कैलालीको नदी कटान र डुबान समास्या समाधान गर्छु– डा आरजु

इनेप्लिज २०७४ मंसिर १८ गते १२:३४ मा प्रकाशित

कैलाली १८ मंसिर (रासस) ः कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं काँग्रेस नेत्री डा आरजु राणा देउवाले कैलालीको नदी कटान र डुबान समस्याको दीर्घकालीन समाधानका लागि लागिपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलाली शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेत्री राणाले यहाँका विकासका चुनौती र सम्भावना बुझेर नै आफू चुनावी मैदानमा होमिएको बताउनुभयो ।

कैलालीमा ऐलानी पर्ती जग्गामा दशकौंदेखि बसेका जनताले पूर्जा नपाएको उल्लेख गर्दै उहाँले भन्नुभयो,–“गौरीफण्टा नाकाको स्तरबृद्धि, महिला सशक्तिकरण, सांस्कृतिक संग्रहलाय निर्माण, स्तरीय सडक विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलगायतका काम गर्नेछु ।”

विगतका विकास र निर्माणका कामलाई तीव्ररूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नेत्री राणाले आगामी निर्वाचन लोकतन्त्र र साम्यवादबीचको जनमतसंग्रह भएकाले मतदातासंग लोकतन्त्रको संस्थागत विकासका लागि भोट हाल्न आग्रह गर्नुभयो ।

उहाँले कैलालीमा कृषि क्षेत्रको आधुनिक र व्यावसायिकताका लागि रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गर्दै गदरियामा कृषि क्याम्पस स्थापना गर्न पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नै पहलमा सेती अञ्चल अस्पताललाई ३०० श्ययाको बनाइ स्तरोन्नती गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया