डिसेम्बर २ बारे ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७४ मंसिर १६ गते ११:०७ मा प्रकाशित

आज भन्दा २०२ वर्ष अगाडि सन् १८१५ डिसेम्बर २ का दिन बेलायतले सुगौली सन्धि प्रस्ताव गरेपछि सन् १८१६ मार्च ४ मा नेपालले सुगौली सन्धिमा हस्ताक्षर गरेको परिणामस्वरुप तत्कालीन विशाल नेपालको ४०% भन्दा बढी भूभाग बेलायती साम्राज्यमा गाभिएको थियो । डिसेम्बर २ मा बेलायतले प्रस्ताव गरेको सुगौली सान्धि कार्यान्वयन भएपछि नेपालले धेरै ठूलो भूभाग मात्र गुमाएन आफ्नो स्वाधीनतासमेत सङ्कुचित भएको टुलुटुलु हेर्न बाध्य भयो, जसको दुष्परिणाम नेपालले आजसम्म भोग्दै आइरहेको छ ।

भारतीय उपमहाद्वीपमा बेलायतको उपनिवेश अन्त भएपछि स्वतन्त्र भएको नेपाली भूभागमा भारतले पुनः कब्जा जमाएका कारण आज पनि करिब ६०००० वर्ग कि.मि. भूभाग नेपालको अधिकारमा आउन सकेको छैन । त्यसैले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले डिसेम्बर २ लाई नेपालको इतिहासमा कालो दिन भन्दै आइरहेको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मार्चाले विगत दुई दशकदेखि भारतको उपनिवेशमा रहेको नेपाली भूभागको स्वतन्त्रता र त्यसको नेपालमा विधिवत एकीकरणको मुद्दा उठाउँदै आइरहेको छ तर नेपालका सबैजसो राजनीतिक दलहरु यस विषयमा आश्चर्यजनक रुपमा मौन छन् । नेपालका राजनीतिक दलहरुले आम निर्वाचनको अवसरमा समेत यो विषय उठाउन नसक्नु ठूलो विडम्बना हो । राजनीतिक दलका नेताहरुले राष्ट्रिय स्वाधीनताकोे मुद्दा शब्दमा उठाए पनि उनीहरुको व्यवहार यसको ठिक विपरीत देखिएको हुँदा उनीहरुले राष्ट्रिय स्वाधीनताको मुद्दा उठाउने नैतिकता गुमाइसकेका छन् । अतः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा सन् १९४७ अगष्ट १५ यता भारतको र सन् १९४७ अगष्ट १४ यता पाकिस्तान हुँदै बंगलादेशको कब्जामा रहेको नेपालको भूभाग विना सर्त नेपाललाई फिर्ता गर्न ती दुबै देशलाई आग्रह गर्दै यो भारतीय दासताबाट त्यहाँका जनतालाई मुक्त गर्ने आवश्यक साहस देखाउन नेपालका राजनीतिक दलका नेतृत्वलाई आग्रह गर्दछ ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
मितिः डिसेम्बर २, २०१७
सम्पर्क नं. ः ९८५१०७१

प्रतिक्रिया