“बाबा”

इनेप्लिज २०७४ भदौ ५ गते १४:३२ मा प्रकाशित

लेखेनन् कहिले कसैले कविता बाबाको
गाउन चाहेनन गीत कुनै कसैले बाबाको
जो आकाश झैं व्यापक छ
जो ब्रम्हाण्ड झैं विशाल छ |

आमा धरती हुन् भने सबैले
आमा सहनशील छन भने सबैले
सन्तानको दुखमा आमा रोएको देखे सबैले
आमाकै कथा र गुनगान लेखे सबैले
तर, बावाको शीतल छाहारी देखेनन् कसैले
बाबाको धैर्यता र सुरक्षा लेखेनन् कसैले |

दुखमा आँशु देखियो आमाको त्यसैको मूल्य देख्यो संसारले
नौ महिना गर्भमा भोगेको पीडामात्र महशुस गर्यो संसारले
बाबाको पनि मन हो सन्तानको पीडामा उ पनि रुन्छ
फरक यत्ति हो आमाले वेदना देखाउँछिन, बाबा देखाउदैनन

हो आमाको ममता गहिरो छ,
तर बावाको कर्तव्य विशाल छ
सन्तानको उन्नतिमा बावाको हृदय
कति छट्पटिन्छ त्यो सबले बुझ्नु पर्छ
त्यसैले म भन्छु,
आमा धर्ति हुन्, बाबा आकाश
आमा उज्यालो हुन्, बाबा प्रकाश
गीत गाउनु पर्छ दुवैको
कथा लेखिनु पर्छ दुवैको
सन्तानको उन्नतिमा कुनै एक बिना सम्भव छैन
त्यसैले दुवैको आदर गरौँ |

राजा घले
हाल एटलान्टा ,अमेरिका

प्रतिक्रिया