सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: ०३:०५ | Washington DC: 16:20

नेयमार विश्वकै महँगो फुटबल खेलाडी, मेस्सी र स्वारेजसँगको सहकार्य टुट्यो

काठमाडौं, २० साउन । ब्राजिली फुटबल नायक नेयमार अहिलेसम्मको इतिहासमा सबभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोमा सर्ने महँगा खेलाडी बनेका छन् ।

नेयमारले फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी)सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार संझौता गरेका छन् जुन यसअघिको भन्दा दोब्बर बढी हो ।

नेयमारले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाउनेछन् । नेयमारले भने- ‘म युरोपको सबभन्दा महत्वाकांक्षी क्लबमध्ये एकको सदस्य बनेको छु ।’

चुनौतीका लागि तयार

उनले भने, ‘म चुनौती भोग्न तयार रहेको महशुस गरेको छु। मेरा नयाँ समूहका साथीहरुलाई सहयोग गर्न म आजदेखि हर कुरा गर्नेछु ।’

पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो तर नेयमार सहभागी फुटबल क्लब बार्सेलोनाबाट पराजित भएको थियो ।

हप्तौंदेखिको अनुमानपछि नेयमार बुधार बार्सेलोनामा अभ्यासका लागि पुगेका थिए र स्पेनको बार्सेलोना क्लबलाई अब आफूले छोड्ने बताएका थिए ।

त्यसपछि बार्सा व्यवस्थापक अर्नेष्टो भ्याभेर्डेले उनको ‘भविष्य रोज्न’ भन्दै अनुमति दिएका थिए । तर उनले बार्सेलोना क्लब छोड्दा तिर्नुपर्ने रकमबारे भने विवाद उत्पन्न भएको छ ।

बार्सेलोनाले पीएसजीलाई युरोपेली फुटबलको प्रशासनिक निकाय यूइएफमा निवेदन दर्ता गर्ने बताएको थियो ।

मेस्सी र स्वारेजसँगको त्रिपक्षीय सहकार्य टुट्यो

नेयमार बार्सेलोनाबाट बाहिरिएपछि अर्जेन्टिनाका क्याप्टेन लायोनेल मेस्सी र उरुग्वेका लुइ स्वारेजबीचको त्रिपक्षीय सहकार्य टुट्ने भएको छ ।

बुधबार मेस्सीले इन्स्टाग्राममा लेखे- ‘यतिका वर्ष तिमीसँग खेल्न पाउँदा खुब मजा आयो साथी नेयमार । तिम्रो जीवनको नयाँ चरणका लागि शुभकामना ।’

त्यसको जवाफमा नेयमारले लेखे- ‘धन्यबाद भाइ म तिमीलाई सम्झिरहनेछु ।’

विश्लेषकहरु भन्छन्- यो संझौताको सफलता क्लब खेलको सबभन्दा ठूलो ट्रफी हात पार्नुमा निर्भर हुनेछ । – बीबीसी

२०७४ साउन २० गते ८:१८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी