बुधबार, कार्तिक १ २०७४ | Wed, October 18, 2017
नेपालको समय: ०९:३८ | Washington DC: 23:53

एन्फाको प्रस्तावः सदस्य बन्न फुटबलमा सक्रियता अनिवार्य

२३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको बिशेष साधारणसभा काठमाडौंमा सुरु भएको छ । साधारणसभाले मुख्य गरी चुनावका लागि विधान संशोधन गर्नेछ ।

साधारणसभाले आगामी पुस ८ गते हुने एन्फा कार्यकारी समितिको निर्वाचनका लागि समयानुकुल र अन्तर्राष्ट्रिय मान्यताअनुसार रहने गरी विधान संशोधन गर्ने तयारी गरेको छ ।

साधारणसभाले कार्यसमिति पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारको योग्यता निर्धारण गर्नेछ । नयाँ प्रस्ताव अनुसार ५ वर्षयता फुटबलमा लागेको र २ वर्षदेखि सक्रिय फुटबलमा लागेको हुनुपर्नेछ । यसअघि सम्बन्धित संघले स्वीकृत गरेको जो कोही उम्मेदवार बन्न पाउने थिए ।

यसैगरी क्लव तथा जिल्लाबाट ३ जना प्रतिनिधि आउन पाउने ब्यवस्थालाई संशोधन गरी एक जनाको मतदान अधिकारसहित २ जना प्रतिनिधि आउन सक्ने व्यवस्था गर्न लागिएको छ ।

त्यस्तै ५ वटा बी डिभिजन क्लवलाई दिइएको मताधिकार बढाएर ९ क्लव पुर्‍याइएको छ भने सी डिभिजनका ३ क्लवबाट ५ पुर्‍याउने गरी बिधान संशोधन गर्न लागिएको एन्फाका एक सदस्यले अनलाइनखवरलाई जानकारी दिए । ए डिभिजनका १४ क्लबले एन्फाको कार्यसमिति निर्वाचनमा भोट हाल्न पाउनेछन् ।

एन्फाकै चरम लापरबाहीका कारण नेपाली लिग च्याम्पियन श्रीस्टारले एएफसी कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि डेढ करोड क्षतिपूर्ति दिने एन्फा कार्यसमितिको निर्णय पनि आजको साधारणसभाले अनुमोदन गर्नेछ ।

एन्फकै केहि सदस्यले घटनाका दोषीलाई कारबाही नगरी क्लवलाई क्षतिपूर्ति दिन नहुने भन्दै फरक मत राख्दै आएका छन् ।

एन्फा आफैंले बनाएको छानविन समितिले महासचिव धिरेन्द्र प्रधान तथा कर्मचारीहरु गोकुल थापा र बसन्त रिजाललाई दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गरेको थियो । एन्फाले गत भदौ २९ गतेदेखि उनीहरुलाई १५ दिनका लागि निलम्बन गरेको थियो ।

२०७४ असोज २३ गते ६:३६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी