बद्री पंगेनीले भने– म पक्राउ परेको होइन्, साथीहरु समातिएपछि बुझ्न प्रहरी कार्यालय गएको हुँ

इनेप्लिज २०७४ साउन ५ गते ७:५१ मा प्रकाशित

काठमाडौं, ४ साउन । चर्चित लोकगायक बद्री पंगेनीले जुवाखालबाट पैसासहित आफू पक्राउ परेको खबरको खण्डन गरेका छन् ।

पक्राउ परेको समाचार आएपछि बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै गायक पंगेनीले मंगलबार राति आफू कुनै प्रहरी हिरासतमा नरहेको र घरमै रहेको स्पष्ट पार्दै समाचारमा आपत्ति जनाएका हुन् ।

यद्यपी जुवाखालबाट आफ्ना परिचित मित्रहरु समातिएपछि आफू त्यसबारे बुझ्न महाराजगञ्ज प्रहरी कार्यालयसम्म गएको र त्यहाँका डीएसपीले कानून बमोजिम कारवाही हुन्छ भनेपछि आफ्नो बाटो लागेको स्पष्ट पार्दै गायक पंगेनीले आफै पक्राउ परेको भनी आएका समाचारमा आपत्ति प्रकट गरेका छन् ।

यस्तो गायक पंगेनीको विज्ञप्तिः

प्रेस विज्ञप्ति
आदरणीय सञ्चारकर्मी मित्रहरु,
विभिन्न सञ्चारमाध्यममा म बद्री पंगेनी मंगलबार राति जुवा खालबाट पक्राउ परेको भनी प्रशारित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ ।
मंगलबार राति म कुनै पनि प्रहरी कार्यालयको हिरासतमा नरही आफ्नै घरमा रहेको जानकारी गराउन चाहन्छु । बरु, मंगलबार साँझ ६ बजेको आसपासमा केही परिचित मित्रहरुलाई प्रहरीले घेरा हालेको सुनेर म के रहेछ भनी बुझ्ने क्रममा महाराजगञ्ज प्रहरी कार्यालयसम्म गएको हुँ । उहाँहरु तास खलिरहेको अवस्थामा समातिनुभएको जानकारी पाएँ । त्यहाँका डिएसपीले कानुन बमोजिम कारवाही हुन्छ भनेपछि म आफ्नो बाटो लागेको हुँ । तर, जसरी आफैँ पक्राउ परेको भनी मेरो मान मर्दन हुने गरी समाचार आएका छन्, यसप्रति म घोर आपत्ति प्रकट गर्दछु । साथै, म बारे कुनै भ्रम नराख्नुहुन समस्त शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछु ।

बद्री पंगेनी
कलाकार
मिति– २०७४।४।४

प्रतिक्रिया