एनआरएन अमेरिकाको समितिका विरुद्ध जीसीको आक्रोश: आइसीसीको निर्णयको अवज्ञा भयो

इनेप्लिज २०७४ साउन २८ गते १९:०२ मा प्रकाशित

न्यूयोर्क,अमेरिका,अगष्ट १२ । एनआरएन अमेरिकाका पूर्व अध्यक्ष एवं हाल आइसीसी सदस्य रहेका खगेन्द्र जीसीले एनसीसी अमेरिकाले हिजो गठन गरेको भनेको समितिमा आफु नरहेको जनाएका छन् । आज एक कडा विज्ञप्ति प्रकाशित गर्दै जीसीले अदालतले टुंगो लगाई सकेको विषयलाई फेरि समिति बनाई छानबीन गर्नु भनेको अदालतको निर्णयको अवहेलना हुने र अदालतले यस विषयमा षड्यन्त्र र मानहानीको कारवाही गर्न सक्ने भन्दै यस्तो विषयमा संवेदनशील हुन सबैलाई आग्रह गरेका छन् ।

एनआरएन अमेरिकाको वर्तमान कामचलाउ समितिले हिजो मात्र एनआरएन अमेरिकाको विगत र पदाधिकारीहरुको अभिलेख र दस्तावेज संकलन गर्नका लागि भन्दै जीसीसहित तीन सदस्यीय समिति गठन गरेको थियो । सोही समितिमा आफु बस्न नमिल्ने प्रष्ट पार्दै जीसीले आज आफ्नो असहमतिलाई बुँदागत रुपमा सार्वजनिक गरेका छन् । यस पहिले निर्वाचन आयोगका तर्फबाट गत मे महिनाको अन्तिमदेखि विधानत: वर्तमान एनसीसी कार्य समितिको कार्यकाल समाप्त भएको भन्दै कुनै पनि नीतिगत निर्णय नगर्न र कुनै त्यस्तो महत्वपूर्ण निर्णय गर्नुपर्ने भए निर्वाचन आयोगसंग परामर्श गरेर मात्र निर्णय गर्न ध्यानाकर्षण गराएको थियो । कार्यकाल समाप्त भैसकेको नेतृत्वले अहिले यस्तो समिति गठन गर्नु औचित्यहीन भन्दै कतिपयले सामाजिक संजालमार्फत काम चलाउ नेतृत्वको आलोचना गरेका छन् । त्यसो त यस्तो समिति गठन गर्न काम चलाउ अध्यक्ष डाक्टर केशब पौडेलले प्रस्ताव गर्दा बैठकमा नै उपाध्यक्ष रबिना थापा,कोषाध्यक्ष बेद बस्नेत र प्रवक्ता राम खरेलले असहमतिसहित नोट अफ डिसेन्ट समेत लेखेका थिए । उनीहरुको प्रस्ताव अदालत र एनआरएन आइसीसीले समेत सम्बोधन गरिसकेको विषयलाई अब कुनै समिति बनाएर अल्झाउनु नहुने र निर्वाचनका लागि वातावरण बनाउन सहजीकरण गर्नुपर्छ भन्ने थियो ।

तर अदालत र आइसीसीले समेत एनआरएन अमेरिकाको अध्यक्षका लागि मनोनयन दाखिला गरेका गौरी जोशीको उम्मेदवारी बारेको अन्यौल र विवादलाई समाधान गरिसकेपछि पनि डाक्टर केशव पौडेल जोशीलाई अध्यक्षको उम्मेदवार बन्न नदिन अनेक तानाबाना र षड्यन्त्रमा लागेका छन् । वर्तमान काम चलाउ कार्य समितिका एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै भने,-‘हाम्रा अध्यक्ष पौडेल अब आइसीसीको निर्णय र अदालतलाई समेत नटेर्ने गरी गौरी जोशीलाई रिङ्ग आउट नै गर्नुपर्छ भनेर लागेका छन्,जसले गर्दा एनआरएन अमेरिका अहिले तहसनहस भएको छ भने पौडेलको कारण निर्वाचन समेत अन्यौलमा परेको छ ।’ उनका अनुसार पौडेल अहिले चुनाव नै नहोस् भन्नेमा लागेका छन् । ‘देखावटी रुपमा चुनाव हुनुपर्छ,सबैलाई समेट्नु पर्छ भन्ने तर भित्रभित्र अदालत र आइसीसीको आदेश र निर्णय समेत नमान्ने गरी अध्यक्ष पौडेल केही झुण्डको उक्साहटमा छन् । अहिले त्यही झुण्डको उक्साहटमा चुनावलाई प्रत्यक्ष असर पार्ने गरी समिति गठनको नौटंकी गरिएको छ,जुन अनुशासन र आइसीसी मर्यादा विपरित छ’ ती सदस्यले भने ।

के भन्छन् जीसी ?

आइसीसी सदस्य एवं कानुन व्यवसायी खगेन्द्र जीसी निर्वाचनका लागि सबै जना अग्रसर हुनुपर्ने बेला अदालतको समेत अवहेलना हुने गरी यस्तो समिति बनाउनु आवश्यक नरहेको बताउनु हुन्छ । आज जारी विज्ञप्तिमा जीसी भन्नुहुन्छ,-‘ आइसीसी सदस्यको नाताले आइसीसीको निर्णय नमान्ने र अदालतको आदेशको अवहेलना हुने कुनै पनि विषयमा मेरो सहमति हुन सक्दैन ।’ जीसीले भनेका छन्,-‘सम्मानित कानुनी र संस्थाको सर्वोच्च निकायले समेत यस विषयलाई टुंगो लगाई सकेको अवस्थामा अब फेरि त्यही विषयका बारे छलफल र विवाद गरी राख्नु अदालतको आदेशको अवहेलना गरेको ठहरिन्छ । अदालतको आदेशको अवहेलना गर्नु भनेको षड्यन्त्र गर्नु भन्ने अर्थ लाग्छ । ज-जसले यसरी षडयन्त्र गर्छन् र अदालती आदेशको मानहानी र अवहेलना गरेको ठहर हुन्छ उनीहरु सबै कारवाहीको भागीदार हुन्छन् । तसर्थ अदालतले गरेको निर्णयलाई कार्यान्वयन नगर्ने भन्ने विषयमा षड्यन्त्र गरेको ठहरिने सक्ने र मानहानीको कारवाही हुनसक्ने हुनाले यस्तो समितिमा बसेर काम गर्नु मेरो लागि स्वीकार्य छैन ।

अहिले कुनै पनि नाममा समिति गठन गरी समाधान भैसकेको विषयलाई विवादमा ल्याउनु भनेको आसन्न चुनावी प्रक्रियाको जटिल समयमा मेरो लागि एनआरएन आइसीसीले गरेको निर्णयको सम्मान नगर्नु,अदालतको निर्णयको सम्मान नगर्नु र नेतृत्वका आकांक्षी सबै उम्मेदवारको समेत सम्मान नगर्नु हो । जुन म एनआरएन सदस्य र कानुन व्यवसायीको रुपमा कल्पना समेत गर्न सक्दिन ।’
जीसीले आज जारी गरेको विज्ञप्ति जस्ताको तस्तै:

अगष्ट १२, २०१७
प्रेस विज्ञप्ति

एनआरएन एनसीसी अमेरिकाले आसन्न निर्वाचनको समयमा गठन गरेको तीन सदस्यीय समितिमा मलाई राखिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । अहिले हामी एनआरएन एनसीसी अमेरिकाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा छौं । तपाईंहरु सबैको साथ,सहयोग र समर्थनका कारण मैले पनि यस संस्थाको निर्वाचित अध्यक्ष भएर काम गरेको थिएँ । म आज त्यही नेतृत्व निरन्तरताकै कारण एनआरएन आइसीसीको सदस्यको रुपमा आवद्ध छु भने नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली मामिला हेर्ने सल्लाहकारको रुपमा मलाई नियुक्त गरेको छ । म सधैं गैर आवासीय नेपाली समुदायको हक,हित र अधिकार स्थापनाका लागि आफ्नो तर्फबाट क्रियाशील रही आएको छु । जहाँसम्म एनआरएन अमेरिकाको विगत,आइसीसीमा संस्थागत आवद्धता र पदाधिकारीको वैधानिकताको विषय छ, यस बारे म बुँदागत रुपमा प्रष्ट पार्न चाहन्छु ।

१. एनआरएन आइसीसीले सन् २००६ जनवरी २१ देखि नै तत्कालीन नेपलिज अमेरिकाज काउन्सिल (न्याक) लाई एनआरएनको राष्ट्रिय समन्वय समितिको रुपमा विधिवत मान्यता दिई काम गरेको दस्तावेज अभिलेख आइसीसीमा सुरक्षित छ । यस बारे आइसीसीले समेत पटकपटक पत्राचार गरी जानकारी गराई सकेको छ भने एनसीसी अमेरिकाको उम्मेदवारी विवाद बारे छानबीन गर्न आइसीसीले यस पहिले नै तीन सदस्यीय समिति गठन गरेको र सोही समितिले आवश्यक प्रमाण र दस्तावेजसहित एनसीसी अमेरिकाको आइसीसीसंगको आवद्धता र आसन्न निर्वाचनका लागि उम्मेद्वारी दिएका अध्यक्षका प्रत्यासी गौरीराज जोशीको योग्यता र बैधानिकता सम्बन्धी विवाद समाधान गरिसकेको छ । आइसीसी कार्यकारी सचिवालयले यस बारे अमेरिका क्षेत्रका संयोजक मार्फत निर्वाचन आयोगलाई २४ घण्टाभित्र सोही अनुसार कार्यान्वयन गर्नु गराउनु भनि पत्राचार समेत गरेर यो विवादको टुंगो लगाई सकेको छ ।

२. एनआरएन एनसीसीको न्यायिक समिति र गत सातामात्र टेनेसी अदालतले समेत यो विषयलाई सम्बोधन गरी समाधान गरिसकेको छ । सम्मानित कानुनी र संस्थाको सर्वोच्च निकायले समेत यस विषयलाई टुंगो लगाई सकेको अवस्थामा अब फेरि त्यही विषयका बारे छलफल र विवाद गरी राख्नु अदालतको आदेशको अवहेलना गरेको ठहरिन्छ । अदालतको आदेशको अवहेलना गर्नु भनेको षड्यन्त्र गर्नु भन्ने अर्थ लाग्छ । ज-जसले यसरी षडयन्त्र गर्छन् र अदालती आदेशको मानहानी र अवहेलना गरेको ठहर हुन्छ उनीहरु सबै कारवाहीको भागीदार हुन्छन् । तसर्थ अदालतले गरेको निर्णयलाई कार्यान्वयन नगर्ने भन्ने विषयमा षड्यन्त्र गरेको ठहरिने सक्ने र मानहानीको कारवाही हुनसक्ने हुनाले यस्तो समितिमा बसेर काम गर्नु मेरो लागि स्वीकार्य छैन ।

अहिले कुनै पनि नाममा समिति गठन गरी समाधान भैसकेको विषयलाई विवादमा ल्याउनु भनेको आसन्न चुनावी प्रक्रियाको जटिल समयमा मेरो लागि एनआरएन आइसीसीले गरेको निर्णयको सम्मान नगर्नु,अदालतको निर्णयको सम्मान नगर्नु र नेतृत्वका आकांक्षी सबै उम्मेदवारको समेत सम्मान नगर्नु हो । जुन म एनआरएन सदस्य र कानुन व्यवसायीको रुपमा कल्पना समेत गर्न सक्दिन । विगतमा एनआरएन मार्फत विभिन्न तह र जिम्मेवारीमा रहेर योगदान गरेका सबै सदस्यहरुको अभिलेख राख्नु र उहाँहरुको सेवा र समयको सम्मान गर्नु आवश्यक छ । तर त्यस्तो काम अब निर्वाचनपछि आउने नेतृत्वले मात्र गर्नुपर्छ । त्यसैले हामी सबैले तत्काल निर्वाचनका लागि जोड दिनु परेको छ ।

म अदालतको निर्णय,आइसीसीको निर्देशन र एनआरएन अमेरिकाको न्यायिक समितिको राय समेतलाई सम्मान गर्दै अविलम्ब निर्वाचन घोषणा गरियोस् भन्ने आग्रह गर्दछु र कार्य समितिले गठन गरेको समितिमा रहन नसक्ने र नरहेको प्रष्ट पार्दछु ।

आउनुस् तपाईं हामी सबै तत्काल निर्वाचनका लागि अघि बढौं र सम्पूर्ण एनआरएन सदस्यको अधिकारको सुनिश्चितता गर्न लागौं ।
जय एनआरएन

खगेन्द्र जीसी,
एनआरएन आइसीसी सदस्य
न्युयोर्क,अमेरिका

 

प्रतिक्रिया