नेकपा एमाले र राप्रपाको सरकार बन्यो भने भारतले शंका गर्छ : अशोक मेहेता

इनेप्लिज २०७४ भदौ १० गते ११:०५ मा प्रकाशित

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर भारत भ्रमणमा छन् । यसै सन्दर्भमा नेपाल भारतबिचको सम्बन्धका बारेमा भारतका पूर्व मेजर जनरल अशोक मेहेतासँग ऋषि धमलाले कुराकानी गर्नुभएको छ । नेपाल–भारत सम्बन्धबारे जानकार मानिने मेहेतासँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण कस्तो रह्यो ?
नेपालका प्रधानमन्त्री सबैको भारत भ्रमण सफल हुन्छ । भ्रमणको तयारी र नतिजा राम्रो छ । आठवटा सम्झौता भएको छ । यसलाई सफल मान्न सकिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाबिचमा भएको वार्तालापमा दुवै प्रधानमन्त्रीले आ–आफ्नो कुरा राखे । तर त्यो कुरा भने हामीलाई थाहा हुँदैन ।

दुई प्रधानमन्त्रीबिचमा केके कुरा भयो होला ? केही अनुमान गर्न सकिन्छ ?
भारतले नेपालका प्रधानमन्त्रीसँग कुरा गर्दा भारतको सुरक्षाको विषयका जोड दिने गर्दछन् । चिन र पाकिस्तानबाट भारतलाई हुने असुरक्षाको विषयमा नेपालसँग कुरा गर्नु महत्वपूर्ण हुने भएकाले त्यस विषयमा कुरा हुनु जरुरी देखिन्छ । अर्को महत्वपूर्ण कुरा भनेको मधेशी जनताको हक अधिकारको विषय हो । यो विषयमा पनि कुरा भयो होला । संविधान संशोधन, जुन अहिले हुन सकेन । यसका विषयमा पनि कुरा भयो होला । त्यसैगरी नेपालमा भूकम्पपछिको पुनः निर्माणका विषयमा कुरा भयो होला । त्यसैगरी नेपाल–भारतबिचको सिमा विवाद, कालापानी, लिपुलेक लगायतको विषयमा कुरा भयो होला । यद्यपी संयुक्त पत्रकार सम्मेलन र विज्ञप्तीमा ति कुरा समेटिएन ।

नेपाल–भारतबिचको सुरक्षा सम्बन्ध कस्तो छ ?
नेपाल र भारतको सेनाबिचमा घनिष्ठ सम्बन्ध छ । नेपालको आर्मी चिफलाई भारतको जस्तो मानिन्छ र भारतको आर्मी चिफलाई नेपालको जस्तो मानिन्छ । किनकी दुवै देशलाई एक अर्काका आर्मी चिफलाई मानार्थ चिफको मान्यता दिइन्छ । यस्तो सम्बन्ध संसारभरी पाउन सकिदैन ।

भारत र चिनबिचको दोक्लम विवादमा नेपालको भूमिका कस्तो हुनुपर्छ ?
दुई देशबिचको सुरक्षामा एकअर्काबिच विश्वास हुनु जरुरी छ । दुई प्रधानमन्त्रीबिचको भेटमा यस विषयमा पक्का पनि कुरा भएको हुनुपर्छ ।

नेपालका प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री मोदीबिचको भेटवार्तालाई कसरी लिनुहुन्छ ?
दुई प्रधानमन्त्रीबिचको भेटवार्ता र समझदारीलाई कार्यान्वयन गर्नु पर्छ । तर यसको लागि समय लाग्छ । यस्ता विषयमा भारतले कार्यान्वयन नगरेको भनेर नेपालले सँधै आलोचना गरेको हुन्छ । जस्तै कोशीको बाँधले नेपालको भूभाग डुबानमा पार्छ । यसले गर्दा भारतको आलोचना बढि हुने गरेको छ । तर अहिले कसरी रोक्ने भन्ने विषयमा छलफल अघि बढेको छ । पञ्चेश्वर आयोजनाको विषयमा काम अघि बढ्ने सहमति भएको छ । त्यसैले भेटवार्तालाई सकरात्मक रुपमा लिनुपर्छ ।

भारतले नेपालमा कस्तो सरकार होस् भन्ने चाहन्छ ?
भारतले जहिले पनि नेपालमा भारतफ्रेन्ड्ली सरकार होस् भन्ने चाहन्छ । नेकपा एमाले र राप्रपाको सरकार बन्यो भने भारतले शंका गर्छ । किनकी त्यो सरकार चिनतिर नजिक हुन्छ । त्यसैले एमालेको सरकारलाई चिन निकट सरकारको रुपमा भारतले लिने गर्दछ । भारतले नेपालको हरेक विषयमा माइक्रोम्यानेज गर्न चाहन्छ । तर नेपाल सार्वभौम मुलुक भएकाले नेपालले मान्दैन ।

अब नेपाल–भारतबिचको सम्बन्ध कस्तो होला ?
भारत जहिले पनि नेपालको राजनीतिक स्थिरता चाहन्छ । संविधान जारी भएपछि विगिएको सम्बन्धलाई पुनः सुमधुर बनाउन नरेन्द्र मोदी सफल भएका छन् ।

प्रतिक्रिया