मेयरका कान्छा उम्मेदवार भन्छन् – हजारलाई रोजगारी दिन्छु

इनेप्लिज २०७४ भदौ २७ गते १७:०१ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
रौतहटको कटहरिया नगरपालिकाका लागि नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार अजय प्रकाशले एक घर एक रोजगार योजना ल्याएका छन् । निर्वाचनको क्रममा मतदातासमक्ष एक हजार जनालाई रोजगारी दिने घोषणा गरेका छन् । उद्योगपति परिवारबाट प्रतिनिधित्व गर्ने उमेदवार अजय प्रकाशले ओम ब्रुअरी र बैजुनाथ चिनी उद्योगमा नगरका एक हजार युवालाई रोजगार दिने बताएका छन् । अहिले ज्योति डिस्टिलरी र बाबा डिस्टिलरीमा गरी साढे दुई सय जनाले रोजगारी पाएकोमा मंसिरदेखि सञ्चालनमा आउने बैजुनाथ चिनी उद्योगमा आठ सयजनालाई रोजगारी दिने बताएका छन् । यसै गरी दुई महिनामै सञ्चालनमा आउने अर्को उद्योग ओम बु्रुअरीमा पनि कम्तीमा दुई सय जनलाई रोजगारी दिने बताएका छन् ।

उम्मेदवार अजय प्रकाशका पिता ओमप्रकाश जयसवालले सञ्चालनमा आउने लागेको दुई वटा उद्योगमा एक हजार जना चाहिने भएकोले योग्यता तथा क्षमताअनुसार रोजगारी दिने योजना रहेको बताएका छन् । पारिवारिक सल्लाह अनुसार नै एक घर एक रोजगारी योजना अगाडि सारिएको बताएका छन् । अजय प्रकाश चुनाव जिते पनि वा हारे पनि प्रतिबद्धता अनुसार नगर पालिकाका एक हजार युवालाई रोजगारी दिने स्पष्ट पारेका छन् ।युवा समुदायको प्रतिनिधित्व गर्दै २४ वर्षीय युवा उद्यमी अजय प्रकाशप्रति युवाको आकर्षण बढेको छ । एक घर एक रोजगारीको नाराले युवाहरु झनै आकर्षित भएको स्थानीय प्रकाश श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया