‘आशाका रङहरु’ विमोचित

इनेप्लिज २०७४ असार २५ गते ८:२९ मा प्रकाशित

९ जुलाई, काठमाण्डौं
समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित कवि आशा लिम्बूको कवितासङ्ग्रह ‘आशाका रङहरू’ र प्रतिष्ठानको जर्नल ‘प्रवासन’को भव्य समारोहका बीच गत शुक्रबार काठमाडौँमा विमोचन भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा दुबैको विमोचन भएको हो ।


कार्यक्रममा प्रमुख अतिथि वैरागी काइँलाले आशा लिम्बूको कवितासङ्ग्रह प्रकाशित भएपछि नेपाली साहित्यमा थप नारी प्रतिभाको उदय भएको कुरा बताउनुभयो । लिम्बू समुदायकी नारीको यस्तो महनीय कार्यमाथि खुलेर प्रशंसा पनि गर्नुभयो । त्यसैगरी उहाँले बेलायतबाट प्रकाशित जर्नल प्रवासनको ऐतिहासिक महत्व हने कुरा बताउनुभयो ।

कार्यक्रममा समकालीन साहित्य प्रतिष्ठानबारे प्रकाश पार्दै प्रा.डा. खगेन्द्र लुइटेलले बेल्जियमबाट प्रारम्भ गरिएको समकालीन साहित्य डट कम नै हाल बेलायतबाट प्रतिष्ठानका रूपमा परिणत भएको बताउनुभयो । त्यसै गरी उहाँले आशाका रङ्हरूको प्रकाशन लागि कविलाई हार्दिक धन्यवाद दिनुभयो । समकालीन प्रतिष्ठानले विगत ११ वर्षदेखि अन लाइनमार्फत नेपाली साहित्यको सेवा गर्दै आएको र त्यसै क्रममा पुस्तक तथा जर्नल प्रकाशन प्रारम्भ गरेको कुरा जानकारी दिनुभयो । डायास्पोरिक साहित्यदेखि समकालीन युगीन सन्दर्भलाई समेत वेब पत्रिकामार्फत प्रस्तुत गरिँदै आएकाले यसका रचनात्मक क्रियाकलापहरूको खुलेर प्रशंसा गर्नुभयो ।

समालोचक डा. लेखप्रसाद निरौलाले आशाका रङहरूभित्र जन्मभूमिको महक र आशावादी जीवन दर्शन रहेको कुरा बताउनु भयो । सङ्घर्ष, निराशा, पीडा आदि कुराबाट विचलित हुनुहुँदैन भन्ने मान्यता पनि आशाका कवितामा पाइएको विचार प्रस्तुत गर्नुभयो । अर्का वक्त डा. लक्ष्मणप्रसाद गौतमले प्रवासनबारे प्रकाश पार्दै बेलायतबाटै ISSN नं लिएर प्रकाशित यो पत्रिका वास्तवमै अनुसन्धानमूलक जर्नलका रूपमा रहेको र यसका सल्लाहकार र सम्पादकहरू पनि विशिष्ट रहेको कुरा बताउनुभयो । मधुपर्क मासिकका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपालमा कविता लेखन उर्वर भए रहेको बताउँदै गुणात्मक लेखनमा ध्यान दिनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया