मास्कोस्थित नेपाली राजदूतावासमा राष्ट्रिय दिवस सुसम्पन्न कृष्णप्रकाश श्रेष्ठ

इनेप्लिज २०७४ असोज ७ गते ८:३८ मा प्रकाशित

नेपाली जनताले चुनेको द्वितीय संविधान सभाबाट सन् २०१५ को सेप्टेम्बर २० का दिन जनप्रतिनिधिहरूको अभूतपूर्व अत्यधिक मतद्वारा पारित नेपालको संविधानको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा मास्कोस्थित नेपाली राजदूतावासको प्रांगणमा नेपाल राष्ट्रिय दिवस भव्यताका साथ सुसम्पन्न भयो ।

नेपाल राष्ट्रिय दिवसको भव्य समारोहमा रूस महासंघको परराष्ट्र मन्त्रालयको द्वितीय एशिथा विभागका उपनिर्देशक दानिला गानिचका साथै रूसको परराष्ट्र«, शिक्षा तथा विज्ञान, संस्कृति, अर्थ, गृह मन्त्रालयका उच्च पदाधिकारीहरूका साथै रूसको राजधानीमा रहेका स्वाधीन राष्ट्रमण्डल (सीआईएस), सार्क मुलुकहरूलगायत एशिया र प्रशान्त महासागरीय क्षेत्र, मध्यपूर्व, अरेबिया, अफ्रिका, उत्तरी तथा दक्षिणी अमेरिका, यूरापेली संघ अन्तरगतका विभिन्न देशका राजदूत, निकाय उपप्रमुखहरूको उपस्थिति रहेको थियो । भव्य समारोहमा नेपालका लागि रूसका पूर्वराजदूत सेर्गेइ भेलिच्किन, सेन्ट–पिटर्सबर्गस्थित नेपाली महावाणिज्य दूतकी सहायक मारिना ख्रामोभा, रूसको परम्परागत बौद्ध संघका प्रनिनिधि दाशी–निमा लामा, मिस एशिया रस्साकी निर्देशक एलेना मार्दाएभा, मास्कोका चित्रकार फ्रिडोन, छविचित्रकार इभान कोजोरेजोभ, कवयित्री एवं गायिका क्सेनिया देवी प्रभृति विभिन्न क्षेत्रको प्रतिनिधित्व थियो । नेपालको अध्ययन एवं नेपालका लागि विशेषज्ञहरूको प्रशिक्षणमा संलग्न मास्कोका विभिन्न अध्ययन संस्थान (प्रच्यविद्या संस्थान, राजकीय जनमैत्री विश्वविद्यालय, प्राच्य कला संग्रहालय) आदिका वैज्ञानिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो । रूस–नेपाल सहयोग तथा मैत्री समाज (अध्यक्ष मिखाइल नेक्रासोभ), रूस आप्रवासी समाज (उपाध्यक्ष रवीन्द्र भट्टराई), गैरआवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषद (महासचिव डा. बद्री के.सी., नारी–संयोजक सपिला राजभण्डारी, सदस्य गोविन्दप्रसाद गौतम), रूस राष्ट्रिय समन्वय परिषद (रामेश्वर गौतम), रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ (उपाध्यक्ष डा. भीष्म आचार्य), विश्व नेपाली साहित्य महासंघ रूस (महासचिव डा. मनमूर्ति भुत्र्याल, सल्लाहकार डा. कुमार कार्की), नेपाल खेलकूद तथा संस्कृति संघ, नेपाली नारी निकुञ्ज (प्रतिमा अमात्य), नेपाली छात्रसंघ (अध्यक्ष मिलन कट्टेल) आदि जनस्तरीय विभिन्न सामाजिक संघसंस्थाहरूका प्रतिनिधिहरू पनि उपस्थित थिए ।

मास्कोस्थित नेपाली राजदूतावासका निकाय उपप्रमुख श्री खीमानन्द भुषालले सभाकक्षमा उपस्थित सवै महानुभावहरूको हार्दिक स्वागत गर्दै समारोहको शुभारम्भबारे घोषणा गर्नासाथै नेपाली र रूसी राष्ट्रिय धून गुञ्जायमान भयो ।

रूसका लागि नेपाली राजदूत श्री ऋषिराम घिमिरेज्यूले नेपालको इतिहासमा सर्वप्रथम देशवासीहरूले स्वयं तर्जुमा गरेको नेपालको संविधान दुई वर्षअघि पारित हुनासाथै रूस महासंघको सरकारद्वारा त्यसको स्वागत गरिएकोमा नेपाली जनताको तर्पmबाट कृतज्ञता ज्ञापन गर्नुका साथै त्यसै संविधानको आधारमा देशमा युगौं पुरानो एकतन्त्रीय शासनको औपचारिक रूपमा अन्त्य भई संघात्मक लोकतान्त्रिक शासनव्यवस्थाको विधिवत् शुभारम्भअन्तर्गत स्थानीय तहको निर्वाचन समेत हालै सम्पन्न भएको र आगामी २६ नभेम्बर तथा ७ डिसम्बरमा क्रमशः प्रदेशसभा र केन्द्रीय संसदको समेत आमनिर्वाचन सम्पन्न हुन गइरहेको सूचित गर्नुहुँदै नेपालको राष्ट्रिय दिवसको महत्वबारे संक्षेपमा प्रकाश पार्नुभयो ।

 

महामहिमज्यूले सन् १९५६ को २० जुलाईमा नेपाल र रूसबीच दौत्य सम्बन्ध स्थापित भएपश्चात् पारस्परिक सम्मान, समझदारी र सद्भावनामा आधारित मैत्री सम्बन्ध विकसित हुँदै गएको स्मरण गराउनु भई ‘उच्चस्तरीय भ्रमण, व्यापार, लगानी, पर्यटन, संस्कृति तथा जनस्तरीय सम्बन्धले हाम्रो आपसी सहयोगको विस्तार र सघनतामा मद्दत पु¥याउने छ’ भन्ने विश्वास व्यक्त गर्नुका साथै गतः वर्ष नेपालको व्यवस्थापिका–संसदकी सभामुख ओनसारी घर्तीको रूस भ्रमण ‘दुवै देशका संसदहरूबीच मैत्री सम्बन्धको अरु सुदृढीकरणका लागि नयाँ कोसेढुङ्गा’ साबित भएको जनाउनुभयो र रूस महासंघको सर्वोच्च न्यायालयका अध्यक्ष भ्थाचेस्लाभ लेबेदेभको निमन्त्रणामा नेपालका प्रधान न्यायाधीश श्री गोपाल पराजुली यही २३ सेप्टेम्बरका दिन चारदिने आधिकारिक भ्रमणका लागि मास्को आइपुग्नु हुने सूचित गर्नुभयो ।

महामहिम श्री ऋषिराम घिमिरेज्यूले आफ्नो मन्तव्यमा नेपाल–रूस सम्बन्धको सन्दर्भमा अगाडि भन्नुभयो ः ‘रूस सरकारको सहयोग र समर्थनलाई नेपाल सरकारले ठूलो महत्व दिने गरेको छ । आपसी सरोकारका अन्तर्राष्ट्रिय विषयसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय फोरुमहरूमा हामीले काँधमा काँध मिलाएर काम गर्ने गरेका छौं । दौत्य सम्बन्ध स्थापनाका पहिला दिनहरूमा रूसले नेपालको आधारभूत प्राविधिक विकासका लागि प्रदान गरेको मूल्यवान वित्तीय तथा आर्थिक सहायताको लागि हामी आभारी छौं । नेपालको शान्तिपूर्ण, समृद्ध र प्रजातान्त्रिक विकास रूस तथा दक्षिण एशिया क्षेत्र दुवैको हितानुकूल छ भन्ने रूसको दृष्टिकोणको पनि हामी सराहना गर्दछौं । हामीसित जलस्रोत र पर्यटन विकासका लागि अथाह क्षमता छ । भविष्यमा हाम्रो विकास परिकल्पनाको परिपूर्तिमा रूस सरकारबाट बढी आर्थिक सहयोग प्राप्त हुने अपेक्षा राख्तछौं । निकट भविष्यमै काठमाडौंमा परराष्ट्र मन्त्रालयीय स्तरमा संयुक्त संयन्त्रबारे बैठक सम्पन्न हुन गइरहेको उल्लेख गर्न पाउँदा मलाई खुशी लागेको छ । त्यसमा नेपाल र रूस महासंघबीच व्यापार, लगानी, पर्यटन, शिक्षा र संस्कृति लगायत आपसी सम्बन्धका समग्र विषयहरूमा विचारविमर्श हुनेछ र हाम्रो पारस्परिक लाभ र हितको अनुरूप सम्बन्ध पुनर्विकासका लागि भावी कार्यतालिका निरूपित गरिने छ’ ।

आफ्नो मन्तव्यको अन्त्यमा नेपाली राजदूत श्री ऋषिराम घिमिरेज्यूले रूसमा रहेको नेपाली समुदायको सन्दर्भमा प्रकाश पार्नुहुँदै यहाँ बसोवास गरिरहेका नेपालीहरूले ‘आफ्नो प्रतिभा, अनुभव र स्रोतको माध्यमबाट रूसको विकासमा योगदान पु¥याउनुका साथै रूस र नेपालबीच मित्रता, समझदारी र सहयोगको प्रवर्धनका लागि पुलको रूपमा काम गरिरहेका छन्’ भनी जोड दिनुभयो र नेपालीहरूको महान चाड बडादशैको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा नेपालको राष्ट्रिय संविधान दिवस घटस्थापनाकै शुभ मूहुर्तमा आयोजना गरिएको हुँदा समारोहमा उपस्थित नेपालीहरू रूसी तथा विदेशी मित्रहरूसंग शुभकामनाको आदानप्रदान गर्दै भलाकुसारी गरिरहेका थिए भने सभाकक्षमा रसियाली जनमैत्री विश्वविद्यालयका छात्रछात्राहरू र रसियाली कलाकार तथा गायिकाहरूको नाचगानका साथै फोटो–सेसन समेत चलिरहेको थियो । नेपालको राष्ट्रिय दिवसको सन्दर्भमा नेपाली राजदूत–दम्पतिको तर्पmबाट दिवाभोजको पनि आयोजना गरिएको थियो ।
फोटो सौजन्य ः बोरिस भेर्शिनिन
दिनाङ्क ः २१ सेप्टेम्बर २०१७ (वृहस्पतिवार)
मास्को, रूस महासंघ ।

 

 

प्रतिक्रिया