सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: ०३:०७ | Washington DC: 16:22

नेपालको खेलकुद विकासमा सघाउने जापानको ईच्छा

काठमाडौं, २७ साउन । जापानका राजदूत मासाही ओगाआले शुक्रबार युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीसँग वहाँकै कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो अवसरमा महामहिम राजदूतले नेपालको युवा तथा खेलकुद क्षेत्रका बारेमा चासो राख्नु भयो । भूकम्पले क्षति गरेको दशरथ रंगशाला लगायतको खेल पूर्वाधारहरुको पुनःनिर्माणको अवस्थाका बारेमा जिज्ञासा राख्नु हुँदै खेलक्षेत्रको विकासले सम्रग युवा परिचालन र राष्ट्रिय एकता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो ।

उक्त भेटघाटमा मन्त्री केसीले नेपालको विकास प्रक्रियामा मित्रराष्ट्र जापान सरकारको सहयोगको प्रशंसा गर्नुहुँदै युवा तथा खेलकुद क्षेत्रको विकासमा जापान सरकारको निरन्तर सहयोगको लागि आग्रह गर्नुभयो ।

उक्त अवसरमा मित्रराष्ट्र जापान र नेपालको बीच केहि समय अगाडी भएको मैत्रीपूर्ण खेलको स्मरण गर्दै नेपाली खेल प्रशिक्षकहरुलाई छोटो तथा लामो अवधिका खेल प्रशिक्षणहरु उपलब्ध गराइदिन आग्रह गरियो । साथै युवा तथा खेल प्रतिनिधिमण्डलको आदानप्रदान गर्ने, खेल पूर्वाधारको विकासको लागि हेलम्बु लगायतका स्थानहरुमा हाई अल्टिच्यूट टेनिङ्ग स्पोर्ट सेन्टरको विकास गर्ने लगायतका विषयहरुमा छलफल भएको थियो ।

साथै उक्त अवसरमा मन्त्री केसीले आगामी तेह्रौं सागको तयारीको बारेमा र सचिव मेहश प्रसाद दाहालले नीति, संरचना तथा मन्त्रालयले गरिरहेका क्रियाकलापहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

२०७४ साउन २७ गते २३:२७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी