सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: २०:१७ | Washington DC: 09:32

राज्यको नजरमा नपरेको धार्मिक स्थल बाग्लुङ भैरवस्थान र बलेवा एरपोर्ट – प्रकाश श्रेष्ठ

बाग्लुङ जिल्लालाई मिनि नेपाल भन्दा पनि हुन्छ नेपालको नक्सासँग तुलना गरेर हेर्दा यो ठ्याक्कै नेपालकै नक्सा जस्तो देखिन्छ । त्यस्तै नेपालमा सबैभन्दा बढी वैदेशिक रोजगारबाट रेमिटेन्स भित्रने बाग्लुङ जिल्ला यद्दपी विकास निर्माणको क्षेत्रमा भने निकै पछि परेको छ । बाग्लुङमा धेरै पर्यटकिय स्थलहरु छन् जस्तै बाग्लुङ कालिका मन्दिर, पंचकोट, भैरवस्थान मन्दिर, ढोरपाटन आरक्षण केन्द्र लगायत अन्य धेरै धार्मिक स्थल र धवलागिरी, माछापुछ्रे, अन्नपुर्ण हिमश्रृखला हेर्न मिल्ने रमरणिय स्थलहरु छन् ।

जसलाई उपयोगमा ल्याउन सके धार्मिक पर्यटन एवं ग्रामिण पर्यटनलाई प्रवर्धन गर्न सकिन्छ । अझै आजकल त बाग्लुङको भकुण्डेमा “होमस्टे ” पर्यटन सम्बन्धी गतिविधी पनि अघि बढिरहेको छ तर पर्याप्त प्रवर्धन गर्न सकिनरहेको खवर सुन्नमा आएको छ । अत: बाग्लुङमा आन्तरिक पर्यटन र बाहिय पर्यटनलाई प्रवर्धन गर्न सकिने प्रसस्त संभावना छन् जस बारे यो सानो आलेखमा सबै कुरा अटाउन संभव छैन र यहाँ विशेष गरि बाग्लुङ बलेवा स्थित भैरवस्थान मन्दिर र बलेवा एरपोर्टबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

आजकल तपाईहरुले सुन्दै गर्नु भएको होला मिडियमा खवर आईरहेको पनि छ नेपालकै सबैभन्दा लामो पुल र अग्लो झोलुंगे पुल पर्वतमा छ, बन्जीजम्प पर्वतमा बन्दैछ । मोटरवेय केवुलकार ( यान्त्रिक पुल) पर्वतमा संचालित छ । यस्तै यस्तै खवर सुन्नु भएको छ तर यी सँग जोडिएको पक्ष बाग्लुङ बलेवा बारे मिडियामा कभरेज गरिएको छैन । स्मरण रहोस् की नेपालको सबैभन्दा अग्लो झोलुंगे पुल पर्वतको कुस्मा देखि बाग्लुङ बलेवाको कैया सम्म जोडिएको छ, त्यस्तै यान्त्रिक पुल ( केवुलकार) पनि बलेवा देखि पर्वत कुस्मा सम्म आवतजावत हुने गरि काली गण्डकी नदी माथी नै निर्माण गरिएको छ । साथै एशियाकै अग्लो र विशेष प्राविधीले सुसोचित हुने गरि बन्ने बन्जीजम्प पर्वतको क्षेत्र ( बलेवाबाट पारि ) बन्दै गरेको भएपनि यो बाग्लुङ र पर्वतकै सिमाना रहेको काली गण्डकी नदीमा बन्दैछ र यसलाई उपभोग गर्ने उपभोक्तालाई खान, बस्न र मनोरंजन लिन होटल एवं रिसोर्ट बनाउने काम पर्वत पारि बलेवामा नै निर्माण हुने भएको छ । तसर्थ यी जे जति धरोहर बनेका छन् र बन्दैछन् यसमा जति पर्वतका जनताको भुमिका छ त्यति नै बाग्लुङ बलेवावासीको पनि भुमिका र हिस्सा रहेको छ ।

