पाँच मतदान केन्द्रमा सबै कर्मचारी महिला

इनेप्लिज २०७४ मंसिर २० गते १६:१३ मा प्रकाशित

सुरुङ्गा, झापा, मंसिर २० गते । बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् ।

निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी तथा निर्वाचन क्षेत्र नंं २ को बिर्तामोड नगरपालिकामा रहेका दुई मतदान केन्द्रमा सबै कर्मचारी महिला छन् ।

नगरपालिका (क) केन्द्रमा मतदान अधिकृत नमूना निरौला दाहाल र (ख) केन्द्रमा सुनिता आचार्यसहितका महिला कर्मचारीले मतदान गराउँदैछन् । त्यस्तै निर्वाचन क्षेत्र नं ३ मा रहेको मेची रंगशालाको (क) र (ख) केन्द्रमा पनि महिला कर्मचारीले मतदान गराउँदैछन् । (क) केन्द्रमा मतदान अधिकृत गीताकुमार राई र (ख) केन्द्रमा अम्बिका श्रेष्ठ मतदान अधिकृत तोकिएको प्रमुख निर्वाचन अधिकृत खिलाराज रेग्मीले जानकारी दिनुभयो ।

क्षेत्र नं ५ को दमक नगरपालिका केन्द्रमा भने जमुना कार्कीको टोलीले मतदान गराउँदैछ । झापामा पाँच हजार ५३६ कर्मचारी र दुई हजार ६४ स्वयंसेवक गरी सात हजार ६०० कर्मचारी निर्वाचनका लागि खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया