उत्पीडित कर्णालीमा परिवर्तनको आँधीको तयारी

इनेप्लिज २०७४ भदौ २ गते ८:०७ मा प्रकाशित

डोल्पाका प्रेमबहादुर बोहराको नेतृत्वमा युवाहरूले कर्णाली समाज भन्ने संस्था गठन गरेर विगत कयौ महिनादेखि काठमाडौंमा एक बृहत संस्कृतिक कार्यक्रम र मेला आयोजना गर्ने तयारीमा विभिन्न संस्था र व्यक्तित्वहरूलाई परिचालन गर्दै आएका छन । संस्कृतिकर्मी, साहित्यकार तथा संकृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले निकै लामो समयदेखि कर्णालीका लोककलाकार मानबहादुर दमाईलाई यी युवाहरूसंग संयुक्त रुपमा अघि बढ्न अग्रसर गराएपछि कर्णाली समाजको आफ्नो जरा खोज्ने अभियानले निकै गति लिएको छ ।

कर्णाली समाजले आफ्नो राष्ट्रको भाषा, संस्कृति, कला र सभ्यताकै संरक्षण, सम्बर्दन र विकास गर्ने अनि युवा पुस्तामा आफ्नो परम्परा र रीतिवाजलाई कायम राख्न झकझक्याउन तत्काल अनेक थरी नाच र सांगीतिक प्रस्तुति गर्ने तयारी गर्दैछ । उनीहरूले हुड्के, लहरे, मारुनी, मागल, स्याप्रु आदि नाचहरू तयार गर्दै छन भने देउडा, झोडा जस्ता खेल र सहनाई, पञ्चेबाजाका साथ ताण्डव नृत्य गराउन दमाहा बजाउने र धामी लगायतका दैवी नाचहरू पनि प्रस्तुत गर्ने तयारीमा छन । उक्त सांस्कृतिक प्रस्तुतिका साथ कर्णालीका अति स्वस्थकर रातो चामलको भात, तीते फापर, कोदो र देउताले मात्र खाने उवा र जौं जस्ता अन्नबाट बनेका परिकार पनि पस्किने योजना छ । कर्णालीमा उत्पादन भएका जडिबुटि जन्य बस्तुहरूको स्टल र सिस्नु जस्ता तरकारी जसले सबै रोग निको पार्ने र निको पार्न नसके रोगलाई जहाँको त्यही रोक्न सक्ने भनी भगवान धन्वन्तरीका अवतार मानिने राष्ट्रगुरु योगी नरहरिनाथले सिकाएको कला पनि मेलामा आउने आगन्तुकहरूलाई बनाउन र खान पनि सिकाइने तयारी गर्दै छन । मध्य, सुदुरपश्चिम र उत्तराखण्डका बासिन्दाहरूका लागि मन पर्ने लोक कलाकारहरूका देउडा नाच र लोकगीतहरूको सामुहिक प्रस्तुति सबैभन्दा आक्रर्षणको विषय हुने छ र आयोकहरूले कार्यक्रममा सयौ लोकगायक र कर्णाली क्षेत्रका कविहरूलाई कविता वाचन गराउने समेत तयारी गरिरहेका छन् ।

कर्णालीका युवाहरूको उत्साहलाई साँस्कृतिक संस्थान, पर्यटनवोर्ड तथा कर्णालीका सबै राजनीतिक नेता तथा संघ संस्थाहरूले साथ दिएको देखिन्छ । यस क्रममा अति दुर्गम हिमाली क्षेत्रको जनजीवन र सौन्दर्यलाई विश्वसामु पस्किने चर्चित हिमालयन ट्रेलका अभियन्ता प्रशान्त सिंह जस्ता व्यक्तित्वले पनि कर्णालीको संस्कृति , सौन्दर्य र प्राचीन गौरव पुनः स्थापित गर्ने प्रयासलाई सघाइरहेको पाइएको छ र सांस्कृतिक संस्थानले जस्तै श्री सिंहले पनि आफ्नो संस्थाका सभाकक्षहरू प्रयोग गर्ने सुविधा प्रदान गरेर कार्यक्रमलाई अघि बढाउन सघाइरहेका छन । त्यसैले कर्णाली बृहत सांस्कृतिक कार्यक्रम समाज कल्याण परिषद मातहत रहेकोे भृकुटी मण्डपको रमाइलो मेला क्षेत्रमा भए पनि तत्काल कर्णाली समाजले अन्तरक्रिया र भेटघाटका कार्यक्रमहरू हिमालयन क्लाइमेट इनिसिएटिभ र हिमाली समुदाय जलवायु मैत्री संगठनको कार्यालयलाई बनाएको पाइन्छ । साउन २४ गते मंगलबार दिउसो कर्णाली समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मैले कर्णालीको सभ्यता धर्म संस्कृति र इतिहासको बारेमा आफ्ना विचार राख्ने अवसर पाएँ । उक्त कार्यक्रममा मैले कर्णालीको त के नेपालकै इतिहास र संस्कृतिलार्ई भताभुंग पार्ने काम औपनिवेशिक शक्तिहरूले एकोहोरो गरिरहेको र हाम्र्रो शिक्षा पद्धति नै बाह्यशक्तिहरूले नियन्त्रण गरेको र यो स्थिति इ.सं. १८३५ बाट सुरु भएको बताएँ । ४ वर्ष दक्षिण एसिया घुमेर लर्ड मकाउलीले बेलायतको भारदारहरूको सभामा एसियामा उपनिवेशवाद कायम गर्नका लागि यहाँको सभ्यता, संस्कृति र जीवन पद्धति नै बदल्नु पर्ने योजना बनाएको र त्यसै अनुसार उनले आफ्ना साथमा म्याक्स मूलर लगाएतका व्यक्तिहरू ल्याएर हाम्रो समग्र सोच र समाजलाई तहसनहस पारेको कुरा औल्याएँ र पश्चिमाहरूको त्यस्तो वैचारिक आक्रमण अहिले तीब्र गतिमा बढेको अथवा हाम्रो समाज धर्म युद्धको सिकार बनाइएको बिचार प्रस्तुत गरे । मैले कर्णालीबारे चिन्तन गर्नु भनेको योगी नरहरिनाथको मार्ग अवलम्बन गर्नु हो र त्यसको अर्थ नेपालको स्वाधीनतासँग जोडिएको छ भने ।

१९४७ मा गान्धी, नेहरु र राहुल सांकृत्यायनले मन्सुरीको एक होटेलमा ३ दिन बसेर हिमालय दक्षिण कुनै काल्पनिक राज्यको इतिहास बनाउन गरेको जालसाजी अन्तर्गत भरत खण्डे……… भारतवर्षेको नक्कली इतिहासमात्र खडा नगरी राहुलले जंगबहादुरको मुलुकी ऐन दिल्लीका शासक अकबरको आइने अकबरीको भाषाको नक्कल भएकोले नेपाल दिल्ली मातहत रहेको फटाहीलाई योगी नरहरिनाथले जुम्लामा प्राप्त मल्ल र शाही राजाहरूका सनत र अन्य लिखतहरूका भाषाका आधारमा नेपाल विश्वमा संधै स्वाधीन र स्वतन्त्र देश भएको प्रमाणित गर्नु भयो । त्यसैले जुम्ला वा कर्णालीको बारेमा जान्नुको अर्थ राष्ट्रको स्वाधीनताको मर्म जान्नु हो भन्दै कर्णाली समाजका युवाहरूको प्रयासको जति प्रसंशा गरे पनि कमै हुन्छ भने । जर्मन बाबु र मंगोलियन आमाबाट जन्मेकी अमेरिकी युवति जुली स्टेवार्डले जान्ने भएपछि उनी अमेरिका छोडेर मंगोलिया पुगिन र उनले आफ्नी आमाको कुलायन मष्टो देवता (खोरमुष्टा टेग्री) माथि गहन अध्ययन सुरु गरिन । उनले द सर्कल अफ टेंगेरिज्म भन्ने संस्था बनाएर मंगोलियामा प्रचलित मष्टो परम्परालाई पनःस्थापित गर्न आन्दोलन चलाइन र उनले आफ्नो नामै बदलेर सारान्जेरेल ओडिगोन राखिन । यी कर्णालीमा उत्पत्ति भएका मष्टो देवताको भक्त सन् २००६ सम्म बाँचेकी थिइन । यसरी आफ्नो पैतृक धर्म, संस्कृति र इतिहास खोज्ने काम विश्वव्यापी रुपमा भैरहेको छ । कति विद्वानहरू नेपाल आएका पनि छन । हंगेरीका एलेक्जाण्डर चुमा द कोरोस भन्ने मग्यार जातिका विद्वान पनि नेपालमा पुख्र्यौली खोज्दै आएर गोर्खाभूमि दार्जिलिङमा सँधैका लागि विश्राम गरिरहेका छन । त्यसैले पुख्र्यौली खोज्ने कामबाट पितृ ऋण र मातृभूमिको भार तिर्ने चेतनाले मान्छेलाई अन्य जनावरबाट फरक स्थानमा ल्याउँछ । इतिहासको मात्र जानकारी नभएर देवी देवताहरू, राक्षस र मान्छेहरू तथा समग्र प्रकृतिको ज्ञान प्राप्त गर्न कर्णाली पुग्नै पर्छ । ऋगवेद (नेपाल), अभेस्ता (इरान), इन्कास (दक्षिण अमेरिका), याओ (चीन), ओरिसिस (मिश्र) आदि मानव जातिका प्राचीन ७ किरण मानिने ग्रन्थहरूको बारेमा जान्नका लागि पनि कर्णाली जानै पर्छ । बंग्याइएको इतिहास, बिगारिएका मस्तिष्क र भत्काइएको बिचारलाई ठीक पार्न धेरैले प्रयत्न गरेका छन । बालगंगाधर तिलक, योगी नरहरिनाथ, अर्नष्ट रिफ्गाटोभिच मुल्दासेभ आदिले पनि मानव जातिको उत्पति नै कर्णालीमा मानेका छन । इतिहासले मात्र होइन सृष्टि मुन्धुम (प्राचीन भूगोल) ले पनि कर्णालीलाई नै केन्द्र मानेको छ । कर्णालीको शिरानमा रहेको कैलाश र त्यस मुनिको जम्बोदीप, ग्यागार, सपादलक्ष, अमरावती, हिमवतखण्ड आदि कर्णालीकै नामहरू हुन । कर्णाली नदीलाई कांग्रीकार्चाक (कैलाश पुराण) ले सिन्धु नदी मानेको छ । अहिलेको सिन्धुको नाम पहिले सीता थियो । त्यही सिन्धुबाट हिन्दु, हिन्दुस्तान, हिन्द महासागर,हिन्द चीन आदि बने । त्यही सिन्धु शब्दबाट चीन बन्यो । चीनको धर्म सिन्ताओ र जापानको सिन्तो बन्यो । त्यसैलाई पश्चिमाहरूले इण्डुज वा इण्डस भने जसबाट इण्डिया, इण्डोनेसिया, रेड इण्डियन आदि बनेको विद्वानहरूको मत छ । कालान्तरमा कर्णाली नदीलाई सूर्य वा सर्जु नदी भनियो । त्यसैबाट मनुको सूर्य वंश र विश्वमा सूर्य पुजक जातिको विस्तार भएको देखिन्छ । हिन्दुस्तानमा कर्णालीलाई ऋग्वेदमा उल्लेखित घागरा र सर्जु दुबै नामले पुकारिन्छ । ब्रह्माण्डमा राज्य गर्ने महादेवको राजधानी कालिकोटको कर्णाली किनारको रास्कोटको मौलाकोटमा छ र त्यसैबाट ईन्द्रले केही समय स्वर्ग मत्र्य पातालमाथि राज्य गरे । पछि उनले पृथ्वीको राज्य आफ्नो छोरा मष्टोलाई दिए । मष्टोले सप्तद्वीपका अधिपति मनुलाई पृथ्वीको राज्य दिए । मनुले कर्णाली र तिलाको त्रिवेणीमा बसेर संसारको पहिलो संविधान मनुस्मृति जारी गरे । वेद लगाएतका आदि ग्रन्थ कर्णाली मै रचना भएका हुन । त्यसैले नेपालीहरूले कुलायन मान्ने मष्टो देवता वेदका रक्षक हुन र हिन्दुहरूका आराध्यदेव शिवले देवता र पितृलाई मष्टो मार्फत भाग दिनु पर्छ अन्यथा तिनीहरूले प्राप्त गर्न सक्दैनन भन्ने विधान छ ।

कर्णाली समाजले २४ गते जस्तै फेरि २८ गते वृहत भेला गरायो जसमा नेपाल सरकारका उर्जा मन्त्री महेन्द्रबहादुर शाही मुख्य अतिथी र विशेष वक्तामा योजना आयोगका सदस्य चन्द्रकान्त पौडेल थिए । कृषिविकास बैंकका अध्यक्ष क्षेत्रबहादुर सेजुवाल, माओवादी केन्द्रका पोलिट व्युरो सदस्य नरेश भण्डारी, सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा, डा. कलबहादुर रोकाया, कलाकार मानबहादुर परियार, महिला नेतृ भीमा के.सी., माओवादी केन्द्रका के.स., प्रकाश रोकाया, पर्यटन व्यवसायी ललितजंग महत, एमाले युवा नेता कमल खत्री, पाइलट रेनु कठायत, विद्यार्थी नेताहरू प्रेमबहादुर बोहरा, उपेन्द्रजंग शाही, धर्मेन्द्र के.सी. आदिले कार्यक्रम जसरी पनि सफल पार्ने वचनवद्धता दोहो¥याए र कर्णाली समाजलाई सघाउन विशेष व्यक्तिहरूको नेतृत्वमा एक सल्लाहकार समितिको प्रस्ताव गरे । सभामा मैले २०२७ सालमा ४७ वर्षअघि योगी नरहरिनाथले रारामा कर्णालीका धामी, पूजारी, लोकगायक, सामाजिक अगुवा, कविकलाकार सबै राखेर रारा विराट साहित्य सम्मेलन गर्न सबै कर्णालीका नेताहरू तथा युवाहरूलाई समावेश गरेर कर्णालीको इतिहास र संस्कृतिलाई स्थापित गर्ने योजना बनाएको त्यतिवेला कार्यक्रममा सरकारको सहयोग लिन पुगेको प्रतिनिधि मण्डलले महाराज महेन्द्रलाई भेटनु अघि महारानी रत्नलाई दुर्भाग्यवश गोली लागेकोले सो कार्यक्रम स्थगित भएको तर अहिले कर्णालीका युवाहरूको अगुवाईमा सबै कर्णालीवासीको सहयोगमा कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । कर्णाली जस्ता उत्पीडित क्षेत्रमा आएको यो जागरणलाई सबैले सघाएमा उत्साही युवाहरूले परिवर्तनको आँधि उत्पन्न गरेर जड बनाइएको समाजलाई रुपान्तर गर्न सफल हुने छन भन्ने मैले विश्वास गरेको छु

प्रतिक्रिया