हार स्वीकार्दै देवी ज्ञवालीले सुनाए – हार्नुका यी पाँच कारण

इनेप्लिज २०७४ साउन २७ गते २३:२५ मा प्रकाशित

– गणेश पाण्डे

काठमाडौँ, २१ साउन । अधिकांश जनताको अपेक्षा भन्दा फरक मतपरिणाम निकाल्दै भरतपुर महानगरपालिकाको निर्वाचनको महासंग्राम अन्ततः सकिएको छ ।

नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै माओवादी र काँग्रेसबाट साझा उम्मेदवार बनेकी रेणु दाहाल मेयरमा निर्वाचित भएकी छिन् । थोरै मत अन्तरले भने पनि जित्ने आशमा रहेका एमालेका देवी मतपरिणामपछि आफै आश्चर्यमा परेका छन् ।

भरतपुरबासीले न्याय दिने आशमा बसेका उनी अझै आत्तिएका भने छैनन् । चुनावको हार स्वीकार्दै देवीले शनिबार साँझ टेलिफोनमा दैनिक नेपालसँग भने– ‘जनतालाई आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न खोज्दा अनेक जालझेल, षडयन्त्र र राज्यसत्ताको दुरुपयोग गरियो । मैले चुनाव हारे पनि जनताको मन जितेको छु । देश विदेशमा रहेका थुप्रै नेपालीको समर्थन र ऐक्यबद्दता पाएको छु ।’

देवी दृढ छन् –‘मैले जनताबाट जुन माया, सदभाव र समर्थन पाएको छु, सँधै उहाँहरुकै बीचमा रहेर उहाँहरुको पीरमर्का र आवाजलाई रहनेछु।’

‘आखिर किन हारियो त चुनाव ?’ दैनिक नेपालको प्रश्नमा देवीले पाँच वटा कारण बताउन चाहे ।

चुनाव हार्नुको पाँच कारण, देवीकै शब्दमा:

पहिलो,

राज्य सत्ताको चरम दुरुपयोग भयो । हामीले जितिसकेको ठाउँमा मतपत्र च्यात्ने काम भयो । त्यो षडयन्त्र तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको योजनामा बालुवाटारबाटै बनाइयो । हामी ५१ मत अन्तरले मात्रै पछाडि रहेको १९ नम्बर वडामा यसपटक चुनाव गर्दा जे परिणाम आयो, त्यतिबेला मतपत्र च्यात्नुको उद्देश्य पूरा भएको प्रष्टै देखाएको छ ।

दोस्रो,

यो षडयन्त्र कार्यान्वयन गर्नका लागि जनताको बीचमा राज्यको स्रोत साधनको व्यापक दुरुपयोग गरियो । त्यसको कुनै पनि लेखाजोखा नै छैन् ।

तेस्रो,

एमालेले देशभर चुनाव जितेका कारण पनि काँग्रेस आत्तियो । यसअघि भोट दिएका काँग्रेसका समर्थकलाई पनि यसपालि रोकियो । काँग्रेसभित्रको पनि अन्तरविरोध हटाउन निकै ठूलो मेहनत गरियो । पार्टीभित्रै असन्तुट रहेका अनि माओवादीलाई भोट दिन नचाहेका काँग्रेस समर्थक जनतालाई यसपटक अनेक गरेर भोट हाल्न लगाइयो ।

चौंथो,

चुनाव जित्नका लागि करोडौँ रुपैँया बाँडियो । चुनावको अघिल्लो दिन रेणुजीकै उपस्थितिमा भरतपुर १९ मा करोडौँ रुपैँया बाँडियो । यो कुरा मैले स्थानीय प्रशासनलाई पनि जानकारी गराएँ । तर, स्थानीय प्रहरी प्रशासनकै संरक्षणमा पैसा बाँड्ने काम भयो । हामीले जनताको लोभलालच रोक्न सकेनौँ । पुनः निर्वाचनमा निकै ठूलो रकम बाँडिएको प्रमाण हामीसँग छ ।

पाँचौं,

मलाई, मेरो परिवार र मेरा साथीभाई अनि समर्थकलाई फसाउन धेरै षडयन्त्र भयो । हाम्रो बेइज्जत गर्ने अनि जनतामा भ्रम फैलाउने काम गरियो । चुनावको दुई दिन अघि मेरो कान्छो छोरा निरबमाथि साइबर अपराधको मुद्दा लगाएर हाम्रोविरुद्ध भ्रम फैलाउने र दुःख दिने काम भयो । मलाई फसाउन नसकेपछि छोरालाई योजनाबद्ध रुपमा फसाइयो ।

प्रचण्डको टाउकोमा अर्कैको टाउको जोडेर साइबर अपराध गर्नेहरुलाई खोजबिन गरिएन । यो भन्दा देशमा धेरै ठूला अपराधका घटना भएका छन्। तर त्यसलाई खोजबिन नगर्ने प्रहरीले मतपत्र च्यातेको विषयलाई मेरो छोराले प्रतिवाद गरेको विषयमा निरबलाई फसाउने काम गरियो । चुनाव नहुँदासम्म मुद्दा अगाडि बढाइएन, तर चुनाव हुने भएपछि मेरो छोरालाई फसाउने काम भयो ।

खैर,  चुनावले धेरै पाठ सकिएको छ । जनताको बीचमै रहने र उहाँहरुकै दुःख, सुखमा साथ दिने थप उर्जा मिलेको छ ।

प्रतिक्रिया