एमाले र माओवादी लोकतन्त्र र समृद्धिप्रति प्रतिबद्ध देखिएनन्, कम्युनिष्ट शाषन प्राप्तिको बाटोमा हिँडेका छन् : प्रदिप पौडेल

इनेप्लिज २०७४ कार्तिक १६ गते ९:४१ मा प्रकाशित

नेपाली कांग्रेसले आगामी प्रतिनिधीसभा र प्रदेशसभाको चुनावलाई लक्षित गरी घोषणा पत्र तयार पारेका छ । मंगलबार सार्वजनिक गर्ने भनिएको घोषणापत्र सोमबार नै सार्वजनिक भइसकेको छ । घोषणपत्रका बारेमा ऋषि धमलाले कांग्रेसका युवा नेता तथा घोषणापत्र मस्यौदा समितिका सदस्य प्रदिप पौडेलसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको पौडेलसँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

नेपाली कांग्रेसको घोषणापत्रको विशेषता केके हो ?

राजनीतिक र आर्थिक विषयलाई घोषणापत्रमा समावेश गरेका छौँ । नेपालमा सबैखालको अतिवादको अन्त्य गर्ने हाम्रो उद्देश्य हो । संविधानलाई सम्पूर्ण रुपमा कार्यान्वयन गर्ने र देशलाई स्थिरताको बाटोमा लैजाने कांग्रेसको प्रमुख लक्ष्य हो । आर्थिक समृद्धिको बाटोमा देशलाई लैजाने विषयमा घोषणापत्रमा चित्रित गरेका छौँ ।
एकीकृत सामाजिक सुरक्षा कार्यक्रम समावेश गरिएको छ । उक्त कार्यक्रममा गर्भदेखि सम्मानजनक मृत्युसम्म राज्यले सुविधा दिने हाम्रो लक्ष्य छ । सामाजिक सुरक्षा प्रदान गर्ने विषयमा कांग्रेस प्रतिवद्ध छ र त्यही कुरा नै घोषणापत्रमा उल्लेख गरिएको छ ।

आधिकारिक रुपमा सार्वजनिक नहुँदै तपाईहरुले किन बाहिर ल्याउनुभयो घोषणापत्र ?
हामीले आज घोषणपत्र सार्वजनिक गर्दैछौँ । १२ बजे कांग्रेसको पार्टी कार्यालयबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । तर केही जिस्ट बाहिर आएको छ ।

तपाईहरुको घोषणापत्रमा वाम गठबन्धनलाई किन नकारात्मक रुपमा व्याख्या गरिएको हो ?
वाम गठबन्धन सत्ताप्राप्तीका लागि हो भन्ने कुरा कांग्रेसले मात्रै होइन, सबैले बुझेको कुरा हो । कम्युनिष्ट जनवादी व्यवस्था नेपालमा ल्याउनका लागि उहाँहरु मिल्नुभएको हो । एमाले र माओवादीको उद्देश्य नै साम्यवाद हो ।

वाम गठबन्धनप्रति तपाईहरु किन आत्तिनुभयो ?

हामी आत्तिएको छैन । वाम गठबन्धन होइन, कम्युनिष्ट गठबन्धन हो भनेर प्रष्ट पारेका मात्रै हौँ । माक्र्सवादी, लेलिनवादी र माओवादीहरु एकआपसमा मिलेका हुन् । उहाँहरुबिचको अन्तरविरोधलाई अन्त्य ग¥यौँ भनेर कम्युनिष्ट व्यवस्था ल्याउने बाटोमा हिँड्नुभएको हो । यही यथार्थ प्रष्ट पारेका हौँ । आत्तिएका होइनौँ ।

एमाले र माओवादीप्रति घोषणपत्रमा लगाइएका आरोप कसरी पुष्टी हुन्छ ?

एमाले र माओवादी पनि लोकतन्त्रप्रति प्रतिबद्ध छन् भन्ने हाम्रो विश्वास थियो । लोकतन्त्र नै एकताको आधार बन्छ भन्ने हामीलाई लागेको थियो । तर पछिल्लो चरणमा लोकतन्त्रको आधारभन्दा बाहिर गएर उहाँहरु एकताबद्ध हुनुभयो ।
अघिल्लो दिनसम्म एमालेलाई सत्तोसराप गर्ने, खोटहरु देखाउने, राष्ट्रिय एकताको विरोधी भन्ने, भोलीपल्टै गएर मिल्नुभयो । यसले के पुष्टी गर्छ भने माओवादीले सत्ताप्राप्तीका लागि एकता भएको हो ।

तपाईहरुको भनाईअनुसार माओवादीमा वैचारिक विलचन र अवसरवादी प्रवृत्ति देखिएको हो ?

१२ बुँदे सम्झौतापछि जसरी लोकतन्त्रप्रति उन्मुख भएको भनेर बुझ्ने अवस्था थियो, त्यो कुरामा अहिले आशंका पैदा गर्ने अवस्था सृजना भएको छ । त्यसैले एमाले र माओवादी दुवै दलको लक्ष्य माओवादलाई नै अङ्गाल्ने प्रतिवद्धता देखिएको छ । माओवादी विचारलाई कार्यान्वयन गर्ने, जनवादी राजनीतिक व्यवस्थालाई सुदृढ गर्ने उहाँहरुको लक्ष्य देखिन्छ । एमाले पनि कम्युनिष्ट विचारका आधारमा माओवादीसँग मिलेको हो

तपाईहरुले पनि कुनै बेला प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभयो । प्रशंसा गर्नुभयो । अहिले एमालेसँग मिल्दैमा माओवादीलाई गाली गर्न मिल्छ ?

सैद्धान्तिक आधारमा माओवादी र कांग्रेस फरक विचार बोक्ने राजनीतिक दल हुन् भनेर बुझिने अवस्था थियो । माओवादी कांग्रेससँग मिल्दा उसले पनि लोकतन्त्रलाई मानेको भनेर स्विकार गर्न सकिएको थियो । पुराना विचारलाई त्यागेर अगाडि बढ्न खोजेको थियो । तर पछिल्लो परिस्थितीमा सरकार निर्माण गर्ने कुरालाई हामीले आधार बनाएका थियौँ । सरकार संविधान कार्यान्वयन गर्नका लागि हामी मिलेका थियौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा निर्वाचन गर्न नसकेपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएका हौँ । त्यसपछि मात्र संविधाधन कार्यान्वयनको प्रक्रिया अगाडि बढेको हो । यसैका लागि माओवादीसँग मिलेका थियौँ ।

कम्युनिष्टहरुले जिते भने देशमा अस्थिरता बढ्छ भनिएको छ । यसको आधार के छ ?

उहाँहरुको प्राथमिकतामा लोकतन्त्र र समृद्धि देखिएन । संविधान कार्यान्वयनप्रति पनि उहाँहरु प्रतिबद्ध भएको देखिएन । अहिले उहाँहरु जनवादी शासनप्रति उन्मुख हुनुभएको छ । संविधान कार्यान्वयन गर्न सक्यौँ भने मात्रै हामी स्थिरताको बाटोमा जान सक्छौँ । तर उहाँहरु कम्युनिष्ट विचारका आधारमा अगाडि बढ्दा संविधान नमान्ने हो कि भन्ने आशंका बढेको छ । अहिलेको अवस्थामा समृद्धिलाई प्राथमिकता दिनुपर्नेमा उहाँहरुले राजनीतिलाई अघि सार्नुभयो ।

५ वर्षमा ५० खर्वको अर्थतन्त्रको कुरा गर्नुभएको छ । यो सम्भव छ ?

१२ अर्वको अर्थतन्त्रलाई ६० अर्वको बनाउने कांग्रेस नै हो । त्यसैले ५ वर्षमा ५० खर्वको अर्थतन्त्र नहुने कुरा होइन । यो सिलिङलाई भेट्नका लागि औद्योगिकरण बेरोजगारी हटाउने हाम्रो लक्ष्य छ । १० वर्षभित्र नेपालमा ३२ लाख पर्यटक भित्र्याउने कांग्रेसको लक्ष्य छ । सडक संजाललाई सुधार गरेर आवश्यकता अनुसार सबै सडकलाई पक्की बनाउने, श्रमिकलाई पेन्सनको व्यवस्था गर्ने लगायतका योजनाले ५० खर्वको अर्थतन्त्र सम्भव बनाउँछ ।

तपाईहरुले प्रधानमन्त्रीको रुपमा कसलाई अगाडि सार्नुहुन्छ ?

यो विषयमा हामीले अहिले केही छलफल गरेका छैनौँ ।
तपाईले रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्नुपर्छ भन्नुभएको होइन ?
पार्टीभित्र प्रधानमन्त्री र मुख्यमन्त्रीको नाम उल्लेख गरेर निर्वाचनमा जानुपर्छ भनेर हामीले भनिरहेका छौँ । तर निष्कर्ष निस्किएको छैन । तर मैले रामचन्दै पौडेल प्रधानमन्त्रीका लागि योग्य र सम्भावित व्यक्तिको रुपमा लिएको छु । तर यस विषयमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्छ भन्ने हाम्रो भनाई हो । तर यस विषयमा छलफल हुन सकेको छैन ।

प्रतिक्रिया