सोमबार, साउन ९ २०७४ | Mon, July 24, 2017
नेपालको समय: १४:२४ | Washington DC: 04:39

बिपी राजमार्गमा रातिको समयमा आवतजावतमा रोक

काठमाडाँै १ साउन । यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ ।

विभागमा आज विभागका पदाधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच बसेको बैठकले भोलिदेखि रात्रिकालीन समयमा राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।

विभागका प्रवक्ता डा टोकराज पाण्डेले साँघुरो बाटोमा धेरै सवारीसाधन आवतजावत गर्दा दुर्घटना धेरै हुँदै गएको भन्दै उक्त राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो । उक्त राजमार्गमा भाडाका साना सवारीसाधन चल्दै आएका छन् ।

बैठकले काठमाडौँ उपत्यकामा अनलाइन सेवामार्फत सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को फर्म भर्ने व्यवस्थासमेत गरेको छ ।

यसैगरी, विभागले आजदेखि देशभर सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को सट्टा देशभर स्मार्ट कार्ड प्रणाली लागू गरेको छ । विसं २०७२ मंसिरदेखि वागमती अञ्चल कार्यालयमा शुरु गरेको स्मार्ट कार्ड प्रणाली आजदेखि अन्य १३ अञ्चलमा पनि लागू गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बिपी राजमार्ग साँघुरो र सडकको अवस्था राम्रो नभएकाले आफूहरुले उक्त निर्णयमा सहमति जनाएको बताउनुभयो ।

२०७४ साउन १ गते १२:५९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी