लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरु नै नेपाली कांग्रेस सिध्याउने खेलमा लागेका छन् : शेखर कोइराला

इनेप्लिज २०७४ कार्तिक ७ गते १३:२९ मा प्रकाशित

सबै कुरा गुमाएर कांग्रेसले गठबन्धन बनाउन सक्दैन ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच वाम गठबन्धन भएपछि नेपाली कांग्रेस लोकतान्त्रिक गठबन्धन निर्माणमा लागेको छ । तर राजपा, संघीय समाजवादी फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग गठबन्धन गर्न लागेको कांग्रेसलाई ति दलहरुले हैसियतभन्दा बढि सिट मागेपछि समस्या परेको छ । एकातिर गठबन्धन गर्नुपर्ने बाध्यता, अर्कोतिर सहमति जुटाउन कठीन । यिनै विषयमा नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालासँग ऋषि धमलाले कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

पहिलो चरणको चुनावका लागि पार्टीले छानेको उम्मेदवाविरुद्ध बागी उम्मेदवाहरु पनि देखिए । किन यस्तो भयो ?
उम्मेदवारका आकांक्षी धेरै छन् । एउटा क्षेत्रमा एक जनालाई मात्र टिकट दिनुपर्ने हुन्छ । कतिपयले चित्त बुझाउँछन्, कति बागी बन्छन् । अब गर्ने के ? हामीले त सोच विचार गरेर राम्रैसँग व्यवस्थापन गर्ने प्रयास गरेका छौँ ।

टिकट दिन नसकिएका तर असन्तुष्ट बनेका नेताहरुलाई किन सम्झाउन सक्नुभएन ?
हामीले सम्झाउने काम गरिरहेका छौँ । असन्तुष्टी हुनु स्वभाविक नै हो । तर सम्भव भएसम्म व्यवस्थापन गरिरहेका छौँ । कतिपयले आफैँ जित्ने दाबी गर्दै हाम्रो कुरा सुन्दैनन्, मान्दैनन् । कतिले अन्तरघात पनि गर्न खोज्छन् । जुनसुकै पार्टीमा पनि यस्तै छ ।

तपाईहरुको जिम्मेवारी असन्तुष्ट पक्षलाई पनि व्यवस्थापन गर्ने होइन ?
व्यवस्थापन गरिरहेका छौँ । नगरेको भए त अझ धेरै ठाउँमा समस्या देखिन्थ्यो ।

तपाईहरुले भन्दा पनि नमान्ने असन्तुष्ट तथा बागी उम्मेदवाहरुलाई कारबाही गर्न सक्नुहुन्छ ?
त्यसरी बागी उम्मेदवार दिनेसहित प्रस्तावक र समर्थकलाई कारबाही गर्ने व्यवस्था त पार्टीले गरेकै छ नि ।

दोस्रो चरणको चुनावका लागि कुन दलसँग कसरी तालमेल गर्ने योजना छ ?
मधेशमा राजपा र संघीय समाजवादी फोरमसँग चुनावी तालमेलको प्रयास भइरहेको छ । अन्य दलहरु राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग पनि तालमेल गछौँ ।

कमल थापासँग त तालमेल गर्नुहुँदैन भन्ने आवाज पार्टीभित्रै उठेको छ नि ?
तालमेल गर्न चाहने दलहरुले के बुझ्नु जरुरी छ भने आफ्नो दलको २ हजार भोट भएको ठाउँमा कांग्रेसको १८ हजार भोट छ भने त्यो क्षेत्र आफुलाई चाहिन्छ भन्न मिल्दैन । कांग्रेससँग तालमेल गर्न चाहनेले यो कुरा बुझ्नुपर्छ । हामीले त आफु कमजोर भएको ठाउँमा अरुलाई सहयोग गर्ने हो । हामी बलियो भएको ठाउँमा हामीलाई सहयोग गर्नुपर्छ ।

पहिलो चरणमा राप्रपालाई कति सिट दिनुहुन्छ ?
कमल थापा नेतृत्वको राप्रपालाई कति सिट दिने भन्ने टुङ्गो लागिसकेको छैन । उहाँहरुले धेरै ठाउँ माग्नुभएको छ । उहाँहरुले मागे जति दिन सकिदैन ।

किन ?
उहाँहरुले झापाको क्षेत्र नम्बर ३ माग्नुभएको छ । हामी दिन सक्दैनौँ । त्यहाँबाट हाम्रो पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जित्ने ठाउँमा कसरी दिने ?

पहिला त झापा ३ राप्रपालाई दिने भनि सम्झौता गर्नुभएको होइन ?
सम्झौता भएकै छैन । त्यसरी दिन थालियो भने त कांग्रेस किन चाहियो ? मधेशमा मधेशी दललाई छोड्ने, पहाडमा अरुलाई दिने, अनि नेपाली कांग्रेस पार्टी कहाँ रह्यो ? कसैसँग पनि लिखित सम्झौता भएको छैन । झापा ३ र दैलेखमा पनि हामी छोड्न सक्दैनाँै । दैलेखमा कमल थापाको पार्टीलाई १७ सय भोट आउँदा कांग्रेसलाई १८ हजार भोट आएको छ । कसरी दिन सकिन्छ ? कमल थापाले नेपाली कांग्रेसलाई सिध्याउने खेल त खेलिरहनुभएको छैन ? उहाँहरुको बाँकेमा बलियो छ भने दिउँ । कमल थापाको लागि मकवानपुर मागिएको छ, त्यसमा हामी तयार हुनुपर्छ । जायज कुरा त हामी मान्छौँ नि । तर जहाँ उहाँहरुको जनमत नै छैन, त्यहाँ त दिन सकिदैन ।

कसरी तालमेल सम्भव छ त ?
कमल थापाजी राष्ट्रिय नेता हो । उहाँलाई हामीले छोड्नुपर्छ । तर उहाँले माग्दै जाने हामीले दिदै जाने गर्न सकिदैन ।

बिरगंजमा राप्रपाका राजिप पराजुलीलाई दिन लाग्नुभएको हो ?
बिरगंजमा राप्रपाको कति भोट छ ?

राप्रपालाई सात सिट दिने सहमति भएको होइन ?
उहाँहरुले नौ सिट माग्नुभएको छ । तर कहाँ कहाँ बलियो छ भनेर नौवटा ठाउँ देखाउन सक्नुप¥यो नि । मलाई त के डर लागिरहेको छ भने नेपाली कांग्रेसलाई समाप्त पार्ने खेल भइरहेको छ ।

मधेशमा राजपा र समाजवादी फोरमले कति सिट मागेका छन् ?
मधेशमा भएका ३२ सिटमध्ये २४ वटा सिट राजपा र फोरमले मागेका छन् । अब दिने हामीले ? २४ सिट दिएर हामी केमा राजनीति गर्ने ? उहाँहरुको क्षेत्रीय पार्टी हो । राष्ट्रिय पार्टी होइनन् । उहाँहरुले यो कुरा मान्नुपर्छ । प्रदेशमा धेरै लिनुस्, केन्द्रमा हामीलाई धेरै दिनुस् भनेका छौँ । यहाँ त नेपाली कांग्रेसलाई समाप्त पार्ने खेल खेलिदैछ । पहाडमा दुईवटा कम्युनिष्टहरु मिले । तराईमा मधेशी दलहरुलाई दिएपछि कांग्रेस कहाँ रहन्छ ?

त्यो कुरा त तपाईहरुल नेतृत्व तहका नेताले बुझ्नुपर्ने होइन ?
मैले बुझेको छु । सहमति भनेको कहाँ कसले जित्न सक्छ भन्ने कुरा अध्ययन गरेर गर्नुपर्छ ।

कांग्रेसले एक्लै चुनाव लड्न नसकेर लोकतान्त्रिक गठबन्धन बनाउन लागेको हो ?
त्यस्तो होइन । हामी एक्लै चुनाव लड्ने आँट गर्न सक्छौँ । तर कम्युनिष्टहरुले गठबन्धन गरेपछि अधिनायकवाद ल्याउने बाटोमा हिँड्न लागेका छन् ।

नेपालमा कम्युष्टि शासन आउन सक्छ ?
आउन सक्छ वा सक्दैन भन्ने कुराभन्दा पनि एमालेका केही नेताहरुले दिएको अभिव्यक्तिले आशंका उब्जिएको छ । योगेश भट्टराई, जो एमालेका सचिव छन्, उहाँले बोलेको कुरा सम्झिनुस् । दुई दलको अहिलेको प्रक्रिया पहिलो खुट्किलो हो । पछि एक दलीय शासन ल्याउने कुरा गरिरहेका छन् । दुई दलको भित्रि चाहना पनि यही हो । त्यसैले लोकतान्त्रिक गठबन्धन जरुरी भएको हो । तर सबै कुरा गुमाएर कांग्रेसले गठबन्धन बनाउन सक्दैन ।

प्रतिक्रिया