पार्टी भन्दा पनि देशको लागि एमालेसँग सहमति – परिवार दलका केन्द्रीय अध्यक्ष ढकाल, आमाको किरिया बसेका ढकालको निवासमा केन्द्रीय कमिटी बेैठक एवम् पत्रकार सम्मेलन

इनेप्लिज २०७४ असोज २४ गते १४:०७ मा प्रकाशित

शिशिर सिंखडा
खोलेसिमल, चितवन, २४ असोज ।

नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष टेकनाथ ढकालले आफ्नो पार्टीको फाईदा भन्दा पनि देशको निकास र विकासको लागि नेकपा एमालेसँग ३ बुँदे सहमति गरेको बताएका छन् । मुलुकलाई स्पष्ट बहुमतको सरकारको खाचो रहेको भन्दै अध्यक्ष ढकालले पार्टी भन्दा पनि देशमा स्थायी सरकार आजको आवश्यकता भएको बताए ।

स्पष्ट बहुमत सहितको स्थायी सरकार विना देशको विकास र देशमा शान्ति नहुने भएकोले मुलुकको हितको लागि एमालेसँग सहमति आजको आवश्यकता रहेको उनले बताए । गत २१ गते शनिबार उनको आमाको स्वर्गारोहण भएकोले आमाको किरिया बसेका ढकालले चौथो दिन किरियास्थलमा नै पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् ।

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल स्थित आफ्नै निवासमा आयोजित पार्टी कमिटीको केन्द्रीय बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ढकालले पार्टीले चुनाव हार्ने डरले नेकपा एमालेसँग सहमति गरेको नभई देशमा दिगो शान्ति र विकास विना राष्ट्र समृद्ध हुन नसक्ने भएकोले आफ्नो पार्टीले सो सहमति गरेको बताए । गत २० गते साझ नेकपा एमालेसँग ३ बुँदे सहमति भएकोले सोको पूर्ण रुपमा पालना गर्न समेत उनले बैठकमा सबै केन्द्रीय कमिटीका पदाधिकारीहरु एवम् सदस्यहरुलाई निर्देशन दिएको समेत बताए ।
राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रको लागि भएको सहमति अनुसार आफ्नो पार्टीले यसपटकको निर्वाचनमा “नेपाल परिवार दलको आह्वान–सूर्यमा मतदान” भन्ने नाराका साथ सबै नेता, कार्यकर्ता आ–आफ्नो क्षेत्र र जिल्लामा गएर काम गर्न समेत निर्देशन दिएको अध्यक्ष ढकालले बताए । नेकपा एमालेसँग भएको सहमति पार्टी विलयको लागि नभएको र एमालेसँग पार्टी एकिकरण पनि नहुने उनले बताए । अहिलेको सहमतिले देशमा निकास ल्याउने र देशले आर्थिक समृद्धितर्फ लम्कनेमा आफु ढुक्क भएको समेत उनले बताए ।

२ प्रतिशत सिट पाउनुपर्ने परिवार दलको माग

परिवार दलका केन्द्रीय अध्यक्ष ढकालले गत संविधान सभाको निर्वाचनमा प्राप्त मतको आधारमा आफ्नो पार्टीले २ प्रतिशत उम्मेदवार पाउनुपर्ने बताएका छन् । यही मंसिरमा हुने निर्वाचनमा नेकपा एमाले, एमाओवादी केन्द्र, नयाँ शक्ति नेपाल र परिवार दल सहितको गठबन्धनले मतको आधारमा केन्द्र र प्रदेशमा प्रत्यक्ष तथा समानुपातिक तर्फ सांसदको उम्मेदवारी पाउनुपर्ने बताएका छन् । देशको निकास, विकास र शान्तिको लागि सहमतिमा रहेका दलसँग सहकार्य र छलफलबाट सबै कुरा टुङ्गो लाग्नेमा आफु विश्वस्त रहेको समेत अध्यक्ष ढकालले बताए ।
सरकार निर्वाचन सार्न खोज्दैछ

नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष ढकालले शेर बहादुर नेतृत्वको सरकारले आगामी मंसिरमा हुने निर्वाचन सार्न खोजिएको बताएका छन् । विभिन्न बहानामा निर्वाचन सार्नु देश र जनताको लागि अहित हुने उनले बताए । आफैले सारेको निर्वाचनले प्रधानमन्त्री शेर बहादुर देउवा आफैलाई घातक हुन सक्ने समेत उनले बताए । निर्वाचन सारेमा सरकार समेत परिवर्तन हुन सक्ने सम्भावना रहेको भन्दै ढकालले निर्वाचन सारेमा सर्वपक्षीय सरकारको विकल्प नहुने समेत उनले बताए ।

परिवार दलको केन्द्रीय बैठक सम्पन्न

नेपाल परिवार दलको आज मंगलबार केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष ढकालको ममतामयी माता टंक कुमारी ढकालको स्वर्गारोहण भएको आज चौथो दिन ढकाल निवासमा देशको वर्तमान राजनीतिक परिस्थितीका कारण आकस्मिक बैठक बसेको थियो । सो बैठकले नेकपा एमालेसँग भएको ३ बुँदे सहमतिलाई अनुमोदन गरेको छ । बैठकले आगामी मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी छनोट र चयन गर्न नेकपा एमाले लगायतका दलसँग छलफल र निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिलाई अधिकार दिइएको छ । साथै बैठकले केन्द्रीय अध्यक्षको ममतामयी माताको ८२ वर्षको उमेरमा भएको असामयिक निधन प्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।

बैठकमा सहभागी केन्द्रीय कमिटीका पदाधिकारी एवम् सदस्यहरुले पार्टीको तर्फबाट केन्द्र, सबै प्रदेश र समानुपातिक तर्फ पनि उम्मेदवारी अनिवार्य हुने गरी सहमति भएका दलहरुसँग छलफल गर्नुपर्ने बताएका थिए । बैठकमा पार्टी केन्द्रीय कोषाध्यक्ष एवम् सांसद मिलन कुमारी राजवंशी, केन्द्रीय महामन्त्री बिनोद डाँगी, केन्द्रीय सदस्य अब्दुल कयुम शाह लगायत १ दर्जनभन्दा बढीले आ–आफ्नो धारणा राखेका थिए ।

स्मरणरहोस्, स्वर्गीय ढकालको २ छोरा र ७ छोरी रहेका छन् । जेठा छोरा एकनाथ ढकाल सांसद एवम् नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एवम् उनी यस अगाडि शान्ति मन्त्री र सहकारी तथा गरिबी निवारण मन्त्री समेत भइसकेका छन् । कान्छा छोरा धर्म प्रसाद ढकाल पनि सोही दलका चितवन जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया