रेडियो नेपाल, नेपाली साहित्य र डा. नवराज लम्साल

इनेप्लिज २०७४ मंसिर १८ गते २२:५० मा प्रकाशित

विकास थापा ,हेरिसवर्ग, अमेरिका

विक्रम संवत् २०२६ साल श्रावण ८ गते बुधबार धादिङको ज्यामरुङमा जन्मनुभएका डा. नवराज लम्सालले सञ्चार क्षेत्र र नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाई सक्नुभएको छ । हृदयमा कोमलता, व्यवहारमा सरलता, चिन्तनमा उच्चतता, अध्ययनको क्षेत्रमा गाम्भीर्य राख्ने एक सर्जक, एक वरिष्ठ सञ्चारकर्मीमा मात्र सीमित छैन उहाँको परिचय । नवराज लम्साल भन्नासाथ रेडियो नेपाल र रेडियो नेपाल भन्नासाथ नवराज लम्साल एक अर्काका पर्यायवाची नै बनेका छन् अहिले । धादिङको एउटा विकट ठाउँमा जन्मेको एउटा ठिटो हजारौँ अभाव र समस्यासँग पौठेजोरी खेल्दै सुन्दर भविष्यको सपना बोकेर काठमाडौ छिर्यो । आज तिनै सपनाहरूलाई पूरा गर्नको लागि निरन्तर संघर्ष गरिरहेको व्यक्तित्व हो नवराज लम्साल । आफ्ना जीवनका विभिन्न घुम्तीहरू पार गर्दै वि.सं २०५१ साल वैशाख २१ गते रेडियो नेपालमा स्थायी जागिरेको रुपमा प्रवेश गरेका नवराज लम्साल आज रेडियो नेपालको उच्च पद कार्यक्रम महाशाखा प्रमुख तथा डा. नवराज लम्साल बनिसक्नु भएको छ । रेडियो नेपालको सुर्खेत शाखाबाट पहिलो औपचारिक उद्घोषणका रुपमा कार्यक्रम सञ्चालन गर्नुभएका लम्साल कुरा गर्दै जाँदा विगतका आफ्ना संघर्षका दिनहरू सम्झँदै भावुक पनि बन्नुहुन्छ । उहाँले रेडियो नेपाल र श्रोतामाझ सेवा गरेको आज २४ बर्ष भइसकेको छ । सञ्चारक्षेत्र, कविता, गीत र लेखन चारै विधामा उत्तिकै दख्खल राख्ने लम्सालले देशलाई आफ्नो बलबुता र क्षमताले भ्याएजति दिइसक्नु भएको छ र अझै आगामी दिनमा पनि देशको सेवामा उत्तिकै सक्रिय भएर लागिरहने आफ्नो सपना र प्रण रहेको बताउनुहुन्छ । मनाङ, मुस्ताङ र हुम्लाभन्दा बाहेक देशका सबै जिल्ला घुमिसकेको एक कवि हृदय, एक सशक्त गीतकार, एक प्रभावशाली सञ्चारकर्मी, एक लेखकले कसरी बुझेको छ यो देश, कसरी सुनेको छ यो देशको ढुकढुकी, पीडा र समस्या अनि गरिबी । नक्सा देखिएको र पढिएको एउटा देश र यथार्थको धरातलमा पढिएको, देखिएको देशमा कति भिन्नता छ त्यसको ताजा अनुभूति डा. नवराज लम्सालसँग छ । अरूले देखेको, भोगेको र अनुभव गरेको नेपाल अरूले सोचे, देखेभोगेको भन्दा भिन्न, पृथक् र महान छ भन्नुहुन्छ उहाँ ।

जंगलमा गएर एउटा राउटेको, कुसुन्डाको आवाज संकलन गर्न होस् वा स्थानीय जाति राजी, मगर, थारू, वादी र तिनको सामाजिक अवस्था, भाषा, भेषभुषा सबैलाई फक्रने फुल्ने अवसर दिनुपर्छ भन्ने ध्येयले नै सरकारको एक मात्र सञ्चार माध्यम रेडियो नेपालसम्म पहुँच विस्तार गर्ने र यी सबै देशका अमूल्य सम्पत्ति हुन् भन्ने व्यावहारिक उदाहरण प्रस्तुत गर्न पनि नवराज लम्सालका पाइलाहरू देशका कुनाकाप्चासम्म पुगेका हुन् । सबैका रहनसहन, भाषा, भेषभुषालाई रेडियो नेपालमार्फत् देशका दूर दराजसम्म पुर्याउन उहाँले गर्नु भएको योगदान अतुलनीय र उदाहरणीय छ । झापाको राजवंशी, गन्गाई, जनकपुरका यादव, लमजुङ संग्दिका गुरुङ, कैलालीको मनुवा, दार्चुला, बाजुरा त्यस्तै महाकालीपारिका गाविस चाँदनी र दोधारासम्मका कथाव्यथा रेडियो नेपालको चर्चित कार्यक्रम लेखबेंसी कार्यक्रम मार्फत् देशका प्रत्येक नागरिकको कानसम्म पुर्याउने श्रेय उहाँलाई नै जान्छ । सन् २००८ देखि सन् २०१६ सम्म बीबीसी नेपाली सेवामा काम गरेका लम्साल बीबीसी नेपाली सेवामा पनि कलाबिट उहाँले नै शुरुवात गर्नुभएको हो । बीबीसी नेपाली सेवामा पहिलो कला साहित्य संवाददाता बन्ने सौभाग्य पनि उहाँले नै प्राप्त गर्नु भयो । दश वर्ष बीबीसी नेपाली रेडियोमा काम गरेर नेपाली भाषा साहित्य र कलाको क्षेत्रमा उहाँले गर्नुभएको योगदान देश, भाषासाहित्य र कलाको लागि अर्को महत्त्वपूर्ण पाटो हो ।

देशका धेरै भूभागमा पुगेर प्रत्यक्ष रुपमा धेरै जनतासँग सीधा सम्पर्क राख्ने देशका सञ्चारकर्मीहरूमध्ये उहाँ एक हुनुहुन्छ । जनताका बस्तीमा पुगेर तिनको आँगनमा टेकेर तिनैका संस्कार, संस्कृति, जीवनको आरोहअवरोह, चालचलनहरू, इतिहास, सामाजिक संवेदना र अनुभुतिहरू नजिकबाट नियाल्ने यो देशका थोरै व्यक्तिमध्ये एक हुन् नवराज लम्साल । साहित्यमा चित्त चौतारोको परिकल्पना गर्ने कवि डा. नवराज लम्साल उहाँ आत्मा र परमात्माको कुरा गर्नुहुन्छ । उज्याला र अँध्यारा पक्षहरू खोतली बस्तीका मान्छेहरूका आआफ्ना भोगाइ, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, मन, बुद्धि, अहङ्कार तथा पूर्वीय दर्शनका सीमाहरू, ज्ञान र चिन्तनका उच्चतम पक्ष खोतल्नु उहाँभित्र रहेको ज्ञानभण्डारको अर्को महत्त्वपूर्ण पाटो हो । हाम्रो देश नेपाल यस धर्तीकै एउटा अलग धरा हो । यहाँ निरन्तर विचार, चेतना र चिन्तनको धारा बगिरहेको देख्ने कवि लम्सालको दृष्टिमा यो देश आफैँमा कुनै वैरीको पाउ नपरेको पवित्र माटो हो भन्ने उहाँको विशिष्ट राष्ट्रवादी धार छ साहित्यमा । कवितामा स्थानीय विषयवस्तुको घनीभूत खोजी गर्ने, इतिहास र संस्कृतिका मिहिन पक्षहरूलाई अगाडि ल्याउने खुबी छ उहाँमा । गीतमार्फत् राष्ट्रभाव जगाउने खुबी छ उहाँमा । उहाँकै शब्दमा नेपाल केवल देश हुनुको निरन्तरता मात्र होइन,पौरस्त्य देशहरूको वैचारिक नेतृत्वदाता पनि हो । पूर्वीय ज्ञानधाराको आदिभूमि र हिमवत्वखण्डको शिरोभाग हुनुको उच्चताबोध र विविधताका अनेकौँ आयामहरूको सम्मिश्रण पनि हो । वीरता मिसिएको ज्ञान वैभवको आदिम ज्योतिर्मय उज्यालो हाम्रो सभ्यताकै प्रथम सम्पत्ति हो ।

दीर्घसाधना चाहिन्छ कुनै पनि समस्याको समाधान र दिगो प्राप्तिको लागि । सपना, भावना र कल्पनामा नखेली सिर्जनाको उर्वर अक्षरसँग कवि कालजयी स्रष्टा पनि हुँदैन । त्यसैले त होला रेडियो नेपालको त्यस समयको चर्चित कार्यक्रम सुरसंगम र देशभरिका युवायुवतीका भावहरू त्यसभित्र समेट्न सक्नु उहाँको ठूलो देन हो । आज मैले जो यो लेख लेखिरहेछु मजस्ता हजारौँ लेखक, साहित्यकार र हजारौँको संख्यामा कवि, गजलकार जन्मिनुको ठूलो देन रेडियो नेपाल र नवराज लम्साल पनि हो । आज मधुवन साहित्यिक कार्यक्रम रेडियो नेपालबाट लगातार प्रसारण भएको पनि २० वर्ष पुगिसक्यो । आज देशभित्र र बाहिर गरेर यस कार्यक्रमका करोडौँ संख्यामा श्रोताहरू छन् । यही कार्यक्रम सुनेर साहित्य लेख्न प्रेरित हुनेहरूको संख्या पनि हजारौँ होला । जुन अझै पनि साहित्यिक श्रोता र पाठकहरूको लागि उत्तिकै लोकप्रिय, कर्णप्रिय छ र सुनुँसुनुँ लाग्छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सर्वसाधारण जनताको गुनासाहरू प्रत्यक्ष रूपमा प्रधानमन्त्रीको पहुँचसम्म पुर्याउनको लागि “जनतासँग प्रधानमन्त्री“ जस्तो लोकप्रिय कार्यक्रमको सञ्चालन पनि उहाँले नै गर्नुभयो । एकाबिहानै गीताका श्लोक वाचन गरेर धार्मिक कार्यक्रम सञ्चालन गर्नेदेखि लिएर साँझ सात बजेको समाचारपछि बज्ने त्यस समयको चर्चित कार्यक्रम “घटना र विचार“जस्तो फरक राजनीतिक कार्यक्रम समेत कुशलतापूर्वक सञ्चालन गर्ने क्षमता र खुबी नवराज लम्सालसँग छ ।

वि.सं. २०४८ सालमा रेयुकाईले आयोजना गरेको राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम भएर फ्रान्स पुगेका नवराज लम्साल आफ्नो प्रतिभा, क्षमता र रूचिअनुसारकै जागिर खाने भाग्यमानी नेपालीमध्ये एक पर्दछन् । जादुमय बोल्ने कला भएकोले होला रेडियो नेपाल र नवराज लम्साल अहिले एकअर्काका परिपूरक बनिरहेका छन् । उहाँको बोल्ने कलाको ख्याति मेचीकालीको साँघुरो घेरामा मात्र सीमित छैन आज । रेडियो नेपालबाट निरन्तर बीस वर्ष अघिदेखि बजिरहेको साहित्यिक कार्यक्रम मधुवनले उहाँलाई दार्जिलिङ, सिक्किम, भुटान, बर्मा र थाइल्याण्ड, हिमान्चलसम्मका नेपालीभाषीले चिन्छन् र जहाँसम्म रेडियो नेपालको फ्रिक्वेन्सी टिप्छ त्यहाँसम्म नवराज लम्साललाई सुन्छन् । रेडियो नेपालमार्फत् नेपाली भाषासाहित्यमा उहाँले पुर्याएको योगदान अतुलनीय छ । वि.सं. २०५९ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा प्रथम स्थान हासिल गरेका एक सफल कवि पनि हुन् नवराज लम्साल । उहाँले “पाइलैपिच्छे सगरमाथा“ र “आगो छोपेर कतिन्जेल“ दुई कविता संग्रह नेपाली साहित्यलाई दिइसक्नु भएको छ भने पछिल्लो समयमा नेपाली साहित्यमा सुस्ताएको महाकाव्य लेखनलाई उहाँले नै चलायमान बनाउनुभएको छ । नेपाली साहित्यलाई कर्ण र धरा जस्ता दुई महाकाव्य दिनु उहाँको अर्को महत्त्वपूर्ण योगदान हो । वि.सं २०५८ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी बालगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका लम्साल एक सफल गीतकार पनि हुन् । हालसम्म उहाँका ३०० गीतहरू रेकडिङ भइसकेका छन् । उहाँका गीतमा पुराना पुस्ताका फत्तेमानदेखि लिएर कान्छो पुस्ताका अंकित लुइँटेलसम्मले उहाँको गीतमा स्वर दिएका छन् । उहाँका नेपाली साहित्यमा प्रकाशित दुई गीति संग्रहरू “धुनभित्र धुन बाहिर“ र बाल गीत संग्रह “उँडुउँडु लाग्छ“ यस अघि नै प्रकाशनमा आइसकेका छन् ।

विभिन्न राष्ट्रिय दैनिकमा आफ्ना महत्त्वपूर्ण लेखरचना प्रकाशित गरिराख्ने लम्सालसँग नेपालको सिंहदरवारदेखि गाउँबेँसी,उकालीओराली, भिर, पहरा र देशका लाखौँ श्रोताहरूसँग उहाँको प्रत्यक्ष सम्पर्क स्थापित छ । सिंहदरबारदेखि गाउँका दुःखसुखसम्मको अनुभव र अनुभुति छ । अमेरिका, फ्रान्स, स्वीडन, थाइल्याण्ड, पाकिस्तान, चीन, भारत र फिलिपिन्ससम्म घुमिसकेका उहाँमा देशभित्र र बाहिरको उत्तिकै ज्ञान छ । मठ मन्दिरदेखि लिएर राजनीतिक कार्यक्रम हुने टुँडिखेल र तिनैको प्रत्यक्ष प्रसारणसम्मको अनुभव पनि छ उहाँमा । पत्रकारिता र साहित्यको अभिप्रेरणाले देशका कुनाकन्दरा पुगेका लम्सालले हिमाल, पहाड र तराईका शक्ति, सामाथ्र्य र यथार्थहरूलाई राम्रोसँग जानेबुझेका छन् । त्यहाँका मानिसहरूको हृदय पढेका छन् । निर्दोष जनताको सपनाको व्यापार राजनीतिले कसरी गरिरहेछ ? देश कसरी खोक्रो बनिरहेछ, देश विकासका सुन्दरतम पक्षहरू कसरी ढलिरहेछन् र यसको समाधानको सूत्रको खोजी र चेतवनी आफ्ना हरेक लेख, रचना र महाकाव्यमार्फत् उहाँले पटकपटक अभिव्यक्त गरी राख्नुभएको छ । देशले सबैसबै दिँदा पनि पटकपटक देशको चीरहरण गर्नेहरूप्रति उहाँको आक्रोश पनि उहाँका विभिन्न कृतिहरूमा पटकपटक पोखिएका छन् ।

उहाँ भन्नुहुन्छ नेपालका आम जनता आफ्नो कर्तव्य बोधबाट चुकेका छन्, हामीमा आफू हुनुको गौरवबोध पटक्कै छैन, आफ्नै इतिहासप्रति अज्ञानता र गलत बुझाइ छ । जसले हाम्रो अस्मिता र विरासतलाई सधैँ ध्वस्त पार्न सघाइरहेको छ । गौरवपूर्ण राष्ट्रनिर्माण र इतिहास निर्माणको लागि कसैले एक इँटा थपेन । सबैमा माटोप्रतिको कर्तव्यबोध जगाउन नसक्नु हाम्रो सबैभन्दा ठूलो लाचरीपन बन्यो । यो उहाँको गुनासोभन्दा पनि देशप्रति, आफ्नो माटोप्रति, आफ्नो इतिहासप्रति, आफ्नो दायित्वप्रति, आफ्नो कर्तव्यबोधप्रतिको गहिरो चिन्तन हो । उच्च राष्ट्रभाव हो । त्यसैले त डा. नवराज लम्सालको देशमा आफ्नो पृथक् परिचय छ र छुट्टै उचाइ हासिल गरिसक्नुभएको छ ।

लेखक :विकास थापा

 

प्रतिक्रिया