“गिनिज बुक अफ वर्ल्ड रेकर्ड ” राख्न सफल खेलाडी उज्ज्वल ठकुरीलाई नेपालका मिडियाबाट किन वेवास्ता गरियो ?- प्रकाश श्रेष्ठ, अमेरिका !

इनेप्लिज २०७४ असोज २४ गते २:३७ मा प्रकाशित

 

भनिन्छ खेलजगतले देशलाई अन्तरराष्ट्रिय स्तरमा परिचित गर्न महत्वपुर्ण भुमिका खेलेको हुन्छ र हुनपनि हो विश्वका कतिपय देश खेल र खेलाडीकै कारण विश्व समुदायमा चिरपरिचित रहेको पाईन्छ । छिमेकी मुलुक भारत समेत क्रिकेट खेलबाट विश्व सामु सहजै परिचित छ, चीन समेत एथलेटिक्स एवं ओलम्पिक खेलमा विश्व सामु अग्र स्थानमा छ । ब्राजिल, अर्जेन्टिना, जर्मनी, कोरिया, जापान, इटली, पोर्चुगल लगायत देशहरु फुटवल खेलमा अगाडी छन् र विश्वकपमा ती देशका खेलाडीका बारे विश्वभरि चर्चा गरिन्छ । नेपालमा समेत राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरका विभिन्न खेलमा सहभागी हुने खेलाडीको चर्चापरिचर्चा हुने गर्दछ । सार्क स्तरिय खेल र ओलम्पिक खेलमा सहभागिता जनाउँदा सबै तिर चर्चाको विषय बन्छ । अझै पछिल्लो समय ” क्रिकेट खेलमा ” नेपालको अन्तरराष्ट्रिय स्तरमा उल्लेखनिय सफलता मिल्दा उक्त खेलमा सहभागी खेलाडीहरु र नेपालको सम्बन्धमा अन्तरराष्ट्रिय जगतले हेर्ने दृष्टिकोण नै फरक देखिन थालेको छ । अत: यसरी हेर्दा खेल जगतले देशको नाम चम्काउन महत्वपुर्ण भुमिका खेल्ने प्रष्ट देखिन्छ । यसो त नेपाल सरकारले पनि विगतमा भन्दा वर्तमान समयमा खेल क्षेत्रमा केही बढी चासो बढाएको सुन्नमा आएको पाईन्छ ।

यति हुँदाहुँदै पनि विदेशमा रहेर नेपालको झण्डा काँधमा बोकेर नेपाललाई खेलकै माध्यमबाट चिनाउन हरदम प्रयासरत रहदै विभिन्न राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरका मार्शल आर्ट कराते खेलमा विभिन्न स्वर्ण पदकबाट सम्मानित एकजना मरिन गोजु कराते खेलाडी “उज्ज्वल ठकुरीलाई” भने नेपालको राज्यले त वास्ता गरेन गरेन तर त्यहाँका राष्ट्रियस्तरको मिडियाले समेत कुनै वास्ता गरेको पाईदैन । हालै मात्र उनले कराते खेलमै विश्व रेकर्ड कायम गरेका छन् तर यसबारे नेपाली मिडियामा खासै चर्चा गरेको पाईदैन ।

उज्ज्वल ठकुरी अमेरिकन मरिन गोजु करातेका ५ डान खेलाडी हुन् र उनी हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्डबाट” सम्मानित भएका थिए । यो अवार्ड अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने लिजेण्ड पुरस्कार समेत हो । यो पुरस्कार अमेरिकन मार्शलआर्ट एशोसियसन द्वारा ९३ जना ख्याती प्राप्त खेलाडीहरुलाई प्रदान गरेको थियो । यो प्राप्त गरेको लगतै निज उज्ज्वल ठकुरीले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्दै देशको नाम उच्च स्थानमा पुर्याएका छन् । उनले गिनिज बुकमा रहेको भ्यानडम शैली द्वारा अधिक वजन पुरुषहरुले उठाउने विधामा ५० केजीको रेकर्डलाई तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व रेकर्ड कायम गरि आफ्नो नाम सदाको लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाउन सफल भएका छन् । यो वर्ल्ड रेकर्ड कायम गरे लगत्तै स्वयं उज्ज्वल ठकुरीले नेपालका राष्ट्रियस्तरका पेपर मिडिया र ईलेक्ट्रोनिक मिडियमा समाचार पठाए पनि त्यहाँ मुख्य मिडियाले आफ्नो समाचार नछापेको वा कभरेज नगरेकोमा उनी निकै उदाहास देखिएका छन् । साथै एक किसिमको आक्रोश पनि उनले व्यक्त गरेका छन् जसलाई केही दिन पहिला फेसवुक लाईभ मार्फत सुसोचित गर्ने काम गरेका थिए । उनका अनुसार ” रासस देखि मुख्य सबैजसो मिडियामा आफुले समाचार को साथमा आफुले प्राप्त गरेको सर्टिफिकेटको फोटो सहित पठाएको तर News 24 Television का ” सिधा कुरा जनतासँग ” को कार्यक्रम संचालक रवि लामिछाने मार्फत न्युज २४ नेपाल डट टिभी अनलाईनमा न्युज कभरेज भएको बाहेक अरुबाट अहिले सम्मको जानकारी अनुसार कुनै किसिमबाट न्युज कभरेज नभएको बताए ” । आफ्नो न्युजलाई महत्वका साथ “न्युज २४ नेपाल डट टिभी अनलाईनमा कभरेज गरेकोमा अहिलेका चर्चित एवं टेलिभिजन पत्रकार रवि लामिछाने र उक्त न्युज च्यानललाई हार्दिक धन्यवाद पनि दिएका छन् ।

यसैगरि नेपाल र विदेशबाट संचालित सबै सबै अनलाईन मिडिया जसले उनको विश्व रेकर्ड सम्बन्धी समाचारलाई प्राथमिकता साथ प्रकाशित गरे तिनीहरुलाई एकमुष्ट धन्यवाद पनि दिए । खासगरि अमेरिकाबाट प्रकाशित हुने ” ईनेप्लिज डट कम, बिआरटी नेपाल डटकम, डिसी नेपाल डटकमले शुरुमै न्युज कभरेज गरेकामा विशेष धन्यवाद दिएका छन् । साथै अमेरिकामा रहेका सबै नेपालीहरु प्रति आभार समेत प्रकट गरेका छन् ।

यो स्तम्भकार सँगको संक्षिप्त कुराकानीमा विश्व रेकर्ड कायम गर्न सफल र अन्य तिनवटा फरक विधामा समेत विश्व रेकर्ड कायम गरि नेपाल र नेपालीलाई विश्व सामु परिचित गराउने अठोट लिएका कराते खेलाडी उज्ज्वल ठकुरीले निकै गम्भिर ढंगबाट आफुलाई नेपाली मिडिया र नेपालको खेलकुद क्षेत्रले उपेक्षा गरेको भन्दै गुनासो गरे । सोही सन्दर्भमा उनले आफु नेपालको कुनै राजनितिक दलको झण्डा नबोकेकै कारण आफ्नो योगदानलाई नेपाल राष्ट्रले र मिडियाले कुनै चासो नदिएको भएपनि नेपाललाई संसार सामु चिनाउने काममा अझै खरो रुपमा लागी पर्ने बताए ।

विदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनएको विश्व सम्मेलन र सम्मेलनमा भाग लिनेहरुको यतिसारो चर्चा नेपाल र संसारभरि हुँदा नेपालको झण्डा काँधमा ओडेर यतिका बर्ष विदेशीभुमिमा नेपाललाई चिनाउन मरिमेटेर लाग्ने एउटा खेलाडीलाई न त एनआरएनए ले नै कुनै चासो दियो न त उनी बसोबास गर्ने राज्य भर्जेनिया र वरपरका छिमेकी राज्य मेरिल्याण्ड, न्युयोर्क, डिसी लगायतका राज्यमा संचालित सामाजिक संघसंस्थाहरुका साथै नेपालका मुख्य मिडियाले समेत कुनै न्युज कभरेज गरे भन्दै उनले प्रति प्रश्न गर्दै भनेकी – मैले विश्व सामु राखेको रेकर्ड सबै सामु आउने गरि सरकारी मिडिया, सरकारी स्तरबाट जानकारी गराउन कुनै राजनितिक दलको बिल्ला टाँगेर हिड्नु पर्यो वा मिडियाकर्मी र खेलकुद परिषदका पदाधिकारीलाई हात जोडेर मेरो समाचार छापी देउ, मेरा बारे केही बोली देउ भन्नु पर्यो ? मलाई ठुलो पुरस्कार राशी देउ भनेर कुनै अनुनयविनय गरेको छैन केवल मैले राष्ट्रको लागी हरदम जोखिम लिएर नयाँ नयाँ आविस्कारयुक्त कराते विधाको खेल खेलेर अन्तरराष्ट्रिय जगतमा नेपालको झण्डालाई उचो राख्ने काम गरेको छु, कम्तिमा यसबारे सबै नेपालीले थाहाँ पाउनु पर्छ र आउँदो युवा पिडी देशमै बसे पनि वा विदेशमै बसे पनि अर्थात् संसारको जुन कुनामा गएपनि नेपाललाई जुनसुकै तवरबाट पनि चिनाउन प्रोत्साहन मिलोस् भन्ने आफ्नो चाहना रहेको र यसका लागी आफ्नो यो उपलव्धीयुक्त समाचारले सकारात्मक संदेश दिन्छ भन्नु के मेरो ठुलो पाप हो ? हैन भने किन नेपाली राष्ट्रिय मिडियाहरुको नजरबाट म किन टाढा भए र मैले पाएको सफलताको किन कुनै मुल्यांकन भएन ? गुण्डाहरुलाई राजनितिक दलले ससम्मान पार्टीमा खादा ओडाएर सम्मान गर्ने र त्यसबारे राष्ट्रिय मिडियामा कभरेज हुने तर राष्ट्रलाई चिनाउन लागीपरेको एउटा खेलाडीको सफलतामा कुनै चासो नदिदा वा कतैबाट आवाज नउठ्नु कति लज्जाको विषय हो, आफै बताउनु होस् भन्दै आफ्नो आक्रोसयुक्त भनाई उनले राखे । त्यस्तै अमेरिकाका स्थानिय सामाजिक संघसंस्थामा पदाधिकारी चयनका लागी गरिएका निर्वाचन सम्बन्धी न्युजले नेपालको राष्ट्रिय मिडियामा कभरेज प्राथमिकताका साथ पाउँदा समेत नेपाल राष्ट्रकै पहिचान झल्काउने कृति राख्दा पनि कुनै चासो नदेखिनु झनै विडम्बना हैन र ? भन्ने थप भनाई समेत राखे ।

हुनपनि विदेशमा सामान्य हातमुख जोर्ने काम गरेर सधै नेपालको माया र ममता छातीमा राखेर देशको झण्डालाई सधै उच्चो राख्दै खेल खेलेर अनेक प्रतिस्पर्धामा नेपालको नाम चिनाउन सफल खेलाडीको कुनै मुल्यांकन नहुने भनेको आम खेलाडीहरुकै अपमान हो । नेपालीहरु रहरले नभएर बाध्यताले विदेशिएका छन् तर कमै मात्र नेपाली छन् जसले आफु र आफ्नो परिवार भन्दा देशलाई अन्तरराष्ट्रिय जगतमा चिनाउन मरिमेटेर लागेका छन् । यस्ता व्यक्तीलाई कमसेकम अरु नभएपनि शान्त्वनाका शव्दहरु, प्रसंसा गरेर खासै केही गुमाउनु पर्दैन नेपाल राष्ट्रले बरु नेपाललाई गौरवान्वित बनाउने काममै उनीहरुको थप योगदान रहन्छ । त्यसो त नेपाली राष्ट्रिय मिडियाहरुले कतिपय सामान्य समाचारलाई पनि जोडकासाथ प्रसारण गर्ने गरेको देखिन्छ भने अर्को तर्फ महत्वका साथ प्रसारण गरिनु पर्ने समाचारलाई कुनै प्राथमिकता नै दिईदैन अर्थात् कुन कुरालाई कसरी प्राथमिकता दिएर समाचार लेख्ने, टिभि/रेडियोबाट समाचार वाचन गर्ने भन्नेमै खासै चासो दिदैनन् ।

अत: यस्ता किसिमका काम जसले नेपाल र नेपालीको पहिचान विश्व सामु परिचित गराउन सकिन्छ । त्यसलाई कुनै विना पुर्वाग्रह मिडियामा प्राथमिकताका साथ आउनु पर्छ । त्यसले मात्रै नेपालीहरु जहाँ रहेपनि हरतरहले नेपाल लाई विश्व जगतमा परिचित गराउन लागी पर्छन् । अझै खेल जगत त त्यस्तो जगत हो जसले सजिलै विश्व सामु नेपाललाई परिचित गराउन सकिन्छ । तसर्थ नेपालमै रहेर खेल खेलेर नेपालको शिर उच्च राखे पनि र विदेशमै बसेर भएपनि नेपालको शिर उच्च राखेपनि समान महत्व र सम्मान खेलाडीलाई गर्नु पर्ने देखिन्छ । यस तर्फ सम्वन्धित सबैको ध्यान जान सकोस् ।

प्रतिक्रिया