अब म जनतालाई अनुभुति दिलाउनेगरि काम गर्छु : प्रधानमन्त्री देउवा

इनेप्लिज २०७४ असोज ३ गते ८:१० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सय दिने कार्यकाल अत्यन्तै सफल भएको दाबी गरेका छन् । उनले सय दिनमा नेपालको ईतिहाँसमा आफूले जति काम अरु कुनै पनि प्रधानमन्त्रीले नगरेको समेत जिकिर गरे । मधेशलाई अधिकारसम्म बनाउने र समृद्ध बनाउन आफ्नो पार्टी पूर्ण कटिबद्ध रहेको पनि उनको भनाई थियो । तराई मधेशका डुबान समस्याको दिर्घकालिन समाधानको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुरा गरेकोले छिट्टै यस विषयलाई टुँगो लगाउने देउवाले जानकारी दिए । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम जनता जान्न चाहन्छनमा प्रधानमन्त्री देउवासँग गरेको कुराकानीको सम्पादित अंश :

 

२ नम्बर प्रदेशमा यहाँ पुगेर आईसक्नुभएको छ, यहाँले के पाउनुभयो ?

जनताहरुमा चुनावप्रति ठूलो उत्साह भेटेकको छु । चुनावमा जान चाहन्छन् । उहाँहरुको समर्थन नै पाएको छु । सिंहदरबारको अधिकार गाउँमा नै मिलेको छ, नगरमा नै मिलेको छ । त्यसकारण पनि उत्साही छन् जनता । हरेक ठाउँमा मैले जनताहरुको उत्साहप्रदक सहभागिता देखेको छु ।

मधेशको मुख्य प्राथमिकता के रहेछ प्रधानमन्त्रीज्यू ?

मधेशी जनताहरुको भावनालाई कदर गरेर नै हामीले संशोधन प्रस्ताव राखेका हौं । तर एमालेले सपोर्ट नगरेर प्रस्ताव फेल भयो ।

मधेशमा देखिएको बाढी अर्थात डुबानको समस्यालाई यहाँले दिर्घकालिन रुपमा कसरी हल गर्दै हुनुहुन्छ ?
बाढी पीडितहरुको लागि मैले तुरुन्तै सहयोग गरेको छु । भारतीय प्रधानमन्त्रीसँग पनि भेटेर कुरा गरेर एउटा प्राविधिक टोली बनाएर भोलिका दिनमा बाढी आएपनि डुबान नहोस् भनेर त्यससम्बन्धी अध्ययन गरेर काम गर्ने भनेर सहमति भएको छ । त्यसैगरि कोशी हाई ड्याम्प, कमला डाईभर्सनका बारेमा राम्रो कुरा भएको छ ।

मधेशको विकासको लागि यहाँले कस्तो गुरुयोजना ल्याउँदैहुनुहुन्छ ?

मधेशका जनताहरुको लागि सबैभन्दा आवश्यक कुरा बाटो हो । मधेशमा जहाँ जहाँ बाटो बन्नुपर्ने हो त्यो अझै बनेको छैन । गाउँदेखि बजारसम्म राम्रो बाटो बनाउने मेरो गुरुयोजना छ । जसका कारण जनताले आफना उत्पादनहरु बजार लगेर सजिलै बेच्न सकुन् । बाटोघाटोसँगै शिक्षा, स्वास्थ्यमा पनि विकास गर्नुपर्छ भन्नै नै हो । त्यस्तै खास समसया नोकरी पनि हो, यसबारेमा पनि मैले विशेष योजना बनाएको छु । रोजगारीका अवसरहरु सिर्जना गर्न खोज्दैछु, त्यसका लागि कोशी हाई ड्याम्प बन्यो भने त्यहाँ ठूलो रोजगारीको अवस्था सिर्जना हुन्छ । त्यस्तै महाकाली सन्धि भैसकेको छ, त्यसले पनि रोजगारीको धेरै ठूलो अवसर सिर्जना गर्छ । त्यस्तै अरुण तेस्रोको शिल्यान्यास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आँफै नेपाल आउँदैहुनुहुन्छ, त्यसले पनि रोजगारी सिर्र्जना गर्छ ।

मधेश र कांग्रेसको सम्बन्ध अहिले कस्तो पाउनुभयो ? अलिकति व्याख्या गरिदिनुहोस न ?

हाम्रो पार्टी नै मधेशमा नै आधारित पार्टी हो । मधेशी जनताहरुले सँधै माया गरेको पार्टी हो । त्यसकारण कांग्रेस र मधेशी जनताहरुवीच अन्योन्याश्रित सम्बन्ध छ ।

एमालेले संघीयता र गणतन्त्र स्विकार गरेको पाउनुभयो कि पाउनुभएन ?

होईन, उहाँहरुले कुनै हालतमा पनि स्विकार गर्नुभएको छैन । यो कुरा सारा जगतलाई थाहा छ । उहाँहरुले आँफै ठाउँठाउँमा भन्दै हिँड्नुभएको छ ।

सरकारको सय दिनलाई यहाँले कसरी लिनुभएको छ ?

मैले धेरै ठूलो काम गरेको छु । भारत भ्रमणमा जाँदा नेपाललाई धेरै ठूलो सहयोग प्राप्त भएको छ । भारतसँगको चिसोपनाको सम्बन्धमा अहिले न्यानोपना आएको छ । त्यस्तै, भारतले नेपाललाई धेरै ठूलो सहयोग गर्ने वचन दिएको छ । बाढी नियन्त्रणदेखि अन्य कुराहरुमा पनि ।

उसो भए यहाँको सय दिने कार्यकाल सफल भएको हो ?

धेरै सफल भएको छ । यति कसले गरेको छ ?

मन्त्रिमण्डल विस्तार गरेको विषयमा आलोचना भयो नि ? के भन्नुहुन्छ ?

गठबन्धन सरकार भएको कारणले मन्त्रिहरु थपघट हुने कुरा हुन्छ नि।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि यहाँले सफल रुपमा गराउनुहुन्छ, होईन त ?

गराउँछु । यसमा कुनै शंका छैन । यहाँ धेरै आलोचनाहरु भैरहेका छन् । म एक दुई दिनभित्रै राम्रो सल्लाहकार टिम बनाएर अघि बढ्छु ।

प्रतिक्रिया