अर्को तर्फ यी तिनै किसिमको झोलुंगे पुल, यान्त्रिक पुल, बन्जीजम्प त्यतिबेला मात्र पुर्णरुपमा सार्थक रुप लिन सक्छन् जतिबेला बलेवाको एरपोर्ट संचालन भएर आन्तरिक एवं बाहिय पर्यटक आउन सक्छन् । त्यस्तै धार्मिक आस्था राख्नेहरुलाई सहजै बलेवा अमलाचौरमा रहेको भैरवस्थान मन्दिर सम्म सहजै जान सकिने सडक सुविधा वा यान्त्रिकपुल बलेवा एरपोर्ट नेरघेरबाट राखिदिने हो भने एक किसिमबाट गोरखाको मनकामना सरह धार्मिक पर्यटकको घुईचो लाग्ने ठोकुवा गर्न सकिन्छ । भैरव मन्दिरको दर्शन पछि अन्य पदयात्राबाट पर्यटकहरु विभिन्न स्थानमा जान सक्ने र ग्रामिण पर्यटनलाई विकास गर्न सकिने प्रशस्त संभावना रहेको छ ।

अझै बलेवा एरपोर्ट संचालन हुनसकेमा पर्वत, म्याग्दी, मुस्ताङ, पोखरा, काठमाण्डू लगायत क्षेत्रमा आवातजावत सर्वसुलभ र छिटोछरितो हुन सक्ने देखिन्छ । विडम्बना नै मान्नु पर्छ, सरकारी तवरबाट पटक पटक एरपोर्ट संचालनको आश्वासन पाएर पनि संचालनमा आउन सकेको छैन र बलेवाली जनताको रगत र पसिनाले २०२२/२३ साल तिर सम्पन्न भएर हवाईजहाज संचालन भएको पुरानो एरपोर्ट २०४७/४८ देखि ठप्प छ । यदी यसको संचालन हुन सकेमा खासगरि पर्वत, म्याग्दी र मुस्तांग अर्थात् समग्र धवलागिरीमा पर्यटनको विकासमा निकै टेवा पुग्नेछ ।

पर्वत, म्याग्दी र मुस्तांगमा धेरै किसिमका धार्मिक महत्वको स्थलहरु रहेको र ती स्थानमा सहजै पुग्न हालै कच्ची अवस्थामै भएपनि संचालनमा आएको कालागण्डकी करिडोरले धेरै सहयोग पुग्ने देखिन्छ । यसका लागी यो करिडोर सबै भन्दा पहिला जतिसक्दो चाडो कालोपत्रे हुनु जरुरी छ । यसो भएमा एरपोर्ट संचालन गर्न सहज हुनेछ । साथै एरपोर्ट संचालन भएमा अर्को तर्फ कालीगण्डकीमा र्याफ्टिंग गर्न चाहने पर्यटकहरुको पनि संख्या विस्तार हुनेछ । अर्को तर्फ ग्रामिण कृषि उत्पादनलाई समेत पोखरा, काठमाण्डौमा समेत बजारीकरण गर्न सम्भव हुने देखिन्छ । तसर्थ अव जननिर्वाचित भएर जाने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यहरुले यो एरपोर्ट संचालन मुद्दा र भैरवस्थानलाई धार्मिक पर्यटनस्थल बनाउन आ-आफ्नो तर्फ बाट सम्बन्धित निकायमा आवाज दरो रुपमा राखेर कार्यान्वयन गर्न जरुरी छ । यस तर्फ पक्कै पनि ध्यान जानेछ भन्ने अपेक्षा राख्दै अनुरोध गर्न चाहन्छौ ।

२०७४ मंसिर १८ गते ०:३८ मा प्रकाशित
One Comment on “राज्यको नजरमा नपरेको धार्मिक स्थल बाग्लुङ भैरवस्थान र बलेवा एरपोर्ट – प्रकाश श्रेष्ठ”
  • नरेश शर्मा wrote on 4 December, 2017, 6:39

    आलेख पढ्दा निकै आनन्द हुन्छ खुशी लाग्छ तर त्याहाँ राज्यले देखाएको निरसता देख्दा दिक्क लागेर आउँछ।

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी