अमेरिकाको इन्द्रजात्रामा ऐतिहासिक नाटक प्रस्तुति ,यसरी ७ औ इन्द्रजात्रा सम्पन्न

इनेप्लिज २०७४ भदौ २७ गते १:३६ मा प्रकाशित

नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले इन्द्र जात्रा (येन्या पुन्ही)मा ऐतिहासिक नाटक प्रस्तुति गर्दै इन्द्रजात्रा भव्यताको साथ सम्पन्न गरेको छ । गत सेप्टेम्बर १० तारिख मेरिल्यान्ड राज्यको ब्ल्याक हिल्स क्षेत्रीय उद्यानमा ७ औ ईन्द्रजात्रा अभूतपूर्व रुपमा सम्पन्न भएको छ l

उक्त कार्यक्रममा नेवा: समुदायको परम्परागत भोज समयबजी को साथै अष्टमातृका, गणेश, भैरव, कुमारीको नृत्य, पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए । काठमाडौँ उपत्यकाको झझल्को आउने गरी अझ थप प्रस्तुतिको साथ मनाइएको इन्द्रजात्रामा नेवा:समुदायको साथै वरपर तथा विभिन्न राज्यहरु बाट समेत आएका नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

प्रमुख अतिथि रहनु भएका राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ले दूताबासको तर्फबाट आयोजकलाई शुभकामना दिँदै नेवा: समुदाय आफ्नो संस्कृति र परम्परा जोगाउन निक्कै कटिबद्ध रहेकोमा खुशी व्यक्त गर्नु भयो l संस्थाको अध्यक्ष बबिता प्रधान श्रेष्ठले स्वागत गरेकी थिइन् l

बिशेष काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल,दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवा :समुदायहरूले मनाउने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।

सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। यो एतिहासिक नाटक सम्भवत विश्वमै पहिलो पटक अमेरिकामा गत बर्षबाट थालनी गरिएको कुरा उत्तर अमेरिकाको लागी सांस्कृतिक राजदूत (यो पदवी वर्ल्ड नेवा अर्गानाईजेशन ले प्रदान गरेको हो ) बासब राजोपाध्यायले जानकारी गराए l

ईन्द्रजात्राको नाटक एक पछि अर्को गर्दै ४ पटक प्रस्तुति गरिएको थियो l उक्त ईन्द्रजात्रा नाटकमा अभिनय गर्ने कलाकारहरु व्यवसायिक नभएता पनि उनीहरुको उत्कृष्ट प्रस्तुति रहेकोले दर्शकले कर्तल ध्वनीले कलाको सम्मान गरेका थिए l कलाकारहरू क्रमश:समिरा श्रेष्ठ – देवी रूक्मनी ,मेधावी रंजित- भगवान श्री कृष्ण ,ललिता महर्जन- वशुन्धरा देवी ,नविन मोहन रंजित- ईन्द्र महाराज ,सुशील लाल श्रेष्ठ – तान्त्रिक माली ,शिवराज जोशी – गुणकामदेव मल्ल राजा ,डा. रोशनलाल श्रेष्ठ – महान् तान्त्रिक ,शिवराज जोशी – लाखे ,बाल कलाकार द्वय अभि धौभडेल र मनु प्रधान तथा लोचनी तारा शाक्य – त्रिपुरा सुन्दरी भगवतीको रूपमा रही प्रस्तुति गरेका थिए l

राजोपाध्यायले हरेक नाटकको व्याख्या गरेका थिए भने महेन्द्र प्रधानले इन्द्रजात्राको नाटकको अंग्रेज़ी र नेपालीमा समेत रुपान्तरण गरेका थिए l यस्तै गरि अष्टमातृका नृत्यमा प्रस्तुति गर्ने कलाकारहरु मा सुनिता अमात्य , यज्ञ मान शाक्य ,जयम्बु रंजित ,दिवाकर धौडेल ,मिल श्रेष्ठ लगायत केट श्रेष्ठ कुमारी बनेकी थिइन् l

