एमाले–माओवादीबिच एकले अर्कालाई ठग्ने घिउ बेचुवा र तरबार बेचुवाको सम्बन्ध हो : डा. बाबुराम भट्टराई

इनेप्लिज २०७४ मंसिर ४ गते २३:३१ मा प्रकाशित

बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष र नेपालको ३५ औ प्रधानमन्त्री हुन् । संविधान सभामा सबैभन्दा बढ्ता मत र मतअन्तरले जित्ने माओवादी सभासद् डा.बाबुराम भट्टराईले कांग्रेसका प्रत्यासी आफ्नै मामा पर्ने चन्द्रप्रसाद न्यौपानेलाई ४० हजारको अन्तरले हराएका थिए । उनले द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा विद्यावारिधि गरेका छन् । अर्थमन्त्री हुँदा राम्रो काम गरेर प्रशंसा कमाएका भट्टराई संविधान जारी भएलगत्तै माउ पार्टी परित्याग गरेर नयाँ शक्ति पार्टी गठन गरे । यसपटकको प्रतिनिधिसभा सदस्यका लागि उनी गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन् । देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ भनेर जनतामाझ गएका भट्टराई कांग्रेसको सहयोगमा माओवादीको उम्मेदवार नारायणकाजी श्रेष्ठसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् । उनै भट्टराईसँग पत्रकार ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । उनीसँगको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

चुनावमा कत्तिको व्यस्त हुनुहुन्छ ?

हामी एकदम व्यस्त छौँ । विहानदेखि बेलुकासम्म १५ देखि १८ घण्टा खटिइरहेका छौँ ।

जनताले के भनेका छन् ?

मैले जनताबाट आगाध माया, सद्भाव र स्नेह पाउँछु । किनकी ६४ सालको चुनावमा नेपालभरी नै सबैभन्दा बढि भोट मलाई आएको थियो । ४६ हजारभन्दा बढि अर्थात यस क्षेत्रको ८२ प्रतिशत मत मैले पाएको थिएँ । संविधान लेख्ने जिम्मेवारी दिनुभयो । संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भयो । संवाद समितिको सभापतिको हैसियतले महत्वपूर्ण भुमिका खेलेँ । अब जनताले विकास र समृद्धि चाहेका छन् । यसका लागि बाबुरामकै योगदान जनताले चाहेका छन् ।
२ वटा चुनावमा यही क्षेत्रबाट कांग्रेसलाई पराजित गर्नुभयो ।

अहिले कांग्रेससँग मिलेर नारायणकाजीविरुद्ध चुनावमा उत्रदा अप्ठ्यारो हुँदैन ?

मैले नारायणकाजीसँग प्रतिस्पर्धा गरेको होइन । उहाँलाई यहाँ ल्याएर मसँग भिडाएर अनावश्यक ढंगले उहाँको सिङ भाँच्न लगाइएको छ । उहाँको यो क्षेत्र नै होइन । स्कुलको पढाई सकेपछि उहाँ गोरखा कहिल्यै पनि फर्किनुभएन । कार्यथलो पनि यो होइन । गोरखामा उहाँ कहिलेकाही पर्यटकको रुपमा मात्रै आउने हो । म त यहीँ जन्मिएँ, हुर्किएँ । आन्दोलनको कार्यक्षेत्र पनि यही थियो । यअसघ २ वटा संविधानसभाको चुनावमा यहीँबाट जितेँ ।

नारायणकाजी श्रेष्ठ तपाईको सहयोद्धा त हो नि ? उहाँसँग प्रतिस्पर्धा गर्दा अप्ठ्यारो हुँदैन ?

यसो नभन्नुस् न । उहाँसँग प्रतिस्पर्धा नै होइन । गोरखाली जनताले मबाट जुन अपेक्षा गरेका छन्, मैले इमानदारिताका साथ सेवा गरेको छु । अहिले पनि जनतको दैलोमा गएर सोध्नुस्, बाबुरामलाई उहाँहरुले कसरी बुझ्नुहुन्छ ? मैैले उहाँहरुकै आंकाक्षा बुझेको छु । मेरो प्रतिस्पर्धी को हुन्छ भन्ने कुरा ठूलो होइन ।

तपाईले चुनाव जित्ने आधार के छ ?

निष्पक्ष जनताको मतका आधारमा शंका गर्ने कुनै ठाउँ छैन । मार्जिन कति हुन्छ भन्ने मात्रै हो । हारजितको विषयका कुनै शंका छैन ।

नारायणकाजीले चुनाव जित्ने दाबी गर्नुभएको छ । गोरखालाई विकास गर्ने भिजन आफुसँग मात्रै भएको बताउनुभएको छ नि ?

चुनावको बेलामा आफ्नो दलिल पेश गर्नु स्वभाविक हो । बहुदलीय प्रतिस्पर्धामा त्यसलाई हामीले अन्यथा मान्नु पनि हुँदैन । मैले २०२६ सालको एसएलसी परीक्षामा सर्वप्रथम भएपछि जुन ढंगले यो क्षेत्रमा चर्चाको विषय बन्यो, त्यसपछि निरन्तर रुपमा म यही क्षेत्रका जनताको सेवामा समर्पित छु । गोरखाको विकासका लागि चित्र कोरेँ । छोटो समय अर्थमन्त्री हुँदा गोरखामा विकासका आधारभूत विकासका पूर्वाधारको जग बसालेँ । अब त्यो जगलाई पूर्णता दिनुपर्छ । गोरखालाई देशकै विकासको मोडल बनाउनुपर्छ भन्ने उद्देश्य मेरो छ । जनताले पनि त्यही अपेक्षा राखेका छन् । त्यसैले अरुले के भन्छन् भन्ने कुरा महत्वपूर्ण छैन ।

नारायणकाजीले त आफूलाई भावी प्रधानमन्त्रीको रुपमा भोट मागिरहनुभएको छ नि ?
२७५ सासंदमध्ये जो पनि प्रधानमन्त्री बन्न सक्छ । सबैले प्रधानमन्त्रीको सपना देख्नु कुनै ठूलो कुरा होइन । सपना देख्न सबैले पाउँछन् । मेरा लागि जनताको निम्ती विकास र समृद्धिको एजेण्डा मुख्य हुन् ।

एमाले र माओवादीको गठबन्धनले आफूलाई सच्चा कम्युनिष्ट हो भनेर चुनावमा गइरहेका छन् । तपाई चाँही कांग्रेससँग मिलेर चुनाव लड्दै हुनुहुन्छ । यो संयोग हो कि बिडम्बना हो ?

विश्वमा नै शीतयुद्धकालमा पुँजीवाद र साम्यवाद दुई धु्रव निर्माण भए । शीतयुद्धको अन्त्यपछि अहिले बैचारिक धु्रवहरु छैनन् । दुईवटै ध्रुव संकटमा छन् । एउटा नवउदारवादी पुँजीवाद पनि युरोप र अमेरिकामा संकटमा छ । अर्को साम्यवादी नियन्त्रीत व्यवस्था पनि विघटनको संघारमा छ । संसारमा अहिले नयाँ विचारको खोजी भइरहेको छ । त्यो भनेको उदारवाद र साम्यवादभन्दा माथि उठेको नयाँ विचार हो । नयाँ शक्ति पार्टीले अहिले त्यसैको प्रयत्न गरिरहेको छ । त्यसैले अहिले नेपालमा भएका दुईवटा गठबन्धनमध्ये लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरिएको हो ।

लोकतान्त्रिक गठबन्धनसँग तालमेल गर्नुपर्ने आवश्यकता किन देखियो ?

हामीले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएका छौँ । यसलाई बचाएर नेपालमा आर्थिक विकास र समृद्धिको चरण पूरा गर्नुपर्छ । कम्तिमा औद्योगिक अर्थतन्त्र निर्माण भएपछि बल्ल समाजवादका कुरा आउँछन् । त्यही औद्योगिक अर्थतन्त्र निर्माणका लागि कांग्रेससँग सहकार्य गर्दा उचित हुन्छ भनेर गरेका हौँ ।

नेपाली कांग्रेससँग पार्टी एकताको सम्भावना छ कि छैन ?

पार्टी एकताको बारेमा त हामीले सोचेका छैनौँ । अहिले हामीले चुनावी तालमेल गरेका छौँ । हामी एउटा वाम लोकतान्त्रिक शक्ति हौँ । हाम्रो आधारभूत चरित्र लोकतान्त्रिक वाम हो । नेपालमा चाँही वाम भनेपछि कम्युनिष्टकै पर्यायवाची शब्दको रुपमा बुझिन्छ, जुन सत्य होइन । अमेरिकामा प्रजातान्त्रिक पार्टीलाई र वेलायतमा लेबर पार्टीलाई वाम भनिन्छ । तर नेपालमा कम्युनिष्टलाई मात्रै वाम भनेर बुझ्ने गरिन्छ, त्यो बेठिक छ ।

एमाले र माओवादीले त आफूलाई कम्युनिष्ट पार्टीको रुपमा व्याख्या गरेका छन् नि ?

त्यो त उहाँहरुको स्वतन्त्रताको कुरा हो । तर कम्युनिष्ट सिद्धान्त र आदर्श उहाँहरुले पालना गर्नुभएको छैन । त्यसैले उहाँहरुलाई कम्युनिष्ट पार्टी भन्ने कुनै नैतिक अधिकार छैन । कम्युनिष्ट भन्ने तर अरबौँको कमिसनखोरीमा लिप्त हुने ? गरिब किसान मजदुरको नाममा अकूत सम्पत्ति थुपारेर भ्रष्टाचारको दलदल सृजना गरेर आफूलाई कम्युनिष्ट भन्न सुहाउँदैन । अब विगतमा जस्तो कम्युनिष्ट र कांग्रेस भन्ने कुराबाट माथि उठेर राजनीतिक बहस गर्नु जरुरी छ । नयाँ शक्ति पार्टी त्यो विकल्प दिन चाहन्छ ।

तपाईसँग भएका नेताहरु छोडेर अरु दलमा गए । यसले पार्टीलाई कत्तिको प्रभाव पारेको छ ?
हारेका थाकेका केही मान्छेहरु गए । त्यो स्वभाविक नै हो । तर मूल पंक्ति हुर्नुभयो भने तपाईले देख्नुहुन्छ । हामीले ३ सय ७६ जनालाई उम्मेदवार बनाएका छाँै । त्यसमा ९० प्रतिशत युवाहरु छन् । ति युवाहरुलाई लिएर नै नयाँ शक्ति पार्टी बन्दैछ । कतिपय थाकेका बुढाहरु निस्केकै हुन् । तर प्रत्येक दिन नयाँ नयाँ मान्छे थपिएका छन् ।

वाम गठबन्धन छोडेर कांग्रेससँग किन मिल्नुभयो ?

असोज १७ गते एमाले, माओवादी र हामीले जुन सहकार्य ग¥यौँ, त्यतिबेला कम्युनिष्ट केन्द्र बनाउने होइन, समाजवादी केन्द्र बनाउने भन्ने सहमति थियो । यही कुरामा मलाई विश्वास दिलाईएको थियो । तर पछि उहाँहरुले पुरानै ढाँचाको कम्युनिष्ट पार्टी बनाउने प्रयास गर्नुभयो । त्यसकारणले गर्दा हामी आफ्नै ढंगको नयाँ शक्ति पार्टीलाई अगाडि बढाउनतिर लाग्यौँ । नेपाली कांग्रेससँगको सहकार्य जारी रहन्छ ।

चुनावी तालमेलमा भागबण्डा नमिलेर छोड्नुभएको होइन ? वाम गठबन्धनका नेताहरुले त त्यही भनिरहेका छन् ?

त्यो उहाँहरुको चरित्र हो । झुटो कुरालाई बारम्बार दोहो¥याएर सत्य बनाउन खोज्ने उहाँहरुको चरित्रलाई मैले सामान्य मानेको छु । बाबुरामा भट्टराईले सारा जिन्दगी निश्चित मूल्य मान्यतामा अडिएको छ । देशमा लोकतान्त्रिक गणतन्त्र नल्याएसम्म लोकतन्त्र हुँदैन भनेर ४० वर्ष राजतन्त्रको अन्त्यका लागि लड्यो । संविधानसभाबाट राजतन्त्र अन्त्य गर्न प्रमुख भूमिका खेलेँ । अबको एउटै सपना भनेको आफ्नै जीवनकालमा अर्थात २५ वर्षभित्र संसारकै समृद्ध देश बनाउने हो

तपाईसँग मिसन र लक्ष्य छ, तर जनता छैनन् नि ?

किन छैनन् जनता ? गोरखामा आएर हेर्नुस् । हामीले भर्खर रोपेको विरुवा रातारात ठूलो रुख त कसरी बन्छ र ? यस्तो परिकल्पना गर्नुभयो भने त्यो गलत हुन्छ । तर यति छोटो अवधिमा देशका ७७ वटै जिल्लामा संगठन र संजाल बनेको छ । सबै जिल्लाहरुमा उम्मेदवारुहरु उठाएका छौँ । यो पटक राष्ट्रिय पार्टी बन्छौँ र अर्कोपटक देशको नेतृत्व गर्ने पार्टी बन्छाँै ।

बाबुराम भट्टराई राम्रो मान्छे हो तर अस्थिर छ भन्ने जनताको आरोप छ नि ?

म अस्थिर छैन । राजतन्त्रको अन्त्य र संविधानसभाबाट संविधान बनाउनुपर्छ भन्ने मेरो अभियान थियो । त्यो सफल भयो । अब विकास र समृद्धिको नयाँ युगको नेतृत्व गर्न खोज्दैछु । गोरखाली जनताले मेरो मिसन बुझेका छन् ।

बाबुराम भट्टराई नेपाली राजनीतिमा एक्लो वृहस्पती बनेको हो ? भविष्यमा तपाई प्रधानमन्त्री बन्न सक्नुहुन्छ ?

विल्कुल होइन, म त्यसमा विश्वास गर्दिन । म जनतामा विश्वास गर्छु । हामीले पार्टी निर्माण गरेको एक वर्ष मात्रै भएको छ । अर्को चुनावसम्म नयाँ शक्ति पार्टीले देशको नेतृत्व गर्न सक्छ । तर अहिले पनि सम्भावनाको ढोका सबैका लागि खुला छ । म पनि प्रधानमन्त्री बन्न सक्छु ।

यसपटकको चुनावी नतिजा कस्तो आउला ?

यसपटक त कसैको पनि बहुमत आउन सक्दैन । मिलिजुली सरकार बन्छ । चुनावको बेलामा त बहुमत आउँछ भनेर सबैले भन्छन् । त्यसलाई अन्यथा मान्नु हुँदैन । अहिलेको चुनावी प्रणालीका कारण कुनै पनि गठबन्धनको बहुमत आउन सक्दैन । ससंदको अंकगणितका आधारमा कस्तो सरकार बन्छ भन्ने कुराको टुङ्गो लाग्छ ।

एमाले र माओवादीबिचमा पार्टी एकता हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

मलाई त घिउ बेचुवा र तरबार बेचुवाको सम्बन्ध जस्तो लाग्छ । एकले अर्कालाई ठग्ने कुरा भइरहेको छ । कसले कसलाई ठग्छ कि दुवै ठगिन्छन् थाहा छैन । पार्टी एकताको कुरा स्वतन्त्रताको विषय हो । गर्न सक्नुहुन्छ । तर कम्युनिष्ट पार्टीको खोल देखाएर ठग्ने धन्धा चलिरहेको छ । यसरी लामो समयसम्म जनतालाई भ्रममा पार्न सकिदैन ।

प्रतिक्रिया