मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) को प्रेस वक्तव्य

इनेप्लिज २०७४ असोज ३ गते १७:२८ मा प्रकाशित

मिति : ३ असोज २०७४
प्रेस वक्तव्य

मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) नेपालले २०७४ असोज २ गते सोमबार सम्पन्न प्रदेश नं २ को ८ वटै जिल्लामा १६६ स्थानीय तहको निर्वाचनको अनुगमन गरेको छ । काहुरास्ट नेपालद्वारा सोमबार मतदानका दिन गरिएको पर्यवेक्षणको प्रारम्भिक रिपोर्टलाई समावेश गरी यो प्रेस वक्तव्य जारी गरिएको छ । पर्यवेक्षणका क्रममा निर्वाचन बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको पाइयो ।

निर्वाचन मिति तोक्दै सर्दै गरेको अवस्था र मधेसी मोर्चाहरुले उठाइरहेको संविधान संसोधन हुन नसकेको अवस्थामा निर्वाचन हुन्छ भन्नेमा जनतामात्र होइन राजनीतिक दलहरुसमेत आश्वस्त हुन नसकेको अवस्थामा शान्तिपूर्ण रुपमा जनताको उल्लेख्य सहभागितामा निर्वाचन सम्पन्न हुनुलाई अभूतपूर्ण सफलता मान्न सकिन्छ । जनताको उत्साह र मौसमको साथ पाउँदा पनि मतदाताहरु आफ्नो मतको प्रयोग गर्न उत्सुक रहेको देखियो । २ नं प्रदेशमा खसेको मत हेर्दा पहिलो र दोस्रो चरणको निर्वाचनको तुलनामा अत्यन्त सफल रहेको मान्न सकिन्छ ।  सप्तरी राजविराज वडा नं १५ मा राजपाका तर्फबाट वडा अध्यक्ष महन्थी ठाकुरको निर्वाचनको भाद्र ३१ गते निधन हुँदा उक्त वडाका दुई मतदान केन्द्र स्थगित भएको जानकारी प्राप्त भएको छ ।

मतदान केन्द्रहरुमा महिला, बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्तिहरुसमेत अत्यन्त उत्साहि भई मत हाल्न सहभागी भएको पाइयो । निर्वाचनमा विवाद नआवोस् भन्नका लागि मतदाता नामावलीमा नाम भएकाहरुलाई नागरिकता, लाइसन्स, राहदानी तथा लालपुर्जाका आधारमा समेत निर्वाचनमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको हुँदा मतदाताहरुले सहजरुपमा मतदान गर्न पाएका थिए । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुमा सुरक्षाको व्यवस्था, निर्वाचन तयारी र व्यवस्थापन सन्तोषजनक रहेको पाइयो । यद्यपी निर्वाचन आयोगका तर्फबाट मतदाता शिक्षा प्रभावकारी नभएको, निर्वाचन पूर्वको अनुगमनमा देखियो भने परिचय पत्र दर्तामै केही कमजोरी रहेको भेटियो ।  काहुरास्ट नेपाल शान्तिपूर्ण निर्वाचन सम्पन्न भएजस्तै मतगणना पनि विवाद रहित रुपमा सम्पन्न होस् र छिटो नतिजा सार्वजनिक होस् भन्ने अपेक्षा व्यक्त गर्दछ ।

दुई दशक देखि जनप्रतिनिधिविहिन बनेको स्थानीय तह तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै जनताले आफ्नो भविष्य आफै कोर्ने अवसरको बाटो खुलेको छ । लोकतन्त्रको संस्थागत विकास गर्ने क्रममा भएको यो निर्वाचनले नेपाली जनताको अधिकार स्थापना गर्न सहयोग पुग्दछ भन्ने हामीलाई लागेको छ ।

निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित निकायहरु, राजनीतिक दल, उम्मेदवार, नागरिक समाज लगायत सबैमा काहुरास्ट हार्दिक आभार व्यक्त गर्दछ ।

 

मीना शर्मा
महासचिव

 

प्रतिक्रिया