यँया: पून्हीं ( ईन्द्र जात्रा) सम्बन्धमा नेपाल भाषामा “यँ ” भनेको ईन्द्र भगवान , “यँया:” भनेको ईन्द्रजात्रा हो l द्वापरयुगमा कृष्ण भगवानले पारिजात पुष्प स्वर्गबाट ल्याएर रूक्मनीलाई दिनु भएकोले त्यो फूल पृथ्वीमा आई पुगेको कथा रहेको छ भने स्वर्गमा ईन्द्र कि आमा वशुन्धरा देवीलाई ब्रत पूजाको लागी त्यहि फूल चाहिने भएकोले ईन्द्र स्वयम् धर्तिमा त्यो फूल लिनु आउनु हुँदा काठमांडौंको मरूटोलमा तान्त्रिक माली द्वारा समातिएको चित्रण समेत उक्त नाटकमा प्रस्तुति गरिएको थियो l

यसको साथै पुलुकिसि ( ऐरावत हात्ति) ईन्द्रको वाहन ले ईन्द्रलाई खोज्न आउँदा काठमांडौको किलागलटोलमा समातिएको र ईन्द्र कि आमाले राक्षसको रूप “दागीं ” बनेर छोरो लाई लिन आउनु भएको प्रस्तुति रहेको थियो l

र मालीको सबै मागहरू पूरा गर्ने वचन दिए पछि कहिले अनिकाल नहुने, धान राम्रो फल्ने, मृतक सबैजनालाई स्वर्गवास गराउने र ईन्द्रलाई लिएर जानु हुन्छ भन्ने नाटक को माध्यम देखाइयो l यसरी ईन्द्रजात्रा शुरू भयो भनि बासब राजोपाध्यायले बताए l

उक्त इन्द्र जात्रामा जीवित कुमारी देवीको कसरि सुरुवात भयो भन्ने सम्बन्धमा मल्लकालिन राजा गुणकामदेवले आफ्ना ईष्टदेवी त्रिपुरा सुन्दरी देवी संग प्रत्यक्षरूपमै जुवा खेलिरहंदा देवी प्रति गलत आशय प्रकट हुन गएको प्रस्तुति गरिएको थियो l देवी अन्तर्धान हुनु भएको र राजाको क्षमायाचना पश्चात् अब उप्रान्त प्रत्यक्ष दर्शन नदिने तर कुमारी कन्यामा प्रवेश भएर दर्शन दिने वचन दिए पछि कुमारीको पूजा यसरि शुरू भएको भनि समेत नाटक को माध्यम बाट प्रस्तुति गरिएको थियो l कुमारीजात्रा जय प्रकाश मल्ल राजाको पालामा शुरू भएको हो l

लाखे को सुरुवात कसरी भयो र कसरी तान्त्रिकले शक्तिहीन बनाई दिएको भन्ने समेत नाटक द्वारा प्रस्तुति गरिएको थियो l नेवार किसान ज्यापू खेतमा काम गर्न जाँदा राक्षस पनि मान्छेको भेषमा काम सघाउन आउथ्यो l त्यो राक्षस लाखेको उद्देश्य त्यो किसान ज्यापूकी छोरीसंग विवाह गर्ने यसरी लाखेले मित्रता वनाएर ज्यापूको घर पुगेर उस्की छोरीसंग मायाप्रिती गास्न सफल हुन्छ । पछि त्यो राक्षस हो भन्ने थाहा पायो ।

उस्ले सबैजना लाई सास्ती दिने, बच्चाहरू समेत् खान थाल्यो । सबैजनाले प्राण रक्षाको लागी ठूलो तान्त्रिकलाई बोलाई लाखेलाई शक्तिहीन बनाई अब उप्रान्त देशको सिमानामा बसेर रक्षा गर्ने, बच्चाहरूलाई रक्षा गर्ने वाचा गराई लाखेलाई जीवन दान दिई लाखे आजु बनाएर भैरवकै रूपमा पूजा गरी जात्रा गर्ने गरिएको उक्त नाटक का परिकल्पनाकार बासब राजोपाध्यायले बताए l

कार्यक्रम संचालन पुस्कर प्रजापतिले गरेका थिए l नेवा: अर्गनाईजेसन अफ अमेरिका भाषा, संस्कृति, परम्परा एवं कलाको प्रबर्धन तथा सम्बर्धन गर्ने उद्देश्यले सन् २००१ मा डिसी महानगर क्षेत्रमा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था हो l

प्रतिक्रिया