न्यासभिल नेपलीज एसोसिएसन यूसयए द्वारा ४ कोठे भवन निर्माण सहयोग

इनेप्लिज २०७४ भदौ २८ गते २:४९ मा प्रकाशित

तनहुँ जिल्लाको भानु न.पा.–२ भकुन्थोक स्थित श्री विश्व ज्योति प्राथमिक विद्यालयका लागि न्यासभिल नेपलीज एसोसिएसन (एनएनए ) न्यासभिल, टेनेसी, यूसयएको सहयोगमा गत वर्ष २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पले जिर्ण ६ कोठे भवन भत्काइ नयाँ ४ कोठे पक्की आरसिसि भवन निर्माण कार्य शुरुवात भएको छ ।

उक्त नयाँ ४ कोठे भवन निर्माणको शिलान्यास कार्यक्रम बरिष्ठ पत्रकार श्री युबराज घिमिरे, तनहुँ जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारी, भानु नपाका मेयर उदय राज गौली, डुम्रे-भन्सार सहरी बिकाश सभापति आनन्दराज त्रिपाठी लगायत स्थानीय समाजसेवीहरुको उपस्थितीमा मिति २०७४-०४-१८ गते माननिय सांसद एवं पूर्व बन तथा भू–संरक्षण मन्त्री श्री शंकर भण्डारी ज्यूद्वारा सु–सम्पन्न गरिएको थियो । यस विद्यालयको नयाँ ४ कोठे भवन निर्माणका लागि यसै संस्था एनएनए अध्यक्ष श्री डा. घनश्याम भट्टज्यूले संस्थाको तर्फबाट अनुगमन एवं संर्वेक्षण गरी पुरानो भवन जिर्ण भएकोले स्थानीयको सहयोगमा यसको निर्माण गर्न सकिने बताउनु भएको थियो । तत्पश्चात विद्यालयको तर्फबाट प्र.अ. नारायणबहादुर बसेल, वि.व्य.स. अध्यक्ष सोमबहादुर बाचे र अनुगमन संयोजक मेघबहादुर थापा र एनएनए संस्था बिच विद्यालयसँग दोहोरो सम्झौता गरी निर्माण कार्य अगाडि बढाईएको छ । विद्यालय भवन निर्माण सम्पन्न गर्नका लागि सात सदस्यीय निर्माण समिति र पाँच सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

विद्यालयको उक्त नयाँ ४ कोठे भवन निर्माणका लागि यसै वडाको सामुदायिक वन, भानु न.पा. को कार्यालय, वडा कार्यालय, मनकामना सशस्त्र गण, भानु र स्थानीय अभिभावक समितिले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । निर्माणधीन भवनमा मनकामना सशस्त्र गण र स्थानियहरुको सहयोग उल्लेखनिय छ । भवन निर्माण कार्य सम्झौता भए अनुसार आगामी तीन महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल यस विद्यालयमा ९५ प्रतिशत गरिब, दलित वा विपन्न वर्गका बालबालिका अध्ययनरत छन् । उक्त भवन निर्माण कार्यले यस विद्यालयका सेवा क्षेत्रका सम्पूर्णमा खुसी र हर्ष छाएको छ ।

प्रतिक्रिया