सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: २०:२२ | Washington DC: 09:37

चुनावका लागि नेपाली सेना ब्यारेक बाहिर छ, जिम्मेवारी पूर्ण पालना गछौँ : नयनराज दाहाल, प्रवक्ता, नेपाली सेना

चुनावलाई लक्षित गरी सबै सुरक्षा निकाय परिचालन गरिएको छ । मतदान केन्द्रको सुरक्षाका लागि तीन घेरा बनाएर फरक फरक सुरक्षा निकायलाई जिम्मेवारी दिइएको छ । त्यसमध्ये नेपाली सेनालाई तेस्रो घेरामा राखिने छ । चुनावका बेला नेपाली सेनाको खास भूमिका चाँही के हुन्छ त ? यसै विषयमा ऋषि धमलाले नेपाली सेनाका प्रवक्ता नयनराज दाहालसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

चुनावका लागि नेपाली सेनालाई कसरी परिचालित गरिएको छ ?

सरकारले सेनालाई केही म्यान्डेटहरु दिएको छ । त्यसका लागि सेना तैनाथ गरिएको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सबै निर्वाचन क्षेत्रमा फौज परिचालन गरिएको छ । सेनाले मतपत्र छपाईदेखि ढुवानीसम्म सहयोग गरेको छ । मतदान केन्द्रको तेस्रो घेरामा सेना रहन्छ । त्यसपछि मतपेटिका सम्बन्धित ठाउँमा लैजाने काम सेनाले गर्छ । त्यसैगरी विष्फोटक पदार्थको निष्क्रियता गर्ने काम सेनाले गर्छ । आवश्यकता अनुसार नेपाली सेनाले थप फौजको व्यवस्था पनि गर्छ ।
त्यसैगरी कारागारमा सुरक्षा दिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई विस्थापित गरेर सेनाले सुरक्षा दिएको छ ।

शान्ति सुरक्षाप्रति मतदाता विश्वस्त हुन सकेका छैनन् नि ?

व्यक्ति सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको छैन । उम्मेदवारको सुरक्षाका लागि नेपाल प्रहरी खटाइएको छ । सेनालाई सात दिनअघि मात्र स्थान विशेषमा तैनाथ हुने अधिकार दिइएको थियो । यस अवधिमा हामीले विभिन्न २४ स्थानमा विष्फोटक पदार्थ निष्क्रिय पारेका छौँ । नेपाली सेनाले अराजक गतिविधि गर्नेलाई पक्राउ गर्नका लागि प्रहरीलाई सहयोग गरेको छ ।

सुरक्षाको सम्पूर्ण जिम्मेवारी नै सेनाले लिन लागेको हो ?

निर्वाचनको सम्पूर्ण सुरक्षाको जिम्मेवारी गृह मन्त्रालयको हो । सेनालाई दिइएको जिम्मेवारी सिमित हुन्छ । त्यहि जिम्मेवारी सेनाले निर्वाह गर्छ ।

चुनावका बेला मतदाताले सुरक्षाको प्रत्याभूति खोजेका छन् । यसका लागि सेनाले के गर्न सक्छ ?

त्यसका लागि नेपाली सेना सजग छ । सवै पक्षसँग समन्वय गरेर सेनाले आफ्नो पक्षबाट निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमजोरी हुन दिदैन ।

चुनावका दिन कति संख्यामा सेना परिचालन हुन्छन् ?

पहिलो चरणको चुनाव हुन लागेका ३२ जिल्लामा २८ हजार सेना परिचालन गरिन्छ । दोस्रो चरणको चुनावमा ३६ हजार सेना प्रयोग गरिन्छ ।

सेनाले तेस्रो घेराबाट सुरक्षा दिने भनिएको छ । यसबारेमा प्रष्ट पारिदिनुस् न ?

मतदान केन्द्रको भित्रि घेरामा नेपाल प्रहरीको शक्ति हुन्छ । त्यसपछि शसस्त्र प्रहरी हुन्छ । त्योभन्दा बाहिर नेपाली सेनाले सुरक्षा दिन्छ । सेनाले मोबाइल पेट्रोलिङ गरेर मतदातालाई सुरक्षित तरिकाले मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउँछ ।

केही मतदान केन्द्रलाई अति सम्वेदनशील मानिएको छ । त्यस्ता ठाउँमा सेनाको भूमिका कस्तो हुन्छ ?

त्यस्ता ठाउँमा हामीले शंकास्पद व्यक्तिलाई छानविन गर्न सक्छौँ । आवश्यकता अनुसार प्रहरीलाई सहयोग गछौँ । विभिन्न शपंकास्पद स्थानमा सर्च गर्नका लागि सहयोग गछौँ ।

उम्मेदवार र मतदातालाई पूर्ण सरक्षाको व्यवस्था गरिएको छ भनेर सेनाले आश्वस्त पार्न सक्छ ?

नेपाली सेनाले सुरक्षाको प्रत्याभूति दिलाउन सक्छ । चुनावमा सुरक्षा प्रदान गर्नका लागि नै सेना व्यारेक बाहिर निस्किएको हो । मतदानको दिन कहीँ कतै पनि अराजक घटना हुन दिदैन । सबै ठाउँमा फौज खटाएका छौँ । निर्वाचन विरोधी गतिविधि गर्ने समुहलाई हामी कारबाही गछौँ ।

कसले निर्वाचन विरोधी काम गरेको छ भन्ने सुचना नेपाली सेनासँग छ कि छैन ?

बम प्रहार वा एम्बुस पड्काउने व्यक्ति समातिएका छन् । सबै सुचना थाहा पाउनका लागि त्यस्ता व्यक्तिले सबै परिचय दिनुपर्ने हुन्छ । त्यसरी अहिलेसम्म कसैले पनि भनेको छैन ।

सही सुचना आएको छैन भने नेत्रविक्रम चन्द नेतृत्वका माओवादीका कार्यकर्ता किन समातिए त ?

पक्राउ गर्ने काम प्रहरीको हो । हामीले समातिहाल्यौँ भने पनि प्रहरीलाई जिम्मा लगाइदिने हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव विथोल्न खोज्नेलाई समातेर जेल हाल्नुस् भन्नुभएको छ । तपाईहरु त्यही रणनीतिमा हो ?

सरकारले दिएको निर्देशन हामी पालना गछौँ । चुनाव विथोल्नेलाई त नियम अनुसार कारबाही गर्छौँ । राज्यको कानुनमा भएको व्यवस्था बमोजिम कारबाही हुन्छ ।

सुरक्षा परिषदको बैठकमा के कुरा भयो ?
बैठकमा त सुरक्षा व्यवस्था कसरी राम्रो बनाउने भन्न विषयमा छलफल भयो ।

२०७४ मंसिर ९ गते २१:२२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी