सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: ०३:१३ | Washington DC: 16:28

बिमस्टेक सार्कको विकल्प होइन :परराष्ट्रमन्त्री महरा

काठमाडौँ, २७ साउन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संघ र प्रदेशको निर्वाचन सम्पन्न भएलगत्तै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नेपालमा आयोजना गरिने बताउनुभएको छ ।

दक्षिण तथा दक्षिणपूर्वी एसियाका सात मुलुक सदस्य रहेको बिमस्टेकको अध्यक्षका नाताले नेपालले आयोजना गर्नुपर्ने सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको चौथो शिखर सम्मेलन चुनावलगत्तै सदस्य राष्ट्रसँग परामर्श गरेर सम्मेलनको मिति निर्धारण गरिने उहाँले जानकारी दिनुभयो ।

बिमस्टेकको १५ औँ मन्त्रिस्तरीय बैठक आज यहाँ सम्पन्न भएपछि पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बिमस्टेकको विकल्प नभएको स्पष्ट गर्दै सार्कको १९ औँ शिखर सम्मेलन आयोजनाका लागि सघन कूटनीतिक प्रयास जारी रहेको बताउनुभयो ।

नेपाल सार्कको समेत अध्यक्ष भएकाले सार्क सम्मेलन आयोजनाका निम्ति नेपालले गर्नुपर्ने कूटनीतिक प्रयास सुस्त भएको पत्रकारको प्रश्नको जवाफमा उहाँले “केही प्राविधिक समस्या छन्, तिनको समाधानका लागि कूटनीतिक पहल भइरहेको छ”– भन्नुभयो । सार्क प्रक्रिया अवरुद्ध नभएको र हालै श्रीलंकामा सार्कको स्वास्थ्य र गृहमन्त्रीस्तरीय बैठक भएको स्मरण गराउनुभयो ।

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सार्क शिखर बैठक हुन सकेको छैन । काठमाडौँमा सम्पन्न १८औँ शिखर बैठकले १९ औँ सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा सन् २०१६ को नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको थियो ।

२०७४ साउन २७ गते १५:२१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी