सोम सापकोटा एनआरएनए सहकोषाध्यक्षका उम्मेद्वार

इनेप्लिज २०७४ असोज ३ गते २२:५६ मा प्रकाशित

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह—कोषाध्यक्ष पदको उम्मेदवारी आदरणीय गैरअवासीय नेपाली संघसंग आवद्ध दिदीबहिनी तथा दाजुभाईहरु नमस्कार ।

सर्वप्रथमत विभिन्न अवसर. रोजगारी, अध्ययन, ब्यापार व्यवसाय तथा बाध्यतावस आफ्नो जन्मभूमि नेपाल छाडेर संसार को विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघको अभियानका क्रममा तपाइको निरन्तर साथ, सहयोगप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।

गैरआवासीय नेपालीसंगको अभियानमा तपाईको सहयोगमा हाँसिल गरेको अनुभव र क्षमतालाई सधैं गैरआवसीय नेपालीको हितमा लगाउने प्रतिवद्धता सहित यहाँहरुकै सल्लाह तथा सुझाब पश्चात आगामी कार्यकाल (सन् २०१७ देखि २०१९ सम्म)का लागि सहकोषाध्यक्षको जिम्मेवारीमा रहेर संघको वृहत्तर हितमा लागेर अगाडी बढ्ने निर्णय गरेको छु ।

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्का अधिवेशनहरु अन्तिम चरणमा पुगेका छन ।आगामी अक्टोबर १४ देखि १७ तारेखमा काठमाडौंमा हुने संघको विश्व सम्मेलन तथा महाधिवेशनको तयारी पनि चलिरहेको छ । मौजुदा कार्यसमितिको पदिय दायित्वका कारण मैले ढिलागरी उम्मेदवारी घोषणा गरेको छु । ढिलै भएपनि यहाँको सहयोगको अपेक्षा गर्दै मैले आउँदो कार्यकाल एनआरएनएको उद्देश्य र गैरआवासीय नेपालीको हितमा केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

गैरआवासीय नेपाली संघमा मेरो यात्रा सन् २००४ मा पोर्चुगलबाट भएको हो। गैरआवासीय नेपाली संघ मा १२ वर्ष को निरन्तर यात्रामा मैले संगको विभिन्न तह अनि पदिय जिम्मेवारी मा रहेर भूमिका निर्बाह गर्दै आएको छु । गैरआवासीय नेपाली संघमा मेरो पहिलो प्रबेस गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको कार्यकारी सदस्य (सन् २००५—२००७)हुँदै २००९ देखि ०११ सम्म गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद डेनमार्कको संस्थापक अध्यक्ष, अनि २०११ देखि ०१३ सम्म गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य भएर काम गरेको अनुभव छ भने २०१३ देखि ०१५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् यूरोप क्षेत्रको उपसंयोजक को जिम्मेवारी साथै २०१५ देखि हालसम्म गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यका रुपमा गैरआवासीय नेपाली संघको अभियानमा क्रियाशिल छु ।

गैरआवासीय नेपाली संघका विभिन्न तहमा बसेर काम गर्ने शिलशिलामा काम, कर्तव्य र अधिकारको मैले क्षमताले भ्याएसम्म संस्थागत तथा पद्दतीगत हिसाबले जिम्मेवारी पुरा गर्ने प्रयास गरेको छु । यद्यपी सामुहिक नेतृत्व र सामुहिक कार्य भएकाले कतिपय कुराहरु आफूले चाहे अनुसार अगाडी बढ्न नसक्ने कुरा मैले विगतको अनुभवले देखेको छु । भबिस्यमा पनि विगतको अनुभवललाई भरपुर उपयोग गर्दै सस्था लाई प्रबासमा बस्ने नेपाली र आफ्नो जन्मभूमि नेपालको हितमा परिणाममुखी काम गर्न प्रयास रहने प्रतिबद्धत्ता व्यक्त गर्न चाहन्छु ।

गैरआवासीय नेपाली संघको १४ वर्षको अवधिलाई हेर्दा विदेशमा बस्ने नेपालीको मात्र नभएर सिंगो राष्ट्रलेनै अपेक्षा गर्ने हैसियतमा पुगेको छ । संगठनात्मक हिसाबले हेर्दा पनि संसारका ७६ देशमा एनआरएनएले सञ्जाल बिस्तार गरिसकेको छ । नेपालमा पर्ने हरेक अप्ठयारा परिस्थितिमा एनआरएनए आशाको दियोको रुपमा उदाउने गरेको छ । गैरआवासीय नेपाली र नेपालकै समृतिका लागि एनआरएनए दरिलो खम्बानै बनेको छ । संस्थालाई अझै उचाईमा पुराउनका लागि विभिन्न ७६ वटा राष्ट्रिय समन्वय परिषद्, अन्तर्राष्ट्रिय समन्वय परिषद्, नेपाल सरकार तथा नेपाली नियोग र दूतावासहरु, नेपाललाई सहयोग गर्ने दातृ निकायसंग निरन्तर समन्वय गर्नु आवश्यक छ । विदेशमा बस्ने नेपालीका साझा समस्याको पहिचान र तिनको दिर्घकालिन समाधान गर्न, वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका नेपालीको अवस्था सुधार गर्न, विदेशमा बस्ने नेपालीको सामुहिक लगानीको प्रत्याभूत गर्न, नेपालको पर्यटन, कला संस्कृतिको बिकास तथा नेपालको पर्यटन प्रर्वद्धनात्मक काम गर्न र भूकम्पपछिको पुर्ननिर्माणका लागि सक्दो समन्वयात्मक प्रयास गर्ने प्रतिवद्धता जनाउँदछु ।

संस्थामा आर्थिक पारदर्शिता, आन्तरिक कोषको वृद्धि, गैरआवासीय नेपाली संघले सञ्चालन गरेका परोपकारी योजनाहरुमा थप आवश्यक सहयोग संकलन, हाम्रो संस्थामा रहेको विभिन्न कार्यक्रमका लागि सहयोग घोषणा गरिएपनि नउठेको रकम उठाएर संस्थालाई आर्थिक रुपमै सवल बनाउँने उद्देश्य मेरो रहेको छ । त्यसैले उद्देश्य पुरा गर्ने प्रतिवद्धता सहित तपाईको सहयोगको अपेक्षा छ । निरन्तर रुपमा पाइरहेको अग्रज तथा शुभेच्छु महानुभावको साथ र सहयोमा गैरआवासीय नेपाली संघ ले अवलम्बन गरेका नीति तथा कार्ययोजनालाई निरन्तरता दिदैं विगतको अनुभवलाई आत्मसाथ गर्दै एनआरएनए अभियानलाई शिखरमा पुर्याउन मैले भरपुर प्रयास गर्ने प्रतिवद्धताका साथ आउँदो विश्व सम्मेलनबाट मलाई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सहकोषाध्यक्ष पद निर्वाचित गराउनु हुन विनम्र अनुरोध गर्दछु ।

धन्यवाद !

सोम सापकोटा सहकोषाध्यक्षका उम्मेद्वार ( २०१७—२०१९ कार्यकाल) गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्

प्रतिक्रिया