नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७४ कार्तिक २५ गते ११:०३ मा प्रकाशित

लोकतान्त्रिक समाजवादका प्रतिपादक जननायक विपि कोईरालाले नेपाल र नेपाली जनताको निमित्त ७ दशक अगाडि देखेको सपना पुरा गर्दै, २०७२ साल असोज ३ गते नेपालको इतिहासकै सर्वाधिक महत्व राख्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मुलुकले संविधानसभा मार्फत प्राप्त गरेको छ । जननिर्वाचित प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गर्दै, निर्माण गरिएको यो संविधानको कार्यान्वयन अहिले अन्तिम चरणमा छ ।नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न बनाउँदै, यो संविधानले नागरिकको सर्वोच्चता र सम्प्रभुता स्थापित गरेको छ।मुलुकमा प्राप्त उपलव्धीको संरक्षण र सम्वर्धन गर्न स्थानीय तहको निर्वाचन सकिए लगतै अहिले देश प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको छ । यति नै वेला अनपेक्षित र अस्वभाविक रूपमा नेकपा एमाले र माओवादी केन्द्र वीच लोकतन्त्रको धरोहर नेपाली काँग्रेसलाई नै सिध्याउँने उदेश्यका साथ कम्युनिष्ट गठबन्धन भएको छ । लोकतान्त्रिक मूल्य र मान्यता, सामाजिक सद्भाव र एकता, विधीको शासन र पद्धतिलाई नै कमजोर बनाई निरंकुश कम्यूनिष्ट अधिनायकवाद लाद्ने संकेत यो कम्यूनिष्ट गठबन्धनको छ । यसले अनावश्यक सिंगो मुलुकलाई विभाजनको दिशामा धकेल्दै ध्रुवीकरण गरेको छ ।यो वेलामा सबै लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिन्न जरूरी छ ।

यो निर्वाचन लोकतन्त्रवादी र कम्यूनिष्टहरू वीचको निर्वाचन हो । त्यसैले राष्ट्रिय एकता र लोकतान्त्रिक पहिचानको नवीन आधार बनेको यो संविधानलाई सहि ढंगले कार्यान्वयन गर्न, संविधान निर्माणमा विमति राख्नेहरूको जायज मागहरूलाई संशोधन गरी सबैले स्विकार्ने संविधान बनाउँन, विभिन्न जाति तथा समुदाय वीचको सद्भाव र विश्वासका आधारमा देशलाई संमृद्धि र विकासको मार्गमा अगाडि बढाउँन, राष्ट्रिय एकता र सामाजिक सद्भाव क़ायम राख्न, नेपाली वीचको एकता, भातृत्व र भाईचाराको सांस्कारिक धरोहरहरू बचाई राख्न,शान्ति प्रकृयाबाट विकसित भएको राजनीति संस्कार सहमति, सहकार्य र मेलमिलापको निति अपनाई देशमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक सम्मृद्धि ल्याउँन ,राष्ट्रियता, लोकतन्त्र , सार्वभौमिकता, व्यक्तिगत स्वातन्त्रता, मानवाधिकार, बहुलवादमा आधारित संसदीय शासन प्रणालीलाई जोगाई देशलाई जोड्न लोकतन्त्रको एकमात्र धरोहर पार्टी नेपाली काँग्रेसलाई अहिलेको निर्वाचनमा जिताउँन अत्यावश्यक छ । मुलुकको राष्ट्रियता, लोकतान्त्रिक मूल्य र मान्यतामाथी हुन थालेको अधिनायकवादी प्रहारलाई दृढताकासाथ सामना गर्दै एकतावद्ध भएर उच्च मनोवल र सकृयताका साथ आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली काँग्रेस पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउनका निमित्त आह्वान गर्दै, विजयका लागि आवश्यक माहोल सृजना गरिदिनहुन समेत सम्पूर्ण स्वादेश तथा विदेशमा रहनु भएका लोकतन्त्र प्रेमी दाज्यूभाई तथा दिदीबहिनीहरू, सबै देशका जनसम्पर्क समितिका साथिहरू, नेपाली जनसम्पर्क समिति अमेरिकाका साधारण एवं कृयाशिल साथिहरू, अग्रजहरू, सल्लाहकार ज्यूहरू , कार्यसमितिका साथिहरू , सबै च्याप्टरका सभापति एवं समितिका साथिहरू, सबैलाई नेपाली जनसम्पर्क समिति अमेरिका अनुरोधका साथ हार्दिक आह्वान गर्दछ ।

 

धन्यवाद ! जय नेपाल
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका

प्रतिक्रिया