्ने हो भने यति का संचार माध्यम को सायद हामीलाई जरुरत छैन होला l

यी संचार माध्यमका लागि सबैले यहाँ सबै ठाउँमा पुगेर समाचार लेख्न सक्दैनन l र सक्ने अवस्था पनि छैन l साथी भाई र नातेदार ले भनेकै भरमा एउटा कोठामा बसेर समाचार लेख्ने कोठे पत्रकार पनि यहाँ नभएका होइनन l

आजकल त झनै कसै सँग रिस उठ्ना साथै “पत्रीका मा निकालेर तेरो बेइज्जत गरिदिन्छु ” भन्ने हरु पनि भेटिन्छन् l पत्रकारिता जस्तो पवित्र पेशा लाई धमिल्याउने दलालहरुको पनि यहाँ कमि छैन l

बिधूतिय संचार माध्यम चलाउन सामाग्री नपुग्ने हुँदा कतिले अरुको सामाग्री लाई कपि पेस्ट गर्छन् भने कतिले त त्यसलाई अलिकती परिमार्जन गरेर समाचार बनाउँदछन् l

पत्रकारिता पेशा पनि अरुको झोला बोक्न र चाकडी गर्न बाट अछुतो छैन l बिधूतिय पत्रीकामा त झनै कुनै बिषयमा समाचार या लेख निकालेपछी त्यसपछि आउने दबाब कै कारण भोली पल्टै त्यो समाचार या लेखलाई हटाउने चलन पनि विद्यमान छ l

पत्रकारिता को मर्म नबुझेका केही यस्ता कायर ,अब्यबहारिक र पैसामा बिक्ने पत्रकारहरुका कारण पत्रकारिता क्षेत्र पनि बदनाम भैरहेको छ l यस्मा कसैको दुईमत छैन l यो ध्रुव सत्य हो l

सबैले बुझ्नै पर्ने कुरा के हो भने हामी पत्रकारहरुले यो पेशाको मर्म लाई बुझेर आफ्नो मर्यादा र नैतीकतालाई आत्मसात नगरि पत्रकारिता गर्यौ भने एक दिन हामीलाई पनि आफु पत्रकार हुँ भन्न पनि लाज लाग्ने अवस्था सृजना नहोला भन्न सकिन्न l

यो पवित्र पेशा हो l यसलाई हामी सवै मिलेर मर्यादित र गर्व गर्ने पेशा बनाउनु पर्छ l यो हामी सबैको जिम्मेवारि हो l यसो गरेमा हाम्रो पेशा पनि पवित्र रहन्छ अनि हामीले हाम्रो समुदायलाई सहि र निस्पक्ष रूपले सु-सुचित गर्दै सेवा पनि पुर्याउन सक्छौ l

यसमा हामी सवैले सजग रहन आवश्यक छ l यति मात्र होइन ,तथानाम समाचार लेख्ने अनि खन्डन गर्नु परेमा भने पत्रिकाको पछाडि कुनामा खन्डन छाप्ने परिपाटी पनि बदल्नु पर्छ l

आफुले गरेको गल्ति लाई खुला स्वीकार गर्न सक्ने उदाहरण बन्न सक्नु पर्छ l आफ्ना गलत समाचारका कारण पिडित भएकाहरु संग पनि सार्वजनिक माफी माग्ने साहस राख्नु पर्छ ,त्यस्तो परिपाटी बसाउन सक्नु पर्छ l

माथि उल्लेखित गलत संस्कार विद्यमान रहेको पत्रकारिता क्षेत्रमा आफ्नो मुख्य पृष्‍ठ मा नै आफ्नो मात्र नभई इनेप्लिज तथा रेडियो जिन्दगी को सयुक्त आयोजनामा गरिएको कार्यक्रमको सम्पूर्ण भएका गल्तीहरुलाई आफ्नो गल्ति आफैले स्वीकार गर्दै भनेर सम्पूर्ण जिम्मेबारी आफुले लिदै सार्वजनिक रूपमा आफ्ना कमि कमजोरी प्रति क्षमा माग्दै प्रकाशित ईनेप्लिज को यो कदम लाई यो कलमकार को सलाम !

गल्ति चाहे जसले गरोस भएका गल्तिको जिम्मेबारी आफुले लिएर ईनेप्लिज ले एक उदाहरणीय कार्य गरेको छ l यो कदमलाई पत्रकारिता क्षेत्र ले मात्र हैन नेतृत्व गर्ने सवै लगायत हाम्रा देशका नेताहरुले समेत अबलम्बन गर्न जरुरि छ l यसलाई कार्यन्वयन गर्न सके परिवर्तन निश्चित छ l

ईनेप्लिज ले चालेको यो कदम अन्य क्षेत्र लगायत पत्रकारिता क्षेत्रमा सकारात्मक परिवर्तनका लागी कोशे ढुङ्गा बन्न सकोस !

लेखिका :बिगतमा प्रो पब्लिक (जनहित संरक्षण मन्च ) सँग सम्बन्धित असल शासनका लागी भ्रष्टाचार बिरुद्धको पत्रकारिता गर्नु हुन्थ्यो भने असल शासन रेडियो कार्यक्रमका युनिट प्रमुख/रिपोर्टर/ सम्बाददाता /प्रोड्युसर पनि हुनु हुन्थ्यो l

प्रतिक्रिया