नेकपा एमाले र माओवादी केन्द्रबिचको एकता प्रक्रियामा एक भारी विवाद छन् : झलनाथ खनाल

इनेप्लिज २०७४ असोज ३० गते २२:३० मा प्रकाशित

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकता प्रक्रियालाई सबैले चुनौतिपूर्ण मानेका छन् । कतिपयले आगामी चुनावका लागि गरिएको चुनावी तालमेल मात्रै हो भन्ने टिप्पणीसमेत गरेका छन् । यसै सम्बन्धमा ऋषि धमलाले नेकपा एमालेका नेता झलनाथ खनालसँग कुराकानी गरेका छन् । पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्षसमेत रहेका खनालसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको सहमति दिगो हुन्छ ?

नेकपा एमाले माओवादीसँग मिलेर चुनावी अभियानमा एकतावद्ध भएर अगाडि बढ्छ । पार्टी एकताको जुन प्रक्रिया थालनी भएको छ, यसका दुईवटा चरण छ्, पहिलो चरण भनेको आगामी निर्वाचनमा तालमेल र दोस्रो चरण भनेको पार्टी एकीकरण हो । यो दुईवटै कुराहरु कठीन छ ।

माओवादीले त पार्टी एकता गर्न गाह्रो छ भनेको छ नि ?

गाह्रो भएकै कारणले नेकपा एमालेले पहलकदमी लिएको हो । सजिला सजिला काम त नेकपा एमालेका देब्रे हातका खेलहरु हुन् । पार्टी एकता चाँही दाहिने हातले सुरु गरेका छौँ । अब ऐतिहासिक एकता हुन्छ ।

दुई दलबिचमा कुरा नमिलेका विषय धेरै छन्, एकता कसरी सम्भव छ ?

हाम्राबीचमा विवादका कुरा गर्नुहुन्छ भने एक भारी विवाद छन् । एक घ्याम्पो विवादहरु छन् । वैचारिक क्षेत्रमा विवाद होलान्, सैद्धान्तिक रुपमा विवाद होलान् । राजनीतिक रुपमा विवाद होलान् । नीतिगत रुपमा विवाद होलान् । हामीसँग विवाद मात्रै छैन, एकरुपता पनि छ । एकरुपता र विवादका विषयलाई विश्लेषणात्मक र माक्र्सवादी दृष्टीकोणबाट हेर्नुपर्छ । एकताका प्रक्रियाहरुलाई सिमेन्टेड गर्दै विवाद समाधान गर्नुपर्छ ।

एकाले बहुदलीय जनवादमा विश्वास गर्नुहुन्छ, माओवादी साम्यवादको लक्ष्यमा छ । यो अवस्थामा पार्टी एकताका लागि चुनौति होइन ?

एकता र विवादका पक्ष दुवै छन् । विवादका विषयमा जति पनि मुद्दाहरु छन्, ति मुद्दाहरु हल गर्न नसकिने कुनै पनि छैनन् । विवादका विषयमा गम्भीर रुपमा छलफल गर्दै गएपछि समाधानका उपाहरु निकाल्न सक्छौँ ।

पदको बाँडफाँट कसरी मिलाउनुहुन्छ ? पद बिना त कोही पनि राजनीति गर्न चाँहदैनन् नि ?

पदहरु भनेका अवसरहरु हुन् । लक्ष्य र आदर्श प्राप्त गर्नका लागि संघर्ष गर्दै गएपछि उपलब्धिहरु प्राप्त हुन्छन् । उपलब्धिले अवसर ल्याउँछ । त्यसपछि पदहरु न्यायोचित रुपमा वितरण गर्नुपर्छ । हामी सजिलै पद भागबण्डा गराउँछौँ । यो कुरा स्वभाविक हो । अहिले हामी बसिरहेको पद छोडेर अरु कुनै पद आइलाग्छ भने हामी स्विकार गर्न तयार छौँ । एउटै पदले कसैको जीवन वित्ने होइन । आलोपालो गछौँ ।

चुनावी तलमेलमा कसलाई कुन क्षेत्र दिने भन्नेमा सहमति हुन सकेको छैन । एकता कसरी सम्भव छ ?

हामीसँग भूगोल छ । भूगोलका विषयमा भद्रगोल पनि छ । अरु धेरैखालका गोलहरु पनि छन् । नेकपा एमाले र माओवादी मिलेपछि रानीतिक गोल हुन्छ ।

कार्यकर्ताको निर्णयलाई कार्यकर्ताले मान्छन् ?

वामपन्थी एकतालाई कुनै पनि कार्यकर्ता वा समर्थकले दुई हात उठाएर स्वागत गर्छन् । हामी सुरुदेखि नै वामपन्थी एकताको पक्षमा थियौँ । एउटा कम्युनिष्टले अर्को कम्युनिष्टलाई विहानदेखि बेलुकासम्म गाली मात्रै गरिरहन्थे । त्यस्ता मान्छेहरुसमेत अहिले एकताको पक्षमा छन् ।

अहिले पनि नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु छन् । तिनीहरुलाई सहमति गराउन सक्नुहुन्छ ?

कम्युनिष्टहरु विभाजन हुँदै जाँदा तीन दर्जनभन्दा कम्युनिष्ट शक्तिहरु देखा परे । तिनीहरुलाई एकता गरेर निर्माण गरिएको पार्टी नेकपा एमाले हो । हामीसँग एकता प्रक्रियाका अत्यन्त महत्वपूर्ण अनुभवहरु छन् । अनुभवका भण्डारका ज्ञानलाई मनन गर्दै नेपालका कम्युनिष्टहरुलाई एकीकृत गर्नेछौँ । सत्तरीको दशक कम्युनिष्टहरुको एकताको दशक बन्नेछ ।

नेपालका कम्युनिष्टहरु त पार्टीको नामको साइनबोर्ड राखेर अध्यक्ष वा महासचिव हुँ भन्दै पदको धाक लागाउनेहरु छन् । यसको अन्त्य गर्न सकिन्छ ?

तपाईले महत्वपूर्ण कुरा गर्नुभयो । यसले नेपालका कयौँ कम्युनिष्टहरुलाई गजबको व्यङ्ग्य पनि गर्नुभयो । अब यो प्रवृत्तिबाट सबै मुक्त हुनुपर्छ । अलग अलग अगेना बनाउने, अलगअलग कसौँडीमा दाल पकाउने र बाक्लो दाल खाने जुन प्रवृत्ति छ, यसले नेपालको कम्युनिष्ट आन्दालनलाई घात गरेको छ । त्यसैले अब सबै एकतावद्ध भएर जानुपर्छ ।

प्रतिक्रिया