मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: ०६:५३ | Washington DC: 20:08

न्यूयोर्क ;मुस्कान हराएका मानिसहरुको भीडको शहर :सच्ची मैनाली

विश्वको साँस्कृतिक, आर्थिक र सँचारको राजधानी हो न्यूयोर्क शहर ! अन्तरराष्ट्रिय कुटनीतिको महत्वपूर्ण केन्द्र पनि हो न्यूयोर्क शहर ! न्यूयोर्क अमेरिकाकै अत्यन्त वाक्लो जनघनत्व भएको प्रमुख शहर हो । यहाँ जताततै भीड सल्वलाइरहेको देखिनु यहाँका मानिसहरुलाई सामान्य हुँदो हो, तर नव आगन्तुकहरु भने भीडमा अलमलमा परेका भेटिन्छन् । हतारहतार अफिस जानेहरुका पाइतालालाई ट्रेनमा राख्ने ठाउँ हुँदैन । फर्कदा पनि स्थिति उही हो तर कामको थकानले झन् भारी भएका हुन्छन् पाइतालाहरु ।

यस्तो मान्छेको भीड ठूला शहरमा कहाँ हुँदैन होला र ! काठमाडौंमै पनि बसमा कोचाकोच मात्र होइन एक हातले समातेर झुण्डिदै बस, मिनिवस, टेम्पो लगायतमा यात्रा गरेको नदेखेको नभोगेको होइन । जुलूसमा ट्रक र बसका छतभरि मान्छेको झुण्ड प्रशस्त हुन्थे । तर यहाँको भीड नितान्त नितान्त फरक पो छ त ! त्यहाँ भीडमा पर्नासाथ विशेष गरी महिलाहरु अभद्र व्यवहारको शिकार हुन्छन् तर यहाँको भीडमा त्यो अभद्रता छैन ।

भीडका कारण पाइला राख्ने ठाउँ नपाएर अफिस जाने वेलामा कति पटक त्यो ट्रेन छोडेर अर्को ट्रेन कुर्नु पर्ने अवस्था पनि भोग्नुपर्छ । एउटा प्लेटफार्मवाट आर्कोमा जाने वेलामा कहिले काहीं त भीडको कारणले सुस्त सुस्त पञ्चमी पाइला गने जसरी पाइला चाल्नुपर्ने वाध्यता हुन्छ ।
तर यस्तो भीडभाडमा ट्रेनभित्र देखिने दृश्यहरु भने निकै रोचक हुन्छन् ।

प्राय: यात्रुहरु आँखा चिम्लिएर वसेका हुन्छन् । वसेकाको त कुरै छाडौं उभेकाहरु पनि आँखा वन्द नै गरेर उभिएका हुन्छन् । कोही त मस्त निद्रामा झुलिरहेका पनि देखिन्छन् , त्यो पनि उभिएरै । कोही चाहीं कानमा हेड फोन लगाएका हुन्छन्, या ट्याव्लेट वा किण्डलमा केही पढिरहेका हुन्छन् । या फोनमा फोटो हेरिरहेका हुन्छन् ।

यतिमात्र होइन, भीडम भीडको वीचमा ट्रेनमा उभिएरै किताव पढ्नेहरु पनि मनग्य देखिन्छन् । त्यसमध्य थोरैले भने बेलाबेलामा ट्रेनमै खुल्लमखुल्ला चुम्वन पनि गरिरहेका हुन्छन् । कतिपय बेलामा त यस्तो सार्वजनिक स्थानमा गरेको त्यो हर्कत हेर्न नसकी आफैंले मुण्टो फर्काउनु पर्ने अवस्था पनि हुन्छ ।

कोही चाहीं पल्याक पुलुक स्टेशनतर्फ हेरिरहेका हुन्छन् भने कोही ओर्लने तयारीमा हुन्छन् । यिनैमध्य कोही भने जिपिएसवाट गन्तव्यको रुट खोजिरहेका हुन्छन् भने केहीले यो ट्रेन कहाँ जान्छ भनेर सोधिरहेका हुन्छन् ।

जतिसुकै भीड भएपनि जवरजस्ती ट्रेनमा घुस्न खोज्ने कोही त ट्रेनभित्र पस्दा पस्दै च्यापिने पनि हुन्छन् । यस्ता किसिमका घटनाहरु पनि यदाकदा भइनै रहन्छन् ।

विहान काममा जाने वेलाभन्दा वेलुका फर्किने वेलाको त्यो भीडम भीड ट्रेन अनि थाकेका गलेका अनुहारहरुले नै वताउँछ न्यूयोर्कको जीवन कति सँघर्षशील छ भनेर ।

साधारणतया ८ घण्टा काम गर्नेहरुले काममा जान आउन नै धेरैजसो ३-४ घण्टा त आवत जावतमै विताउनुपर्ने वाध्यता न्यूयोर्कको जीवनको नियमित आकस्मिकता हो । धेरैभन्दा धेरै अवसरहरुको खानी भन्छन् न्यूयोर्कलाई , त्यही भएर होला भीड पनि यहीं वढी देखिने । त्यसमाथि अमेरिकामा नवान्तुकहरुले पनि सहजै पाउने काम र रेल सुविधा २४ घण्टै हुने भएर पनि यो शहरमा अरु दु:ख विर्सेर वस्न रुचाउँछन् । अझ कागजपत्र नहुनेहरुका लागि त न्यूयोर्क स्वर्ग नै हो ।

कति त कागज नवनुन्जेल बस्ने र कागज बनेपछि अरु राज्यमा बसाईं सर्ने गर्दछन् । जे जति र जस्तो कारणले होस् न्यूयोर्क व्यस्त शहर हो , घुईंचोको शहर हो र भीडभाडको शहर हो । र यो भीडभाडलाई न्यूयोर्कको ट्रेनले व्यावस्थापन गर्न सहज वनाइदिएको छ ।

यहाँ आफ्नै गाडी हुनेहरु पनि नभएका हैनन् । तर प्राय सवै गाडीवालहरु हैरान छन् ट्राफिकले, पार्किंगको समस्याले, पार्किंगका टिकटले र महँगो पार्किंग शुल्कले । त्यसैले आफ्नो गाडी भए पनि गाडीमा जागिर खान जाने अवस्था सवैको हुँदैन । हुन त न्यूयोर्क शहरमा ४६ प्रतिशतको नीजि गाडी छन् भनिन्छ, तर आफ्नो काममा निशुल्क पार्किंग हुने भाग्यमानीहरु र विशेष भ्याले पार्किंगको सुविधा पाउनेहरुले वाहेक प्राय: काममा गाडी लिएर जाने अवस्था न्यूयोर्कमा देखिन्न ।

यो कलमकारले पनि पार्किंगको लागि घण्टौं घण्टा अनेकन स्ट्रिटहरु घुम्दै विताएको तथा रातै विताएका अविश्मरणीय घटनाहरु छन् ।
गतसाल भ्यालेण्टाइन डे को पार्टी सकेर फर्कँदाको घटना साँच्चै साँच्चै भूल्न नसकिने, अविश्मरणीय छ ।

पार्टी सकिएपछि साहित्यकार कमला प्रसाईं र एनआरएन आइसिसी सदस्य सुनिता शर्मा सहित गाडी लिएर निक्लिएका थियौं । साहित्यकार प्रसाईंको घर पुग्दा निक्कै ढिलो भैसकेको थियो । पार्किंग खोज्दै हिंडियो तर कतै पार्किंग पाइएन । पार्किंग खोज्दा खोज्दै आधा रात वित्यो । तर पनि पार्किंग पाइएन । शुरुमा कमलाजी र सुनिताजीलाई घर छाडेर म आफ्नो ठाउँमा जाने सोच थियो तर धेरै रात वितिसकेकोले उहाँहरुले साथ छाड्न मान्नु भएन । कुरा सही थियो । ठिक थियो ।

तर सव वेठिक पार्किंगले पारिरहेको थियो । अन्तत: पार्किंग त पाइयो तर समय भोलिपल्ट विहानको ७ वजिसकेको थियो ।त्यसरी हामी तीन महिलाले पार्किंग खोज्दा खोज्दै गाडीमा गुड्दा गुड्दै पूरै रात विताउनु पर्यो । यो घटनाले पनि न्यूयोर्कको यो पाटोको तस्वीर हेर्न सकिन्छ ।

न्यूयोर्क शहरको अर्को रमाइलो र उदेकलाग्ने भीडभाडको अर्को पक्ष छ । जतिसुकै भीडभाड भए पनि रेल स्टेशनमा देखिने ऐच्छिक साँगितिक मनोरञ्जन । चाहे म्यानहाटनको मारामार भीडमा होस् वा अन्य कुनै पनि स्टेशनको परिसरमा गीतार वजाउँदै, कतै माइक राखेर गीत गाउँदै त कतै नाचगान गरेर नेपाल भारतमा चटकीले चटक देखाएझैं रमाइला दृष्य प्रस्तुत गरेर जीविकोपार्जनका लागि माग्ने काम पनि गरिरहेका देखिन्छन् ।

यो आफ्नो कला कौशल देखाएर पेट पाल्ने मेलोमेसो हो । माग्ने भनेर हात फैलाउँदै आउँदैनन्, न त मुखले नै भन्छन् । त्यहाँ रुमाल या कुनै कपडा विछ्याएर राखिएका हुन्छन् र मन हुनेहरुले त्यहाँ पैसा राखिविन्छन् । माग्नुको यो सभ्यता पनि धेरैका लागि रोचक , अनौठो र छक्क पर्ने खालको हुन्छ ।

यत्रो भीडभाडमा पनि यौटा अनौठो कुरा के भने प्राय: कसैको अनुहार पनि हँसिलो, फूर्तिलो र रमाइलो देखिंदैन । कामले थाकेको शरीरलाई ट्रेनको हल्लाईले डेडी काम गरेजति थकाई थपिदिने भएर पो हो कि ?

भनिन्छ गलेको र थाकेको मान्छेको नाकमा झिंगा वस्न आयो भने पनि त्यो मान्छेले झिंगा धपाउने साहस नभएर ए झिंगा, नाकमा नवस जा न जा भन्छ रे । त्यस्तो अवस्थाको मान्छेवाट के अपेक्षा गर्न सकिन्छ र ? लगभग त्यही हालतमा देखिन्छन् न्यूयोर्क शहरका सर्वसाधारण मान्छेहरु ।

न्यूयोर्कको जीवनको सँघर्षमय जीवनको सजीव तस्वीर जस्तो लाग्छ यो थकित, गलित, भीडमा मुस्कान हराएका मानिसहरुको अनुहार !

लेखिका :बिगतमा प्रो पब्लिक (जनहित संरक्षण मन्च ) सँग सम्बन्धित असल शासनका लागी भ्रष्टाचार बिरुद्धको पत्रकारिता गर्नु हुन्थ्यो भने असल शासन रेडियो कार्यक्रमका युनिट प्रमुख/रिपोर्टर/ सम्बाददाता /प्रोड्युसर पनि हुनु हुन्थ्यो l

२०७४ कार्तिक २७ गते २३:४६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी