देउवासँग गुदी छैन, देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली

इनेप्लिज २०७४ कार्तिक २८ गते १५:२९ मा प्रकाशित

प्रतिनिधी सभा सदस्य र प्रदेशसभा सदस्यका लागि हुन लागेको चुनावको मुखमा सबैजसो राजनीतिक दलहरु आफ्ना एजेण्डा जनतासमक्ष पु¥याउन कसरत गरिरहेका छन् । विशेषगरी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबिच जनमत बटुल्नका लागि कडा प्रतिस्पर्धा भइरहेको छ । वाम गठबन्धनले बहुमत ल्यायो भने कम्युनिष्ट शासन प्रयोग हुन्छ भन्ने आरोप कांग्रेसको छ भने कांग्रेसले देश विकास गर्न सकेन भन्ने आरोप एमाले–माओवादीको छ । यिनै विषयवस्तुको सरोफेरोमा रहेका पत्रकार ऋषि धमलाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

वाम गठबन्धन केका लागि हो ?
पहिलो कुरा त आजको राष्ट्रिय राजनीतिको आवश्यकता के हो भन्ने कुरा महत्वपूर्ण छ । राजनीति भनेको देश बनाउने माध्यम हो । केटाकेटीको खेल होइन । देशमा लोकतान्त्रिक पद्धति लागु गर्दै आर्थिक समृद्धि नै अबको राजनीतिक यात्रा हो । जनताका सपनालाई साकार बनाउनका लागि संविधान कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था छ ।
आज सही नीतिहरुका साथ देशलाई एकताका साथ अगाडि बढाउने र फराकिलो लोकतन्त्रको बाटोमा लैजानुपर्ने खाँचो छ । त्यसका लागि एमाले र माओवादीले स्थायी सरकार बनाउनका लागि यो चुनावी तालमेल गरेको हो । एकतातर्फ उन्मुख भएको छ ।

चुनावी नतिजा कस्तो आउला ?
अरु धेरै कुरा म भन्न चाहन्न । आरामदायी बहुमत आउँछ । सबै राजनीतिक दल, वुद्धिजीवी, नेता तथा जनतालाई के भन्न चाहन्छु भने तालमेलले आरामदायी बहुमत ल्याउँछ । स्थिर सरकार दिन्छ । त्यस्तो सरकार किन बनाउने धाक लगाउन हो ? अहङ्कार देखाउनका लागि हो ? अथवा भ्रष्टाचार गर्नका लागि हो ? देश र जनताको आवश्यकता पूरा गर्नका लागि र देशलाई समृद्धिको बाटोमा लैजानका लागि स्थिर सरकार बनाउने कुरा गरिएको हो । कोही नझस्किए हुन्छ ।
तपाईहरुको सरकार आयो भने त कम्युनिष्ट नीति लागु हुन्छ र जनताले रुन पनि पाउँदैनन् भन्ने आशंका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ नि ?
नेपालमा कम्युनिष्ट सरकार आउँछ । बन्नुपर्छ । कम्युनिष्ट शासन र व्यवस्था आउनुपर्छ र नेपाल बन्छ । नेपाललाई भ्रष्टाचारबाट मुक्त गर्नका लागि लोकतान्त्रिक प्रणाली चाहिन्छ । लोकतन्त्र भनेको कम्युनिष्ट व्यवस्था हो । कम्युनिष्टहरु लोकतन्त्रका लागि लडेका छन् । लोकतन्त्र भनेको के हो कम्युनिष्टहरुलाई थाहा छ । कम्युनिष्ट व्यवस्था भनेको समानता र न्यायको व्यवस्था हो । लोककल्याणकारी राज्यको व्यवस्था हो । राज्य भनेको जनताका लागि जनताद्धारा निर्वाचित जनताको सेवक संयन्त्र हो । यो कुरा नेपाली कांग्रृसले बुझ्न जरुरी छ ।

प्रधानमन्त्री देउवाले त लोकतन्त्रका लागि कांग्रेसलाई मतदान गर्नुपर्छ भन्नुभएको छ नि ?
उहाँले आधा बुझ्नुभयो । कम्युनिष्ट सरकार आउँछ भन्ने बुझ्नुभयो । तर लोकतन्त्रसहितको कम्युनिष्ट सरकार भन्ने बुझ्नुभएन । उहाँको जस्तो भ्रष्टतन्त्र, लुटतन्त्र जस्तो लोकतन्त्र हामीले भनेको होइन । हामी पनि लोकतन्त्रका लागि नै संघर्ष गरिरहेका छौँ । हामी लोकतन्त्रका लागि लड्ने, हामी संविधान ल्याउने, हामी संघर्ष गर्ने, जेलनेल बस्ने । अरुले ल्याइदिएको लोकतन्त्रमा मैले पो गरेँ भनेर कांग्रेसले दाबी गरेको छ ।

कम्युनिष्टहरुको रणनीति भनेको लोकतन्त्रलाई समाप्त पार्ने हो भनेर देउवाले आरोप लगाउनुभएको छ नि ?
प्रधानमन्त्री देउवाले आजको दुनियाँको अध्ययन गर्नुभए हुन्थ्यो । उहाँलाई फुर्सद छैन होला । म के भन्न चाहन्छु भने २१आँै शताब्दीमा हावादारी कुरा गरेर हुँदैन । नेपाली कांग्रेसका प्रधानमन्त्रीज्यू लगायतका नेताहरुलाई के भन्न चाहन्छु भने लोकतन्त्रका निम्ती गरिएको संघर्षमा र त्यसप्रतिका निष्ठामा हामीसँग तुलना हुन सक्दैन । कोही नेता छ भने बहसका लागि आए हुन्छ ।

एमाले र माओवादीबिचमा पार्टी एकता भएपछि नेपालमा साम्यवाद सुरु हुन्छ कि लोकतन्त्र स्थापित हुन्छ ?
साम्यवादको हल्ला अनौठो र अचम्म तरिकाले यतिबेला चल्यो । चुनाव हुँदैछ, कता साम्यवादको कुरा आयो ? डराउनुको पनि हद हुन्छ नि । पाँच वर्षपछि अर्को चुनाव हुन्छ । संविधान छ । कति हतास मनस्थिती हो ? बच्चाबच्चीले खुट्टा बजारेर पनि यस्तो रुवाबासी गर्दैन । कांग्रेस जस्तो पुरानो पार्टीलाई यस्तो गर्न सुहाउँदैन ।

तपाईहरुको बहुमत आयो भने नेपाललाई उत्तर कोरिया र कम्बोडिया जस्तै बनाउनुहुन्छ भन्ने आशंका गरिएको छ नि ?
शेरबहादुर देउवाजिले कम्युनिष्ट भन्ने वित्तिकै उत्तर कोरिया देख्नुहुन्छ भने गैर कम्युनिष्टलाई मार्कोस किन नदेख्ने ? सद्दाम हुसेन किन नदेख्ने ? त्यसकारण स्वस्थ प्रतिस्पर्धामा उत्रिए हुन्थ्यो । देउवासँग गुदी पनि छैन, देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो ।
हामीले समाजवादतर्फ जाने भनेका छौँ । अहिले साम्यवादको बेला र परिस्थिती होइन । कांग्रेस अन्तराष्ट्रिय समाजवादी संस्थाको सदस्य छ । तर समाजवाद भन्दा तर्सिन्छ । संस्थाको सदस्यबाट राजिनामा किन गर्दैन ? कांग्रेसले भन्छ, झण्डामा भएको चार तारामध्ये एउटा चाँही समाजवाद हो । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद के जाती…तर समाजवाद भन्दा तर्सिने हो भने झण्डाको एउटा तारा निकाल्नुप¥यो नि । विपिको सिद्धान्त मान्छु भन्नेले समाजवाद मान्नुप¥यो नि । नेपालमा आफ्नै प्रकारको समाजवाद ल्याउनुपर्छ ।

वाम गठबन्धनले घोषणापत्रमा समावेश गरेका विकास निर्माण र आर्थिक समृद्धिको योजना कति वर्षमा पूरा हुन्छ ?
योजना अनुसार १ वर्ष, २ वर्ष, ५ वर्ष, १० वर्ष वा जति वर्षको योजना छ, त्यस अवधिमा सबै योजना सफल हुन्छ । नेपाललाई आधुनिक र विकसित राष्ट्र बनाउँछाँै । संयुक्त राष्ट्रसंघले भन्छ, दिगो विकास । हामी पनि त्यो कुरा मान्छौँ । तर हामी दिगो विकास होइन, द्रुत विकास गर्न चाहन्छौँ । नेपाल उर्वर भूमि हो । त्यसैले हामीले प्रस्तुत गरेका योजना सबै सम्भव छन् ।

योजना साकार पार्न सक्ने आधार केके छन् ?
रोजगारीका अवसर सृजना गरेर देश बाहिर गएका ४० लाख युवालाई स्वदेश फर्काउन सकिन्छ । युवाहरुलाई देश बनाउने अभियानमा सहभागि गराउँछौँ । जलविद्युत, यातायात, संचार, पर्यटन, कृषि, उद्योग लगायतका क्षेत्रलाई बढाएर समृद्ध देश बनाउन सकिन्छ । यो काम गर्न सक्यौँ भने हामी छिटै देश विकास गर्न सक्छौँ । सबै जनतामा समान अधिकार र अवसर दिलाउँछौँ । यही कुरालाई साम्यवाद भनेको हो ?

विकास त कांग्रेसले पनि गर्छु भनेको छ नि ?
कांग्रेस रित्तो भइसक्यो । कांग्रेससँग नीति छैन, विचार छैन । धानको बाला ठूलो फाउनुपर्छ भन्ने सोच छैन । नचाहिने कुरामा सर्टिफिकेटवाला वुद्धिजीवीहरु प्रयोग गरेर चुनावलाई प्रदुशित गर्न खोजेको छ । कुनै बेला ६० वर्ष काटेकालाई एमालेले गोली ठोक्छ भनेर हल्ला चलायो । यही एमालेले वृद्धभत्ताको व्यवस्था ग¥यो । कांग्रेसले त नेपाली जनताका लागि होइन, अरु कसैका लागि संविधान संशोधन गर्छु भनिरहेको छ । हामी त जनताको हितका लागि काम गर्दैछौँ । संविधान संशोधनको पक्षमा एमाले पनि छ, तर नेपाली जनताको अहित हुने गरी हामी संविधान संशोधन गर्न सक्दैनौँ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा किन जान खोज्नुभएको ?
प्रत्यक्ष निर्वाचित राष्ट्रपति भयो भने अलोकतान्त्रिक हुन्छ ? नेपाली कांग्रेसका नेताहरुलाई म विचार गरेर बोल्न आग्रह गर्छु । अमेरिकाको राष्ट्रपतीय प्रणाली लोकतान्त्रिक हो कि होइन ? तर मैले राष्ट्रपतीय प्रणाली भनेकै छैन ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली निरङ्कुश हुन सक्दैन ?
निरङ्कुश त अहिले भएन ? प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता मान्नुभएको छ ? सक्नुभयो भने उहाँले जे पनि गर्नुहुन्छ ? पायो भने उहाँ तानाशाह बन्नुहुन्छ, सकेन भने जो भेट्नुहुन्छ त्यसलाई चढाइदिएर भागेर हिँड्नुहुन्छ । हामी त लोकतान्त्रिक मूल्य र मान्यताअनुसारको शासन व्यवस्था चाहन्छौँ । हामी लोकतान्त्रिक बन्नका लागि कांग्रेससँग सर्टिफिकेट लिनु पर्दैन ।

नेपालका कम्युनिष्टलाई लोकतान्त्रिकरण गर्ने हामी हौँ भनेर कांग्रेसका नेताहरुले भन्छन् नि ?
कांग्रेस आफै लोकतान्त्रिकरण भएको छैन । एमालेजस्तो लोकतान्त्रिक पार्टी छ कांग्रेस ? अरुलाई लोकतान्त्रिक बनाएँ भनेर हुन्छ ?

प्रतिक्रिया