पर्यटन र कृषिमा सहयोग गर्न इच्छुक – राजदुत पार्क

इनेप्लिज २०७४ भदौ २६ गते २०:३१ मा प्रकाशित

शिशिर सिंखडा
रत्ननगर, चितवन, २६ भाद्र ।
नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिकले पर्यटन र कृषि क्षेत्रमा सहयोग गर्न आफु इच्छुक रहेको बताएका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका क्षेत्र अन्तर्गत बाढीबाट प्रभावितहरुलाई स्वास्थ्य सामाग्री एवम् सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै राजदुत पार्कले नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा रहेको सौराहा र चितवन राष्ट्रिय निकुञ्जको सम्भावना धेरै रहेको बताएका थिए । आफुले चितवनमा पर्यटन र कृषिमा सहयोग गर्न योजना बनाई अगाडि बढ्ने समेत बताए ।
नेपाल र दक्षिण कोरियाको सन् १९७४ बाट दौत्य सम्बन्ध भएको भन्दै उनले दक्षिण कोरिया सरकारले नेपालमा आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्ने बताए । दुई देश बिच गर्न सकिने विकास निर्माणलाई योजनाका साथ अगाडि बढाउन दक्षिण कोरिया सरकार पनि सकारात्मक रहेको राजदुत पार्कले बताए । नेपालको आर्थिक विकासमा दक्षिण कोरिया सधै हातेमालो गर्दै अगाडि बढ्न चाहेको र सोही अनुसार योजना बनाई सहयोग गर्ने समेत उनले बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले रत्ननगर क्षेत्रमा बाढीले पु¥याएको असर, यस नगरपालिकाको सम्भावना, भौगोलिक अवस्था र विकासको क्रमको बारेमा जानकारी गराएका थिए । मेयर वनले रत्ननगरको विकासमा दक्षिण कोरिया सरकारसँग सहकार्य गर्न चाहेको भन्दै दक्षिणको कोरियाको सीप नेपालमा प्रयोग गर्न सके नेपाल पनि आर्थिक रुपले समृद्धि हुने भएकोले सहयोगको अपेक्षा गरेका थिए । सोही कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले दक्षिण कोरिया सरकारसँग यस क्षेत्रमा टेक्निकल कलेज स्थापना गर्न अनुरोध गरेका थिए । सो कलेज स्थापना गर्न सके धेरै भन्दा धेरै नेपालीले सीप आर्जन गरी देशको आर्थिक विकास गर्न सक्ने बताए । विश्वमा नै प्रविधि र सीपमा अग्रस्थानमा रहेको दक्षिण कोरियाको आधुनिक प्रविधि नेपालमा भित्र्याउन सहयोग हुने समेत उनले अपेक्षा गरेका थिए ।

कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत् रत्ननगर क्षेत्रका १ सय बाढीपिडित घरपरिवारलाई प्राथमिक उपचारका लागि प्रयोग हुने राहत सामाग्री वितरण गरिएको थियो । छिट्टै नै यस नगरपालिकाका बाँकी १ हजार ९ सय बाढीपिडित घरधुरीलाई पनि सो प्राथमिक उपचार सामाग्री सहयोग गर्ने उनले बताए । कार्यक्रममा दक्षिण कोरियाली दुतावासका उपप्रमुख काङ युल, कोइका नेपालका प्रमुख ह्याङ क्यो किम, दुतावासका काउन्सिलर मिस म्यान, कोइकाका सहायक कन्ट्रि डाइरेक्टर विकास रावल, रत्ननगर नगरपालिकाका उपप्रमुख बिमला दवाडी, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख बासुदेव खतिवडा लगायत नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष एवम् विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया