इद उल फित्रको अवसरमा एमाले अध्यक्षको शुभकामना

इनेप्लिज २०७४ असार १२ गते ७:४२ मा प्रकाशित

काठमाडौँ, ११ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्रको अवसरमा नेपाल र नेपाल बाहिर रहनुभएका सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी दाजुभाइमा शुभकामना दिँदै सामाजिक सहिष्णुता, जिम्मेवारीबोध र राष्ट्रिय एकता आजको आवश्यकता भएकोमा जोड दिनुभएको छ ।

‘हाम्रो मुलुक विविध भाषा, संस्कृति, धर्म, समुदाय र भूगोल जस्ता कुराहरुले विश्वमै विशिष्ट अवस्थामा छ । सदिऔँदेखि यी विशेषतायुक्त जनताको एकतालाई खल्बल्याउन विभिन्न कोणबाट भइरहेका प्रयत्नप्रति हामी सबै विशेष संवेदनशील हुन आवश्यक छ,’ उहाँले भन्नुभएको छ ।

अध्यक्ष ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो सामाजिक सहिष्णुता, मित्रता र सहकार्यले नै हाम्रो मुलुकलाई सबैको साझा फूलबारी बनाएको छ । यस विशिष्टतालाई अझ उन्नत बनाउन इस्लाम धर्मावलम्बीहरुको ईदका अवसरमा आपसमा बाँडिने शुभकामना आदान प्रदानले भूमिका निर्वाह गर्ने मैले अपेक्षा गरेको छु ।’ रासस
––––––

प्रतिक्रिया