मेलम्चीको सुरूङ खन्न अझै दुई महिना

इनेप्लिज २०७४ मंसिर ८ गते १५:०८ मा प्रकाशित

काठमाडौँ, मङ्सिर ८ गते ।  काठमाडौँ उपत्यकाका लागि शुद्ध खानेपानी आपूर्ति गर्ने महìवकाङ्क्षी आयोजनाका रूपमा रहेको मेलम्चीको सुरुङ खन्न अझै दुई महिना लाग्ने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले जनाएअनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याउने सुरुङ खन्न एक किलोमिटर मात्र बाँकी रहेको छ र त्यसका  लागि कम्तीमा दुई महिना लाग्ने अनुमान गरिएको छ ।  सुरुङको लम्बाई २७.५ कि.मी लम्बाइ रहेको छ ।

मेलम्चीको ग्याल्थुम–अम्बाथान खण्डमा तीन सय ५४ मिटर सुरुङ खन्न बाँकी छ भने ग्याल्थुम सिन्धु खण्डमा सात सय ४४ मिटर खन्न बाँकी रहेको समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।  सिन्धु खण्डमा आगामी २०१८ को जनवरी र अम्बाथान खण्डमा यही डिसेम्बरमा सुरुङको ब्रेक थ्रु गर्ने दावी विकास समितिको गरेको छ ।
सुरुङ खन्ने काम सम्पन्न भइसकेपछि त्यसलाई पक्की ढलान गरेर अन्तिम रुप दिइने भएको छ ।  हाल खनिएको सुरुङमध्ये २.५ कि.मी सुरुङको ढलानसहित अन्तिम रुप दिइने कार्य सम्पन्न भइसकेको छ ।  थप नयाँ मेसिन आएपछि दैनिक दुई÷तीन सय मिटर ढलान गर्नसकिने निर्देशक दुवाडीको भनाइ छ ।
समितिले पुस महिनासम्ममा सुरुङको ब्रेक थ्रु गर्न सकियो भने चैत्र अन्तिममा पानी ल्याउन सकिने जनाएको छ ।  समिति र निर्माण कम्पनी बीचको सम्झौता अनुसार सुरुङ सम्पन्न गर्ने अवधि पनि सन् २०१८ मार्च २६ रहेको छ ।
निर्देशक दुवाडीले भन्नुभयो ‘‘नयाँ वर्षमा ल्याउने गरी कामको गतिलाई बढाएका छौँ ।  हामीले प्राविधिक हिसाबमा सम्भव देखेका छौँ, निर्माण कम्पनीले पनि चाहेमा समयमै काम गर्न सम्भव छ । ’ सुरुङको भित्ता र भुईं पक्की ढलान गर्न कम्तीमा तीन महिना लाग्ने समितिले जनाएको छ ।  सुरुङ हुँदै ल्याएको पानीलाई सुन्दरीजलमा प्रशोधन गरिने छ ।  प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरी परीक्षण पनि गरिएको छ ।  प्रशोधन केन्द्रले दैनिक आठ करोड लिटर पानी प्रशोधन गर्नेछ ।

प्रतिक्रिया