मुलुकको सँरचना अनुसार नेपाल रेडक्रसले नयाँ साँगठनिक सँरचना बनाउने

इनेप्लिज २०७४ असोज २७ गते १४:०६ मा प्रकाशित

मुलुकको नयाँ सँरचनासँग अनुकुलित गर्दै सँस्थाको विधानलाई परिमार्जन गर्ने र राष्ट्रिय अन्तराष्ट्रिय परिदृश्यमा देखिएका नयाँ मानवीय चुनौतीहरुलाई आत्मसाथ गरी मानवीय गतिविधिहरुलाई अझ प्रभावकारी बनाउने नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले निर्णय गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको विहिबार नगरकोटमा सम्पन्न दुइदिने बार्षिक समिक्षा बैठकले सो निश्कर्ष निकालेको हो । सँस्थाका मानवीय सेवा गतिविधिमा स्थानीय तहहरुसँगको सहकार्य बढाउन तथा सामुदायिक सहभागिता वढोत्तरी गर्न नीतिगत आधारहरु तयार गरिने नेरेसोले जनाएको छ । वैठकको अध्यक्षता गर्नुभएका नेरेसोका अध्यक्ष संजीव थापाले सामुदायिक सहभागिता र स्वयंसेवकको बलबाट नै सँस्था सञ्चालित भैरहेकोले समुदायको सँलग्नता बढाउन र प्रभावकारी सेवा प्रदान गर्न समीक्षा बैठकले बाटो निर्देश गरेको बताउनुभयो ।

मुलुकको नयाँ सँरचना अनुसार सँस्थालाई अनुकुलित गर्न नेपाल रेडक्रसको मौजुदा विधानमा गर्नुपर्ने समसामयिक परिवर्तनको विषयमा व्यापक छलफल भइरहेको जानकारी गराउँदै नेरेसोका उपाध्यक्ष हरि निरौलाले प्रस्तावित परिमार्जनमा स्थानीय र प्रादेशिक सँरचनासँगको समन्वय वढाउन चार तहको साँगठनिक व्यवस्था गरिएको र नेतृत्वमा महिलाहरुको सहभागिता सुनिश्चित गरिएको जानकारी दिनुभयो । आगामी महाधिवेशनले विधान सम्बन्धमा अन्तिम निर्णय लिनेछ ।

सँस्थाको गत एक वर्षको प्रगतिको बारेमा प्रस्तुत गर्दै सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भूकम्पमा मात्र नभएर बाढी प्रभावित क्षेत्रमा पनि तत्कालै उद्धार र राहतको कार्य गरिएको बताउँदै बाढी प्रभावित क्षेत्रमा एकिकृत कार्यक्रम सञ्चालन गर्न तयारी भैरहेको बताउनु भयो ।

समीक्षाको क्रममा २०७२ सालको भुकम्प पश्चात ६ हजार ६ सय १३ परिवारलाई आवास सहयोगको लागि ६७ करोड रकम सहयोग गरिएको जानकारी दिइयो । त्यस्तै हालैको बाढीबाट अति प्रभावित ९ जिल्लाहरुमा पुर्नलाभ गतिविधिहरु सञ्चालन गर्ने जानकारी दिइयो । समिक्षा बैठकमा रेडक्रसको अन्तराष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किम,(Juja Kim) रेडक्रसको अन्तराष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पाके (Andre Paquet ) र सहयोगी रेडक्रस सोसाइटीको तर्फबाट स्वीटजरल्याण्ड रेडक्रसका नेपाल प्रतिनिधि कमल बरालले नेपालमा अन्तराष्ट्रिय सहयोगको प्राथमिकता क्षेत्रहरुको जानकारी गराउँदै नेपाल रेडक्रससँगको साझेदारी सुदृढ बढाइने बताउनुभयो । भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश प्रसाद ढकालले नेरेसोबाट सञ्चालित भूकम्प पुनर्लाभ कार्यक्रमको प्रगति र चुनौतिहरुको जानकारी गराउनु भएको थियो । त्यस्तै वाढी प्रभावित क्षेत्रहरुमा गरिएको सहयोगको बारेमा विपद व्यवस्थापन विभागका कामू निर्देशक धर्मराज पाण्डेय तथा शुरक्षाका विषयमा डा. मीन बहादुर पौडेल क्षेत्रीले प्रस्तुती गर्नुभएको थियो ।

विभिन्न अन्तराष्ट्रिय सहयोगी राष्ट्रका प्रतिनिधीहरु, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्यहरु, समितिका सँयोजकहरु, रेडक्रसका विभिन्न विभागका प्रमुख र प्रतिनिधीहरुले समीक्षामा प्रस्तुत विषय बस्तुहरुमा छलफल गर्दै रेडक्रसप्रति जनविश्वास र अपेक्षा वढ्दै गएको अहिलेको अवस्थामा व्यवस्थापकीय क्षमता र सँस्थागत आयमा वढोत्तरी गर्दै आर्थिक स्रोत व्यवस्थापनलाई दीगो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया